काठमाडौं। एसियन डेभलपमेन्ट बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर (सन् २०२४) ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।एसियन डेभलपमेन्ट आउटलुक २०२४ सार्वजनिक गर्दै यो वर्ष पनि आर्थिक वृद्धि बढ्न नसक्ने उल्लेख गरेको हो।
यद्यपि गत वर्ष १.९ प्रतिशतको वृद्धि भएको एडीबीको ठम्याइ छ। नेपालले चालू वर्ष ६ प्रतिशतको लक्ष्य राखे पनि अन्तर्राष्ट्रिय दातृ निकायहरुले भने ४ प्रतिशतभन्दा तलै खुम्चिने प्रक्ष्येपण गरिरहेका छन्। नेपालकै राष्ट्रिय तथ्यांक कार्यालयले भने अहिलेसम्म केही बोलेको छैन।
तथापि निजी क्षेत्रबाट नेपल व्यवस्थापन संघ (म्यान)ले ३.०९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो। उता विश्व बैंकले पनि नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने नेपाल डेभलपमेन्ट अपडेट यसअघि सार्वजनिक गरेको छ।
सन् २०२३ मा एसियाको आर्थिक वृद्धि ५ प्रतिशत रहेको विवरण सार्वजानिक गरेको छ। २०२४ र २०२५ मा क्षेत्रीय आर्थिक वृद्धि दर ४.९ प्रतिशत हुने अनुमान पनि सार्वजनिक गरिएको छ। एसियाली क्षेत्रमा मुद्रास्फीति क्रमश: घट्दै जाने अनुमान गरिएको छ।
आउटलुकका अनुसार २०२३ मा ३.३ प्रतिशत, २०२४ मा ३.२ प्रतिशत र २०२५ मा ३ प्रतिशत मुद्रास्फीति प्रक्षेपण गरिएको छ। यसलाई अनिश्चित बाह्य सम्भावनाहरुबीच पनि बलियो वृद्धि ठानिएको छ।
मध्यपूर्वमा द्वन्द्व र भूराजनीतिक तनाव, अमेरिकी मौद्रिक नीतिको मार्ग, जलवायु/ मौसमलगायत विषयलाई आउटलुकले आर्थिक वृद्धिको नकारात्मक सूचकमा समावेश गरेको छ।
‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन सुरु भएपछि औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ’, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक अर्नाउड कौकोइसले भने।
कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवाक्षेत्रको वृद्धिले पनि गति दिनेछ। धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्नेछ।
एसियन डेभलपमेन्ट आउटलुक २०८०/८१ का अनुसार, पेट्रोलियम मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति आर्थिक वर्ष २०७९/८० को ७७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ।
बाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा रहेको छ। आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने देखिन्छ। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता बचत १,२ विलियन अमेरिकी डलर पुगेको रहेको छ।
यद्यपि, यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले, आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ। ‘विश्व अर्थतन्त्रमा देखा पर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई आर्थिक वर्ष २०८०/८१ को आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ‘, एडिबीका प्रमुख अर्थशास्त्री ज्यान हान्सेनले भने।
एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया-प्रशान्त क्षेत्रकाे विकास हासिल गर्न प्रतिवद्ध रहेको छ। सन् १९६६ मा स्थापित बैंकमा एसिया प्रशान्त क्षेत्रका ४९ सहित ६८ सदस्य छन्।