काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर विभिन्न विषयमा छलफल गरेको छ।
भेटमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीति ल्याउन आग्रह गर्दै नाडाले आर्थिक वर्ष २०८१/८२ का सन्दर्भमा तयार पारेका सुझाव पेस गरे। छलफलमा नाडा महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने २० बुँदे नीतिगत सुझाव प्रस्तुत गरे।
छलफलमा मेक इन नेपालको अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई दृष्टिगत गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीले धेरै सवारी साधन उत्पादन गर्ने सीकेडी प्लान्ट स्थापना गर्दै लगेको जानकारी अर्थमन्त्रीलाई दिए।
यस्तै, औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगीको मनोबल वृद्धि र यसलाई दीर्घकालीन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महसुलमा दिइएको छुट व्यवस्थालाई निरन्तरता दिनुपर्ने र यस्तो भए उद्यमीलाई उद्योग स्थापना गर्न प्रोत्साहन हुने उनले बताए।
त्यसैगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बंैकबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामालोन टू भ्यालू रेसियोमा हाल ५० प्रतिशत सीमा तोकिएकाले बढाएर बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने सुझाव नाडाले अर्थमन्त्रीसमक्ष राखेको छ।
छलफलमा खुला सिमानबाट नेपाली बजारमा स्पेयर पार्टस, टायर तथा लुब्रिकेन्टस्को अनधिकृत रुपमा आयात भइरहेको, वैधानिक तरिकाबाट व्यवसाय गर्नेहरुको व्यवसाय निरन्तर रुपमा घटदै गएकाले सीमानाकामा कडाइ गर्न नाडाले राखेको माग सम्बोधन गरिने आश्वास अर्थमन्त्री पुनले दिए।
पुनले नाडाबाट राखिएका नीतिगत विभिन्न सुझावप्रति जिज्ञासा र चासो राख्दै ती सुझावका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताएको अध्यक्ष चौधरीले जानकारी दिए।
छलफलमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साह, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेत सहभागी थिए।