काठमाडौं। सरकार अहिले तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ। नयाँ वर्ष २०८१ वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने गरी विभिन्न मुलुकबाट प्रतिनिधि बोलाएर विदेशी लगानी भित्र्याउन लगानीकर्तालाई आश्वस्त तुल्याउनतर्फ लागेको छ।
तेस्रो लगानी सम्मेलन गरी विदेशी लगानी जुटाउने कोसिस सरकारबाट भइरहेका बेला स्वदेशमै रहेका उद्योगी व्यवसायीहरु भने सरकारले लगानीको वातावरण नबनाएको भन्दै रुष्ट छन्।
खासगरी २०८० उद्योगीका लागि आतंकित वर्षको रुपमा स्थापित हुन पुग्यो। मुलुकभित्र उद्योग, व्यवसाय चलाउन सक्ने सम्भावना नरहेको भन्दै औद्योगिक वातावरण नै बिग्रिएको व्यवसायीहरुको गुनँसो छ।
कोभिड १९, रुस –युक्रेनबीचको युद्ध र त्यसपछि जारी आर्थिक संकटका कारण अहिले अधिकाशं उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका उद्योगी बताउँदै आएका छन्। बजारमा माग नै घटेको कारण उत्पादन खुम्चिएर समस्यामा परिरहेको उद्योगी व्यवसायीलाई राज्यले सहयोग नगरेको गुनासो पनि उनीहरुको छ।
खासगरी विद्युत् महसुल बक्यौतालाई लिएर प्राधिकरणले सिमेन्ट र स्टिल उद्योगमा एक्कासी विद्युत कटौती गर्नु, बासबारी छाला उद्योगको जग्गाको विषयलाई लिएर प्रतिष्ठित उद्योगी अरुण चौधरीलाई पक्राउ गर्नु, ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ पक्राउ पर्नु र बासबारी छाला उद्योगको जग्गाकै विषयलाई लिएर व्यवसायी विनोद चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सोधपुछ् गर्नुलगायत विषयलाई लिएर व्यवसायी त्रसित भए।
सोधपुछ र अध्ययन अनुसन्धान नै नगरी सिधै पक्राउ गर्ने तथा त्यसपछि मात्र अनुसन्धान गर्ने प्रवृत्ति हाबी भएको उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको भनाइ छ। २०८० लाई समीक्षा गर्दा मुलुकभित्र अवसर धेरै रहँदारहँदै पनि राज्यले आतंकित बनाएर मनोबल गिराएको व्यवसायीहरुको भनाइ छ।
राज्यले व्यवसायीहरुप्रति हेर्ने दृष्टिकोण नै फरक बनाएको बताउँदै यस्तो अवस्थामा थप लगानी हुने अवस्था नरहेको व्यवसायी बताउँछन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदानका लागि सरकारलाई सुझाव दिँदा पनि बेवास्ता गरेको बताए। ’सरकार गम्भीर नहुँदा निजी क्षेत्र आजको अवस्थामा आइपुग्नु परेको छ’, अध्यक्ष ढकालले भने, ‘देशको अर्थतन्त्र सुधार्नका लागि निजी क्षेत्रले निरन्तर प्रयास गरिरहेको छ, तर सरकार गम्भीर छैन।’
२०८० मा निराशा केही आशा जगाउने काम पनि उद्योग क्षेत्रमा भएका छन्। इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुनुले केही आशा जगाउने काम भएको बुझ्न सकिन्छ।
पछिल्लो समय उद्योगहरुमा अघोषित लोडसेडिङ हुँदा उत्पादनलाई थप प्रभावित बनाएको उनको भनाइ छ। साना उद्यमीको सहुलियतपूर्ण कर्जा रोकिनु, निर्माण व्यवसायीको भुक्तानी रोकिनु, न्यून पुँजीगत खर्च हुनुजस्ता कारणले उत्पादन घट्दै गएको अध्यक्ष ढकालले बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवंम आइजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले सरकार गम्भीर नहुँदा उद्योगी व्यवसायीको मनोबल गिरेको बताए। लगानी सम्मेलनको पूर्वसन्ध्यामा मुलुकभित्रै रहेका उद्योगी व्यवसायीहरु नै राज्यले ल्याएको नीति र राज्य चालकहरुसँग खुसी नहुनु गम्भीर विषय रहेको भन्दै उनले २०८१ लाई सद्भावको वर्षको रुपमा घोषणा गरी नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवंम सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले ०८० व्यवसायीक रुपमा हालसम्म कै कठिन रहेको बताए। ‘व्यवसायीको मनोवल अत्यन्तै न्युन रह्यो, ऋृणीको कालोसूची हालसम्मकै उच्च रह्यो’, अध्यक्ष पाण्डेले भने ‘व्यवसायी पलायन हालसम्म कै उच्च रह्यो, जुन दुखद पक्ष हो।’
यस्तै औद्योगिक उत्पादन जडित क्षमताको ३० देखि ४० प्रतिशतमा सिमित रहनुको साथै बैंकको खराव कर्जा(एनपीएल) हालसम्मकै उच्च रहेको र आयात, निर्यात दुवै तर्फ गिरावट आएको उनको भनाई छ।
उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष एवं त्रिवेणी ग्रुपका सञ्चालक रामचन्द्र संघईले २०८० उद्योगी व्यवसायीका लागि निराशाको वर्ष भएको बताए। बजारमा छाएको मन्दीले उत्पादनमा ह्रास आएको र नयाँ लगानीका लागि उत्साहजनक स्थिति नरहेको उनको भनाइ छ।
रेडबुलको उत्पादन नेपालमै
२०८० मा निराशा केही आशा जगाउने काम पनि उद्योग क्षेत्रमा भएका छन्। इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुनुले केही आशा जगाउने काम भएको बुझ्न सकिन्छ। व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याएको हो।
अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने बताएको छ। यसअघि थाइल्याण्ड, भियतनाम र चीनमा रेडबुल कारखाना खुलिसकेको छ।
होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल नेपालमै
होण्डाका दुई पाङ्ग्रे सवारीको एसेम्बल पनि भैरहवामा सुरु भएको छ। एक अर्ब ५० करोड लगानीमा २ लाख स्क्वायर फिटको क्षेत्रफलमा रहेको प्लान्टले १ लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले जानकारी दिएको छ।
होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार नवस्थापित एसेम्बल प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रालिमार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको बताएको छ।