काठमाडौं। यो वर्ष नेपाली बजारमा सुनचाँदी मूल्यवृद्धिले रेकर्ड कायम गरेको छ। वर्ष २०८० भर सुनको मूल्यमा २८ हजार रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरणमा उल्लेख छ।
महासंघका अनुसार २०७९ चैत ३० मा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। एक वर्षमा सुनको मूल्य २५.४६ प्रतिशतले बढेको छ। वर्षको अन्तिम दिन शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्यसमेत सोही दरमा बढेर वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्य वर्षभरिमा प्रतितोलामा ५३२ रुपैयाँले बढेर शुक्रबारका लागि १ हजार ७५० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ।
२०८० को अन्तिम दिन अर्थात् चैत ३० मा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेको छ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँमा खरिद–बिक्री भएको छ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८६.५१ डलर र चाँदी प्रतिऔंस २८.८ डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय सुनको मूल्य बढ्नुमा अमेरिकी डलरको मजबुत हुनुलाई कारण मानिएको छ।
विश्वमा अझै द्वन्द्व बढ्न सक्ने आकलनका कारण पनि सुन मूल्यमा वृद्धि देखिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। सुन मूल्य अन्तर्राष्ट्रिय बजारमा बढेसँगै नेपाली बजारले त्यसलाई पछ्याउने गरेको छ।