काठमाडौं। वाणिज्य बैंकहरुले एक महिनामै औसत ०.१८ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले चैत महिनामा लागू भइरहेको ब्याजदर घटाएर वैशाखमा निक्षेप संकलन गर्ने भएका हुन्।
चैत महिनामा वाणिज्य बैंकहरुले औसत ७.२५ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन्। अब वैशाख १ गतेदेखि भने औसत ७.०७ प्रतिशत ब्याजदर कायम गरेर निक्षेप संकलन गर्ने गरी ब्याजदर सूची सार्वजनिक गरेका हुन्।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनामा लागू हुने ब्याजदर पछिल्लो महिनाको मसान्तसम्म सार्वजनिक गर्नुपर्छ। सोहीअनुसार बैंकहरुले वैशाख महिनामा लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चैतको ब्याजदरलाई वैशाखमा लागू हुने गरी १३ वटाले घटाएका छन् भने २ वटाले बढाएका छन्। बाँकी ५ वटा बैंकले भने चैत महिनामै लागू ब्याजदर वैशाखमा पति यथावत राख्ने भएका छन्।
एक महिनामै १३ वाणिज्य बैंकले ०.१५ प्रतिशत बिन्दुदेखि ०.८० प्रतिशत बिन्दुसम्मले घटाएका छन्। जसमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले घटाउँदा सबैभन्दा कम प्राइम कर्मसियल र सानिमा बैंकले घटाएका हुन्।
चैतको तुलनामा वैशाखमा एनएमबी र एभरेष्ट बैंकले निक्षेपको ब्याजदर बढाएका छन्। एनएमबीले चैत महिनामा निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज दिइरहेकोमा वैशाखमा ८ प्रतिशत दिने भएको छ।
साथै, एभरेष्ट बैंकले चैत महिनामा दिइरहेको ६.५ प्रतिशत निक्षेपको ब्याजदरलाई वैशाखमा ७ प्रतिशत पुर्याइएको छ। कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल र हिमालयन बैंकले भने चैतको निक्षेप ब्याजदर नै वैशाखमा पनि लागू गर्ने भएका हुन्।
यसै गरी वैशाख महिनामा निक्षेप राख्दा निक्षेप सबैभन्दा बढी एनएएबी बैंकले ७.९७ प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकले ५.६६ प्रतिशत ब्याज दिन्छन्। वैशाखमा ४ वटा बैंकले ७.५० प्रतिशतमाथि ८ प्रतिशतसम्म, १२ वटाले ७ प्रतिशतमाथि ७.५० प्रतिशतसम्म र ४ वटाले ५.६६ प्रतिशतदेखि ७ प्रतिशतसम्म निक्षेप राख्दा अधिकतम ब्याज दिन्छन्।