काठमाडौं। नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
बिहीबार प्राधिकरणको आयोजनामा वीरगञ्जमा मधेस प्रदेशका विभिन्न जिल्लामा कार्यरत सञ्चारकर्मीसँग भएको बिमा छलफललाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको बिमा क्षेत्रलाई प्राथमिकता दिन कलमजीवीलाई आग्रह गरे।
अध्यक्ष सिलवालले भने, ‘बिमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ। सरकारले चन्दा र राहत व्यवस्था गर्नुभन्दा नागरिकको जीवन र सम्पत्तिको बिमा गर्ने कार्यक्रम ल्याउन आवश्यक छ। बिमा गरेपछि कम्पनीले नै क्षतिपूर्ति दिन्छन्। बिमाबाटै गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न सकिन्छ। यसबारे बुझाउन र पहुँच बढाउन सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ।’
अध्यक्ष सिलवालले सञ्चार माध्यममा आउने समाचारबाट बिमासम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गर्दै सञ्चारकर्मीका लागि यससम्बन्धी तालिम, अन्तक्र्रियालगायत कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए।
प्राधिकरणका निर्देशक दिनेशकुमार लालले संस्थाको काम–कारबाही र नियामकीय भूमिका, बिमा पहुँच, बिमा बजारको अवस्था, बिमासम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बिमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा सञ्चार माध्यमको भूमिकाबारे प्रस्तुति दिएका थिए।
सहभागीले प्राधिकरणबाट सञ्चारकर्मीका लागि नियमित तालिम तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि सञ्चारकर्मीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बिमासम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन तथा अनुगमनमा कडाइ गर्नुपर्ने, भोजपुरी एवं मैथिली भाषामा समेत बिमासम्बन्धी प्रचार–प्रसार गर्नुपर्नेलगायत सुझाव दिएका थिए।
कार्यक्रममा पत्रकार महासंघ, जिल्ला शाखाका पदाधिकारी, बारा, पर्सा र रौतहटका विभिन्न सञ्चार माध्यमका कार्यरत सञ्चारकर्मीलगायत सहभागी थिए।