काठमाडौं। नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्रका होटल भरिभराउ भएका छन्। काठमाडौं उपत्यका नजिकका गन्तव्य चन्द्रागिरि, नगरकोट, रानीकोट, इन्द्रस्थानलगायत क्षेत्रका होटल एक साता अघिबाटै पूर्ण रुपमा बुकिङ भइसकेको व्यवसायी बताउँछन्।
पछिल्लो समय आन्तरिक पर्यटक नै नयाँ वर्षका लागि होटल तथा रिसोर्टमा जाने क्रम बढेको छ। व्यवसायीले पनि पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेज सार्वजनिक गरेका हुन्छन्।
न्यू इयर इभ सुरु नहुँदै चन्द्रागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्ट सोल्ड आउट भएको जानकारी सामाजिक संजालमार्फत गराएका छन्। चन्द्रागिरि हिल्स रिसोर्टको फेसबुक पेजमा एक दिन अघिबाटै सोल्ड आउट भएको उल्लेख गरेका छन्। धार्मिक एवंक पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरिमा पाँचतारे रिसोर्ट सञ्चालनमा छ।चन्द्रागिरी केबलकार हुँदै रिसोर्टमा पुग्न सकिन्छ।
नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष एवं भंगेरी दरबार होटल सञ्चालक नवीन गुरुङले त्यस क्षेत्रका होटल पूर्ण रुपमा बुकिङ भइसकेको बताए। आन्तरिक एवं बाह्य पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेको नगरकोट क्षेत्रका सम्पूर्ण होटल भरिभराउ भएको उनले जानकारी दिए। ’नयाँ वर्ष मनाउन आउनेहरुको संख्या अधिक छ,’ अध्यक्ष गुरुङले भने, ‘अग्रिम बुकिङ गर्नेहरुले नै होटल भरिसकेका छन्।’
पछिल्लो केही महिना होटलहरु सुनसान भइरहेको बेला नयाँ वर्षले हौसला थपेको व्यवसायीको भनाइ छ। काठमाडौं उपत्यका नजिकै विस्तार भएको नयाँ गन्तव्य भक्तपुरको रानिकोट क्षेत्रमा रहेको होटलहरु पनि पूर्ण रुपमा भरिएको हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले जानकार दिए। जीपलाइन सहितको सुविधा रानीकोटमा रहेकोले पनि धेरै पर्यटक अहिले त्यस क्षेत्रमा आउने गरेको उनको भनाइ छ।
उपत्यकाभित्रै रहेको अर्को गन्तव्य चन्द्रागिरिको इन्द्रस्थानका होटल पनि भरिएको छ। काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्न सकिने र शान्त,मनोरम वातावरणमा बस्न मिल्ने भएकोले पनि धेरैको रोजाइ इन्द्रस्थान पर्न थालेको छ।
इन्द्रस्थान हिमालय रिसोर्टका सञ्चालक हरिश्याम रानामगरका अनुसार त्यस क्षेत्रका होटलहरु पनि भरिसकेको छ। उपत्यका नजिकै रहेकोले पनि यहाँ धेरै पर्यटहरु आउने गरेको बताउँछन्।
यस्तै दोलखाको प्रमुख धार्मिक स्थल कालिञ्चोकका होटल पनि पूर्ण रुपमा सोल्ड आउट भइसकेको छ। कालिञ्चोक कन्ट्रि भिल्लाका सञ्चालक नोर्बु तामाङका अनुसार नयाँ वर्षमा मात्र ५ देखि ७ हजार पर्यटक कालिञ्चोक पुग्ने छन्। कालिञ्चोक क्षेत्रमा मात्र १३० देखि १५० वटासम्म होटलहरु रहेका छन्। ती सबै होटल पूर्ण रुपमा भरिसकेको जनाएको छ। नयाँ वर्षको अवसरमा धेरै पर्यटकहरु कालिञ्चोक माताको दर्शनका लागि समेत पुग्ने गरेका छन्।
काठमाडौं उपत्यका बाहिर पोखरा, सौराहा क्षेत्रका होटलहरुमा पनि अहिले उत्साहजनक रुपमा पर्यटक भरिएको त्यहाँका व्यवसायीहरुको भनाइ छ। अहिले नयाँ वर्षलाई लक्षित गरि पोखरामा फेवा महोत्सवको आयोजना गरिएको छ। यस्तै दोलखाको जिरीमा जिरी महोत्सव सञ्चालन भइरहेको छ।
पर्यटक पर्खिदै धुलिखेल
उपत्यका नजिक रहेर पनि काभ्रेको धुलिखेलमा रहेका होटलहरु भने भरिभराउ भइनसकेको जनाएको छ। क्षेत्रिय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकन्ठ माकजुले अपेक्षा अनुसार पर्यटकहरु आइनसकेको बताए।
‘विगतको वर्षको तुलनामा केहि मात्रामा बुकिङ बढेको छ,‘ अध्यक्ष मकाजुले भने, ‘तर उत्साहजनक भइसकेको छैन।’ सबै ठाउँका होटल भरिएपछि धुलिखेलमा आउने सम्भावना पनि धेरै रहेको उनले जानकारी दिए।