काठमाडौं। चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ तयारी अन्तिम चरणमा पुगेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ मा हुने एक्स्पो तयारी दुई साताअघि नै अन्तिम चरणमा पुगेको हो।
ऊर्जा मन्त्रालय र लगानी बोर्डको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय दूतावास रहेको छ।
सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण हुने इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बढाउन तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाबारेमा ज्ञान र सूचना आदान–प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोग, मित्रराष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायीका कम्पनी, बैंकलगायतलगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ–नयाँ प्रविधि र उपकरण प्रदर्शनी गर्न झन्डै एक दर्जनभन्दा बढी देशको सहभागिता निश्चित भएको इप्पानले जनाएको छ।
एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामलगायत विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया गरिनेछ।
यस्तै, युवा पुस्तालाई हाइड्रोसम्बन्धी कार्यमा अभिरुचि बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्नेछ।
विद्युत्को आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक्स्पोकै दिन बिहान इभी र्यालीसमेत आयोजना गरिनेछ। र्याली करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना हुने स्थल भृकुटीमण्डपमा समापन हुनेछ। र्यालीमा विद्युत्बाट चल्ने दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे र ६ पांग्रे ईभीलाई निःशुल्क सहभागी गराइने इप्पानले जनाएको छ।
काठमाडौं विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजन कार र ईभी ट्रयाक्टर पनि एक्स्पो आकर्षण बन्ने इप्पानको अपेक्षा छ। ‘समृद्धिका लागि हरित ऊर्जा’ नारासहित आयोजना गर्न लागिएको एक्स्पो उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी छ।