काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीका लागि इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। भारतीय उद्योग परिसंघ अध्यक्ष सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सीआईआईको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो। भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघ पधादिकारी र कार्यकारी सदस्यसमेत उपस्थित थिए।
भेटमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए। उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक सहयोग गर्ने जानकारी दिए। सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न उनको आग्रह थियो।
यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताएका छन्। उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिएको महासंघले जनाएको छ। त्यसैगरी उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए।
महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरी नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो। पुरी वार्षिक साधारणसभामा मुख्य वक्ता थिए। प्रतिनिधिमण्डलमा भारतका ६ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृतसमेत थिए।
भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको प्रतिक्रिया दिए। उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताउँदै नेपाल सरकारसँग सहजीकरण माग गरे।
यस्तै,अध्यक्ष ढकालले महासंघमा रहेको एफडिआई हेल्प डेस्कमार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए। उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने जानकारी दिए।
उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ। दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरेका थिए।