काठमाडौं। विश्वमा विद्युतीय (इलेक्ट्रिकल भेहकिल) ‘ईभी’ सवारी साधनको बढ्दो क्रेजले नेपाललाई पनि सोहीतर्फ ढल्काउँदै लगेको छ। विगत केही वर्षयता ईभी सवारीसाधनप्रतिको आकर्षण बढ्दो छ।
यही ट्रेन्डलाई पछ्याउँदै २०८० को एक वर्ष अटो बजार ईभीमय बन्यो। सवारीसाधन भित्र्याउने, बिक्री वितरण गर्ने र बजारमा प्रतिस्पर्धा गर्ने सवारीसाधनमा ईभीकै वर्चस्व रह्यो।
यस वर्ष नेपालमा भित्रिएका अधिकांश अटो ब्रान्डमध्ये ईभी बढी संख्यामा आउँदा डिजेल–पेट्रोल (आइसी इन्जिन) गाडी औंलामा गन्न सकिने मात्रै भित्रिए। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुनसम्म) मा ६ हजार ४३५ विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन्।
यसबाट पनि गएको एक वर्ष नेपालमा ईभी सवारीसाधनले कब्जा जमाएको पुष्टि हुन्छ। नेपाल भित्रने ईभी ब्राण्डमा ९० प्रतिशतभन्दा माथि चिनियाँ ब्राण्ड रहेका छन्। केही वर्षअघि मात्र छिटफुट चिनियाँ ब्राण्ड भित्रने घरेलु बजारमा एकै वर्ष दर्जन बढि नयाँ ब्राण्डले आफ्नो दरिलो उपस्थिति जनाएका छन्।
सरकारले ईभी सवारीसाधन आयातमा तुलनात्मक रुपमा सहुलियतको व्यवस्था पनि गरेको छ। चार्जिङ स्टेसन र ईभी सवारीका लागि आवश्यक पूर्वाधारहरु विस्तारै विकास हुँदै गएका छन्। दुई पांग्रेदेखि ठूला सार्वजनिक सवारीसमेत विद्युतीयतर्फ ‘मुभ’ हुँदै गएको अवस्था छ। नेपालमा विभिन्न ब्रान्डका गाडी बिक्री वितरण गर्नेहरु पनि ईभीबाटै बजारमा आफ्नो प्रभुत्त्व जमाउने बाटोमा अगाडि बढेका छन्।
२०८० को वर्ष न्यूनतम १७ लाख रुपैयाँदेखि करोडसम्मै पर्ने ईभी गाडी नेपाल भित्रिँदा आधा करोड हाराहारीका सवारीसाधनमा बढी प्रतिस्पर्धा देखिएको छ। ईभी सवारीसाधनको आकर्षणका बावजूद केही नाम चलेका ब्रान्डका आइसी इन्जिन सवारीले पनि यस वर्ष प्रवेश पाएका छन्।
’महिन्द्रा एक्सयूभि–३००’
२०८० सुरु भएसँगै लोकप्रिय ब्रान्ड महिन्द्रा एक्सयूभी–३०० ले बजारमा प्रवेश पायो। वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले यो गाडी वैशाखमा नेपाली बजारमा सार्वजनिक गरेको थियो। महिन्द्रा एक्सयूभी ३०० मा १.२ लिटर टिजिडिआई थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ। जसको अधिकतम पावर १३० पिएस र टर्क २५० एनएमसम्म रहेको छ।
सिट्रोन सी–३ को ‘इन्ट्री’
महिन्द्रा एक्सयूभी–३०० बजार प्रवेश गरेको करिब दुई सातापछि वैशाखमै सांग्रिला मोटर्सले नेपाली बजारमा सिट्रोन सी–३ सार्वजनिक गर्यो। फ्रेन्च ब्रान्डको उत्कृष्ट गाडी सिट्रोन सी–३ २०८० वैशाख २० मा नेपाली बजारमा प्रवेश गरेको थियो। ११९८ सिसी डिस्प्लेसमेन्ट रहेको सिट्रोन सी–३ मा १.२ लिटर पेट्रोल इन्जिन छ।
साढे २ करोडको ‘आइएक्स–३’ को इन्ट्री
साढे २ करोड रुपैयाँको आइएक्स–३ले पनि २०८० मै नेपाल प्रवेश पायो। जर्मन प्रिमियम कार ब्रान्ड बिएमडब्लुको सफल मोडेल ‘आइएक्स–३’ साउन १ मा नेपालमा भित्रिएको थियो।
नेपालमा पेट्रोलबाट चल्ने मोडेल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल आइएक्स–३ नेपाल ल्याएको हो। ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २ सय १० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर जडित छ।
‘एमजी–४’ को इन्ट्री
