काठमाडौं। दैनिक १२ घन्टा उद्योगमा लोडसेडिङ हुन थालेको भन्दै सौर्य सिमेन्टले वैशाख १ देखि लागू हुने गरी प्रतिबोरा सिमेन्टमा २५ रुपैयाँ मूल्य बढाएको छ। निर्माण व्यवसायीलाई म्यासेज लेख्दै सौर्यले वैशाख १ बिहानदेखि लागू हुने गरी सौर्य ब्रान्डका सिमेन्टको मूल्यमा २५ रुपैयाँ बढाउन बाध्य भएको उल्लेख गरेको हो।
पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले उद्योगमा १२ घन्टा लोडसेडिङ गर्न थालेको छ। विद्युत् आपूर्तिमा समस्या भएको भन्दै सिमेन्ट उद्योगले मूल्य बढाएर सिन्डिकेट लागू गर्न लागेको निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माको दाबी छ।
निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले फागुनयता सिमेन्टको मूल्य तीन पटकसम्म बढिसकेको बताए। ‘सरकारले फागुन २० मा विभिन्न आयोजनाको म्याद थप निर्णय गरेसँगै सिमेन्ट उद्योगीले मूल्य बढाउन सुरु गरेका हुन,’ अध्यक्ष सिंहले भने, ‘तीन चरणमा झन्डै ७० देखि ८० रुपैयाँसम्म बढाइसकेका छन्।’
फागुन २० अघिसम्म सिमेन्टको मूल्य प्रतिबोरा ४८० देखि ५१० सम्म पथ्र्यो। तर, अहिले मूल्य बढाएर ५५० देखि ५९० सम्म लिन थालिएको व्यवसायी बताउँछन्।
सिमेन्टको मूल्य बढाउनुमा लोडसेडिङको बहाना बनाइएको छ। तर, निर्माण व्यवसायीले भने सरकारले म्याद थप गरेपछि आयोजनाको काम बढ्ने अपेक्षा गर्दै यही बेला मूल्य बढाउनुपर्छ भन्ने लोभ देखिएको हुन सक्ने अनुमान गरेका छन्। सिमेन्ट उद्योग अहिले २५ देखि ३० प्रतिशत मात्र क्षमतामा सञ्चालनमा रहेको बताइरहेका बेला १२ घन्टा लोडसेडिङ हँुदा कुनै असर नपर्ने अध्यक्ष सिंहको भनाइ छ।
उद्योगीले निर्माणजन्य काम हुने बेला जहिल्यै पनि भाउ बढाउने गरेको एवान बिल्र्डसका प्रबन्ध निर्देशक भक्त लामा बताउँछन्। लामो समयसम्म निर्माणजन्य गतिविधि नहुँदा व्यवसायी समस्यामा परिरहेका बेला एक्कासी सिमेन्टको मूल्य बढ्दा थप मारमा परेको उनको धारणा छ।
‘एकातिर बैंकले ब्याज बढाएका र श्रमिकको ज्यालासमेत वृद्धि भइरहेका बेला सिमेन्ट र रडको मूल्य समेत बढेको छ,’ प्रबन्ध निर्देशक लामाले भने, ‘यसले सीमित समय उद्योगीलाई फाइदा पुगे पनि दीर्घकालीन फाइदा गर्दैन।’ सिमेन्टसँगै रडको मूल्य पनि प्रतिकिलो २ देखि ५ रुपैयाँसम्म बढाइएको छ।