काठमाडौं। कुमारी बैंकले मोबाइल बैंकिङमार्फत् निक्षेप राख्नेलाई थप ब्याज र कर्जा लिनेलाई ब्याजदरमा छुट दिने भएको छ। ‘डिजिटल बैंकिङ’ लाई प्रवद्र्धन गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत मुद्धती खातामा निक्षेप राख्नेलाई ०.१५ प्रतिशत बढी र कर्जा लिनेलाई ०.२५ प्रतिशत ब्याज छुट दिने भएको हो।
बैंकले बैशाख १ गतेदेखि ‘फिक्स्ड डिपोजिट प्लस÷रिकरिङ’ शिर्षकमा मोबाइलबाटै १ वर्षदेखि ५ वर्षसम्मको लागि मुद्धती खातामा पैसा जम्मा गर्दा ७.१७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। सोही शिर्षकमा ग्राहकले भौतिक उपस्थितिमा निक्षेप राख्न आएमा बैंकले ७ प्रतिशमात्रै ब्याजदर दिने बैंकका चिफ इन्भेष्मेन्ट एन्ड मार्केटिङ अफिसर चन्दन कार्कीले बताए। सोहीअनुसारको ब्याजदर समेत बैंकले सार्वजनिक गरेको हो। निक्षेपमा थप ब्याज बैंकले ३ महिनादेखि १ वर्षसम्मका अन्य मुद्धती खातामा समेत राखेको छ।
बैंकले एक वर्षभन्दा बढीमा मुद्धती निक्षेप खाता र रिकरिङ निक्षेप खाता भएका ग्राहकलाई मोबाइल बैंकिङ एपद्वारा नै निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिइरहेको छ। बैशाख १ गतेदेखि भने बैंकले यस्तो कर्जामा ०.२५ प्रतिशत ब्याज छुट दिन लागेको हो।
‘बैंकमा ग्राहकको उपस्थिति कम गराइ कर्मचारीलाई समेत कामको चाप कम गर्ने गरी कुमारी बैंकले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने योजनाहरु अघि सारिरहेका छौं,’ बैंकका चिफ इन्भेष्मेन्ट एन्ड मार्केटिङ अफिसर चन्दन कार्कीले भने, ‘यस्तो कर्जामा ब्याज छुट वा निक्षेपमा ब्याज थप भौतिक उपस्थितिका ग्राहकले पाउँदैनन्।’
बैंकले यअिघि नै सार्वजनिक गरेको ‘लोनको लागि नो झन्झट आफ्नै फोनबाट हुन्छ फटाफट’ योजनामा डिजिटल फिक्स्ड डिपोजिटरलाई पनि समावेश गरेको हो। निक्षेप राख्न होस् या कर्जा लिन कागजी प्रकृया पुर्याउन बैंक पुग्नै नपर्ने गरीको व्यवस्था बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा गरेको छ। यस्तो सुविधा ग्राहकले चौबिसै घण्टा लिन सक्ने कार्कीले बताए।
उक्त योजना बैशाख १ गतेदेखि २९ गते (एक महिना) सम्म बैंकले सञ्चालन गर्नेछ। योजना सफल भएमा समयावधी थप गर्दै लैजाने बैंकले जनाएको छ।