साढे २ करोडको आइएक्स–३ को इन्ट्री भएको केही समयमा नै पारामाउन्ट मोटर्सले साउन महिनामै एमजी–४ नेपाली बजारमा ल्याएको थियो। २०८० साउन २८मा कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा एमजी–४ नेपाल भित्र्याएको थियो।
एमजी–४ कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ। त्यस्तै एमजी लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ। एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन्छ।
‘सेरेस–३’ ईभी कै इन्ट्री
ईभी सवारीसाधनको बढ्दो आकर्षणसँगै नेपाली बजारमा नयाँ ब्राण्ड सेरेस भित्रियो। एमएडब्लू वृद्धिले ‘सेरेस–३’ ईभी गाडीको नेपाली बजारमा ल्याएको हो। सेरेस ब्रान्डको ईभी भदौमा नेपाली बजारमा भित्रिएको थियो।
५२.७ किलोवाट आवरको ब्याट्री जडित यो गाडीले ९९ किलोवाट पावर दिने कम्पनीले जनाएको छ। १ सय ९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको सेरेस–३ ले ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
ईभी मध्येकै कम मूल्यको ‘एमजी कोमेट’
२०८० मा भित्रिएको ईभी मध्ये कै कम मूल्य १७ लाख ९९ हजार रुपैयाँमा एमजी कोमेटले इन्ट्री पाएको थियो। पारामाउन्ट मोटर्सले एमजीको सस्तो विद्युतीय गाडी (ईभी) ‘कोमेट’ भदौमै नेपाली बजार ल्याएको थियो। यसमा १ सय ७३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ।
एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी ६७ रेटेड ब्याट्री डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन्। यसले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ।
एकै चोटी ८ भेरियन्टमा होण्डा एलिभेट
होण्डाका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले ८ वटा भेरियन्टको एलेभेट एकैचोटी सार्वजनिक गरेको थियो। होण्डाको मिड साइज एसयूभी एलिभेट यही वर्ष असोज २ मा नेपाल आयो। कम्पनीले ८ वटै भेरियन्टको मूल्य फरक–फरक निर्धारण गरेको छ।
१.५ लिटर पेट्रोल इन्जिनयुक्त यो गाडीमा ६ स्पिड म्यानुअल र ७ स्पिड कन्टिनियसली भेरिएबल ट्रान्समिसन (सिभिटी) छ। यसको म्यानुअल ट्रान्समिसन इन्जिनले प्रतिलिटर १५.३१ र सिभिटीले १६.९२ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।
‘हुण्डाईको कोना जिएल’ को इन्ट्री
८ भेरियनटको होण्डा एलिभेटले बजार प्रवेश गरेको एक सातमा नै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको कोना जिएल ईभी सार्वजनिक गरेको थियो। असोज ११ मा ५९ लाख ९६ हजार रुपैयाँमा आउने हुन्डाई कोनामा मल्टीस्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ।
कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३ सय ५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ। यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।
बिवाईडी सिलको ३ भेरियन्ट
बिवाईडीको वितरक साइमेक्सले इंकले ३ भेरियन्टको बिवाइडीको प्रिमियम गाडी २०८० माघ ५ मा सार्वजनिक गरेको थियो। सिलको लो भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर जडान गरिएको छ। यसले ४ सय ६० किलोमिटर रेन्ज दिने डब्लुएलटिसी टेस्टले जनाएको छ।
‘ओमोडा ई–५’
ओमोडा ई–५ ले पहिलो सय ग्राहकलाई ५९ लाख ४९ हजार रुपैयाँ मूल्यमा २०८० माघ १९ मा नेपाली बजारमा सार्वजनिक गरेको थियो। सारडा ग्रूप अन्र्तगतको एसपीजी अटोमोबाइल्सको ओमोडा ई–५ मा ६१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ।
