क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता पदएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन् संक्षपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलन परिणाममुखी बनाउन नेपालस्थित विदेशी दूतावास, कूटनीतिक नियोग र विकास साझेदारका प्रतिनिधिसँग छलफल गरेका छन्। चैत २७ मा सिंहदरबारमा आयोजित कूटनीतिज्ञ एवं विकास साझेदार सम्मिलित बैठकमा प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदार र एवं कूटनीतिक नियोगको भूमिका झनै महत्त्वपूर्ण हुने औंल्याए। सरकारले लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार र विदेशी लगानीकर्तालाई अवरोध हुन नदिने ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।
विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजना समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा बसेको छ। चैत २७ मा अर्थमन्त्री वर्षमान पुनसहितका पदाधिकारी सम्मिलित बैठकमा अर्थ मन्त्रालयमा आयोजित विश्व बैंक र एडीबीबाट सञ्चालित ६ अर्ब डलरका ४९ आयोजनाको समीक्षा गरिएको थियो।बैठकले दुवै बैंकका लगानीमा सञ्चालित परियोजनामा भइरहेकोे प्रगति र ढिलाइ ढिलाइबारे समीक्षा गरेको हो।
बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्ग भोगाधिकारमा रहेको कानुनी तथा व्यावहारिक जटिलतालगायत कारण आयोजनामा ढिलाइ भइरहेको बताए। नेपालमा विश्व बैंकको लगानीमा २.३ अर्बका २३ र एसियाली विकास बैंकको लगानीमा ३.६ अर्बका २६ (अमेरिकी डलर बराबर) आयोजना सञ्चालनमा छन्।
नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्टलिस्ट’ गरिएको छ। रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्येबाट चैत २५ मा पाँच जनाको नाम ‘सर्टलिस्ट’ गरिएको हो। सर्टलिस्टमा पर्नेमा बोर्डका कार्यकारी निर्दशक डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ छन्। सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरिए पनि अध्यक्ष नियुक्ति प्रक्रिया अझै सुरु भएको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चैत २८ मा सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर मेयर भरतकुमार थापाविरुद्ध विशेष अदालत बबरमहलमा ५ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले मेयरका रुपमा दोस्रो कार्यकाल सम्हालिरहेका थापासँग आम्दानी, घरजग्गा खरिद, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उपभोग गरेको कर्जा, ऋणको साँवा ब्याज तिरेको रकम, बैंक मौज्दातलगायत गरी १३ करोड २० लाख ३ हजार ३९१ रुपैयाँ ८४ पैसा रहेको छानबिनका क्रममा फेला पारेको छ। तर, उक्त रकममध्ये मेयर थापाको ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेपछि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार थापाको वैध आय ७ करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ ४८ पैसा मात्रै रहेकाले अतिरिक्त रकम भ्रष्टाचारबाट कमाएको देखिएकाले मुद्दा गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। मेयर थापाले बागमती नगरपालिकामै आफ्नो नाममा भरत ताल बनाएर चर्चामा कमाएका थिए। उक्त कृत्रिम ताल निर्माणपछि उनलाई काम गर्ने मेयरका रुपमा परिचित गराएर फिल्मसमेत बनाइँदै थियो।
एसियन डेभलपमेन्ट बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर (सन् २०२४) ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। बैंकले एसियन डेभलपमेन्ट आउटलुक २०२४ सार्वजनिक गर्दै यो वर्ष पनि आर्थिक वृद्धि बढ्न नसक्ने उल्लेख गरेको हो। नेपालले चालू वर्ष ६ प्रतिशतको लक्ष्य राखे पनि अन्तर्राष्ट्रिय दातृ निकायले भने ४ प्रतिशतभन्दा तलै खुम्चिने प्रक्षेपण गरिरहेका छन्। नेपालकै राष्ट्रिय तथ्यांक कार्यालयले अहिलेसम्म केही बोलेको छैन। तथापि निजी क्षेत्रबाट नेपल व्यवस्थापन संघ (म्यान)ले ३.०९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरिसकेको छ। विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने अनुमान गरेको छ।
माथिल्लो अरुण एवं दूधकोसी आयोजना अघि बढाउन सरकार, विश्व बैंक र एडीबीबीच त्रिपक्षीय सहमति भएको छ। चैत २९ मा अर्थ मन्त्रालयमा आयोजित त्रिपक्षीय छलफलमा दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोसीका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक तथा एसियाली विकास बैंकबीच आयोजना निर्माण छिटो थाल्ने सहमति भएको हो।
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुणको विश्व बैंक र खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट निर्माण हुने ६ सय ३५ मेगावाटको जलाशययुक्त दूधकोसी जलविद्युत् आयोजनाको एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ। माथिल्लो अरुणको लागत २ खर्ब १४ अर्ब अनुमान गरिएको छ। दूधकोसीको अनुमानित लागत १ खर्ब ६० अर्ब रहेको छ।
सर्च इन्जिन गुगलले नेपालमा आधिकारिक प्रतिनिधि नियुक्त गरेको छ। गुगलले चैत २९ मा मेडियम वाई अलेफ कम्पनीलाई नेपालका लागि आधिकारिक प्रतिनिधि तोकेको हो। अब नेपालमा ’गुगल एड’लगायत विज्ञापनको काम सोही कम्पनीले गर्नेछ। गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ।
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। चैत २८ मा सम्पन्न ७३औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए। चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भए। यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा नीलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन्।
दैनिक १२ घन्टा उद्योगमा लोडसेडिङ हुन थालेको भन्दै सौर्य सिमेन्टले वैशाख १ देखि लागू हुने गरी प्रतिबोरा सिमेन्टमा २५ रुपैयाँ मूल्य बढाएको छ। निर्माण व्यवसायीलाई म्यासेज लेख्दै सौर्यले चैत २९मा वैशाख १ बिहानदेखि लागू हुने गरी सौर्य ब्रान्डका सिमेन्टको मूल्यमा २५ रुपैयाँ बढाएको हो। विद्युत् आपूर्तिमा समस्या भएको भन्दै सिमेन्ट उद्योगले मूल्य बढाएर सिन्डिकेट लागू गर्न लागेको निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माको दाबी छ।
अबदेखि नेपालको राष्ट्रिय फल सुन्तला हुने भएको छ। चैत ३० को मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। सञ्चारमन्त्री रेखा शर्माले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको बताइन्। कृषि मन्त्रालयको सिफारिसका आधारमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको दाबी गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित चैत १७ देखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका बेला सरकारले २ वैशाखदेखि हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ। चैत ३० को मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। यस्तै, मन्त्रिपरिषद् बैठकले अन्जान शाक्यलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै, सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।