काठमाडौं। सर्च इन्जिन गुगलले नेपालमा आधिकारिक प्रतिनिधि राखेको छ। गुगलले मेडियम वाइ अलेफ कम्पनीलाई नेपालका लागि आधिकारिक प्रतिनिधि तोकेको हो। अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफलाई नेपालका लागि गुगलको आधिकारिक बिक्रेता नियुक्त गरिएको हो।
अब नेपालमा 'गुगल एड'लगायत विज्ञापनको काम सोही कम्पनीले गर्नेछ। 'गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीले बताएको छ।
लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउन प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ। गुगलमा प्रयोगकर्ताले प्रत्येक दिन अर्बौ पटक विभिन्न कुराहरु खोजी गर्छन।
गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताहरुका रुची र आवश्यकताअनुसारका सूचना, प्रडक्ट र सेवाका माध्यमबाट उनीहरुसम्मको पहुँच स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्ने बताइएको छ।
विश्वव्यापीरुपमा गुगल एड टुल्स कुनै पनि व्यवसाय प्रबर्द्धन गर्न, प्रडक्टलाई लक्षित ग्राहकसम्म पुर्याउन र प्रभावकारी बजारीकरणका लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको छ। 'लगानीअनुसारको वेवसाइटमा कतिपटक क्लिक भयो वा सो विज्ञापनमार्फत कतिवटा फोन आए भन्नेसम्मको मापनको सुविधा विज्ञापनदाताले पाउनेछन्,' कम्पनीको विज्ञप्तिमा भिनएको छ, 'त्यति मात्रै होइन, ग्राहकले आफूलाई आवश्यकताअनुसार मासिकरुपमा कतिसम्म गुगल एडमा खर्च भन्ने निर्णय लिन पनि यसप्रकारको नतिजा सहयोगी हुनेछ।'
यसअघि मेडियम वाइ अलेफले बंगालादेश, मोरक्को र इराकमा गुगल एडको आधिकारिक बिक्रेताका रुपमा काम गरिरहेको छ। मेडियम वाइ अलेफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अल्वर्टो गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि नयाँ अस्त्र रहेको बताए।
यस अस्त्रमार्फत् विज्ञापन दाताले गुगल सर्च टुल्सको प्रयोग गरी विभिन्न प्रकारका डाटा संकलन, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्न माध्यमजस्तै युट्युब, गुगल म्याप र सर्च टुलमार्फत प्रयोगकर्तासम्म पुग्न र उनीहरुलाई त्यसमा संलग्न गराउन सक्ने उनको भ नाइ छ। 'हामी आगामी दिनमा उपभोक्तालाई वास्तविक नतिजा उपलब्ध गराउँदै गुगल एडसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौँ,' उनले भने।
गुगल सर्च इन्जिन, च्यानल सेल्सका पार्टनर पर्फर्मेन्स प्रमुख तारा यूनले हामी मिडियम ग्रुप वाई अलेफसँगको सहकार्यका लागि उत्साही रहेको बताए। 'सहकार्यमार्फत् हामीले कम्बोडिया र नेपालमा हाम्रो उपस्थिति बढाउने छौँ,' उनले भने, 'डिजिटल इकोसिस्टमका क्षेत्रमा कैयन अवसरहरुमा हामी मिलेर काम गर्न सक्छौँ।'