पावरफुल थ्री इन वान मोटर, लिथिएम आइरन ब्लेड ब्याट्री छ। १८० एमएमको ग्राउन्ड क्लियरेन्सको यो गाडीले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको थियो।
एवोनको पहिलो ‘जीएसी एवोन वाई मोडल’ को इन्ट्री
चिनियाँ ब्रान्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेसनको सहायक ब्रान्ड एवोनको पहिलो मोडलको रुपमा सिजी मोटर्सले जीएसी एवोन वाई मोडल २०८० फागुनमा नेपाली बजारमा सार्वजनिक गरेको थियो। जीएसी एवोन वाई मोडलमा ६१.५ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ।
उक्त ब्याट्रीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिन्छ। कम्पनीले यसमा १०० किलोवाट पिकपावर क्षमताको इलेक्ट्रिक मोटर दिएको छ भने पिकटर्क २२५ एनएम रहेको छ। यसलाई कम्पनीले नेपाली बजारमा ५४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको थियो।
‘टेस्ला मोडल थ्री’
कार वर्गमा उच्च मानिने टेस्ला मोडल थ्री पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित २०८० फागुन १० मा नेपाली बजारमा भित्रिएको छ। यस गाडी अरेट इन्टरनेशनलले नेपाल भित्र्याएको हो। टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुनेमध्येको मोडल हो। ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्रीको रिफ्रेस भर्सन हो।
‘डिपल एस सेभेन’
एमडब्लु वृद्धिले चांगनको ‘डिपल एस सेभेन’ले ७१ लाख ९९ हजार मूल्यमा २०८० चैतमा नेपाल भित्र्याएको थियो। कम पावर भेरियन्टमा १६० किलोवाट र बढी पावर भेरियन्टमा १९० किलोवाट क्षमताको मोटर रहेकोमा नेपालमा भने मोटर पावर ९९ किलोवाट बनाएर गाडी भित्र्याइएको हो। यस्तै, ब्याट्री क्षमता डिपल एस सेभेनमा ६६.८ किलोवाट आवर (युनिट)छ। यो गाडीले एक पटकको फुलचार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ।
बीवाईडीको डल्फिन ह्याचब्याक
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाईडीको ‘डल्फिन’ ह्याचब्याक २०८० जेठमा नेपाल भित्रिएको थियो। बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ह्याचब्याक सेग्मेन्टको डल्फिन ३९ लाख ८० हजारमा नेपाल भित्र्याएको थियो।
स्काइवेल
२०८० भदौ तेस्रो साता नेपाली बजारमा चिनियाँ विद्युतीय ब्रान्ड ‘स्काइवेल’ नेपाल भित्रिएको थियो। जी मोटर्स प्रालिले नेपालमा उक्त गाडी भित्र्याएको हो। स्काइवेल इटी–५ ले एकपटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ। स्काइवेल इटी छ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।
त्यस्तै, यो एसयुभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यसको टप स्पिड १ सय ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी छ। जी मोटर्सले यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ।
ईभी भ्यान ‘फोटोन’ को इन्ट्री
फोटोनले ५७ लाख रुपैयाँ मूल्य भएको १४–१५ सिट क्षमताका ‘हाई रुफ’ विद्युतीय भ्यान २०८० पुस १६ मा सार्वजनिक गरेको थियो। हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर, फराकिलो भित्री भाग र आरामदायी सवारीका लागि फुल एसी जडित छ। यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री छ। यस्तै, २०८० मै एक्सपेङ, लोटस्, स्मार्टजस्ता गाडी ल्याउने सम्झौतासमेत भइसकेको छ।