बीबीसी । अमेरिकी ठुलो विमान निर्माता कम्पनी बोइङ इंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मालनबर्गलाई पदबाट हटाएको छ।
प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले संस्थामा आत्मविश्वास पुनर्स्थापित गर्न आवश्यक कदम भनेका छन्।
निकै बिक्री हुने गरेका बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि सीईओ मालनबर्गले दबाव झेल्दै आएका थिए।
दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवारहरूले पछिल्लो परिवर्तनलाई ूएउटा राम्रो कदमू भनेका छन्।
ग्राहकसम्म विमान पुर्याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन्।बोइङले हाल कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा सभापतिमा नियुक्त गरेको छ।
उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहिआएका छन्। काल्हूनले ज्यानुअरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन्।
इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो।
मार्चमा इथियोपियन एअरलाइन्सको दुर्घटनामा श्रीमती, तीन सन्तान र सासु गुमाएका पल नोरोगेले भने, मालनबर्गको राजीनामा राम्रो दिशातर्फको एउटा कदम भए पनि कम्पनीले आफ्नो कर्पोरेट शासनमा आमूल परिवर्तन ल्याउन जरुरी छ। मालनबर्गले पहिलो पटक सन् १९८५ मा बोइङ कम्पनीमा जागिर पाएका थिए।
सन् २०१५ मा सीईओ हुनुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए। इथियोपियामा ७३७ म्याक्स मोडलको विमान दुर्घटनामा परेको स्थान
इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलको नयाँ फीचरमा समस्या देखिएका कारण भएका दुर्घटनामा ३४६ जनाको ज्यान गएको थियो।
ती दुर्घटनाका मुख्य कारक ठानिएको स्वचालित नियन्त्रण प्रणालीको समस्या समाधान गर्न बोइङले त्यसको पुन डिजाइन गर्ने बताउँदै आएको थियो। तर गत हप्ता बोइङले ७३७ म्याक्स एअरलाइनरको निर्माण आउँदो ज्यानुअरी महिनादेखि स्थगन गर्ने जनाएको थियो।