काठमाडौं। वर्ष २०८० पर्यटन क्षेत्रका लागि उत्साहजनक देखियो। कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वको प्रभाव २०७९ मा देखिएको थियो। तर, २०८० मा पर्यटन क्षेत्र रिभाइभ भएको तथ्यांकले देखाएका छन्। २०८० मा ११ लाख बढी पर्यटक नेपाल आए, जुन कोभिडपछिको सबैभन्दा ठूलो संख्या हो।
पर्यटक संख्यामा वृद्धि मात्रै भएन, होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो। तर, संख्यात्मक रुपमा पर्यटक र होटल पूर्वधार बढे पनि व्यवसाय उत्साहजनक नभएको देखिएको व्यवसायीको गुनासो छ।
होटल एसोसिएसन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रका लागि २०८० सकारात्मक रहेको बताए। ‘सीमित पूर्वधारको बीचमा यो वर्ष धेरै पर्यटक नेपाल आए,‘ अध्यक्ष शाहले भने, ‘एउटा विमानस्थलले १० लाख पर्यटक ल्याइरहँदा २ वटै चल्दा तेब्बर बढ्ने निश्चित देखिन्छ। सरकारको ध्यान यसमा जाओस्।’
होटलको क्षमता भने वर्षको ३५ लाख पर्यटकलाई राख्ने सक्ने बनिसकेको छ। तर, यो वर्ष सबैभन्दा बढी १० लाख पर्यटक नेपाल आए। बाँकी २५ लाख कोठा अझै खाली रहेकाे उनले जानकारी दिए।
कोर्रा टुर एन्डड ट्राभर्लसका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजय अमात्यले विगत केही वर्षको तुलनामा पर्यटक आगमन उत्साहजनक भएको बताए। संख्यात्मक रुपमा पर्यटकको संख्या बढेको र मुलुकभित्र स्तरीय संरचना निर्माण भएको विषयलाई सकरात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।
अहिले विदेशी पर्यटकलाई लक्षित गरी लक्जरी होटल तथा रिसोर्ट निर्माण तीव्र भएको उनले बताए। ‘जुन रेसियोमा अहिले पर्यटकको संख्या बढेको छ, यसमा सरकारले सडक पूर्वाधारलाई राम्रो बनाउने र भएका विमानस्थलहरुलाई चलाउनेतर्फ चासो देखाए धेरै राम्रो हुने देखिन्छ,’ सीईओ अमात्यले भने।
अहिले जे-जति पर्यटक आएका छन् र पूवर्धार निर्माण भएका छन्, ती सबै निजी क्षेत्रकै प्रयासमा भइरहेको व्यवसायीको भनाइ छ।
सरकारी निकाय त्यसमाथि नेपाल पर्यटन बोर्डले आफ्नो अस्तित्व बिर्सन लागेको वरिष्ठ पर्यटन व्यवसायी एवं टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष वसन्त मिश्रको धारणा छ।
’विदेशमा जति नेपालको प्रचार भएको छ, त्यो सबै निजी क्षेत्रले गरिरहेको छ’,‘ अध्यक्ष मिश्रले भने, ’सरकार गम्भीर भएर पर्यटन बोर्डलाई स्वार्थबाट मुक्त गराउने हाे भने यो संख्या तेब्बर हुन कुनै समय नै लाग्दैन।‘ पछिल्लो समय नेपालमा खर्चालु पर्यटक आइरहेको र त्यसका लागि सरकारले विशेष चासो देखाए अझै संख्या बढ्ने उनी बताउँछन्।
२०८० मा २ वटा पाँचतारे होटल सिद्धार्थ भिलासा भैरहवा र लेमन ट्री प्रिमियर बूढानीलकण्ठमा सञ्चालनमा आएको छ। यस्तै भैरहवामै चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ। लुम्बिनीमा मौलाकालिका केबलकारसहित होटल सञ्चालनमा छ।
वरिष्ठ पर्यटन व्यवसायी एवं होटल एम्बास्डर होटलका सञ्चालक योगेन्द्र शाक्यले राज्यले पर्यटन क्षेत्रको विकासमा लगानी नगरिरहेको अवस्थामा पनि उत्साहजनक रूपमा पर्यटक आएको बताए। अहिले होटल संख्या अधिक भएको र अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्र हुँदा समस्या आएको बताउँदै सञ्चालनका लागि गम्भीर भएर लागे सख्या बढाउन कुनै समय नलाग्ने उनकाे तर्क छ।
होटल नानस भैरहवाका सञ्चालक सिपी श्रेष्ठले काठमाडौं, पोखरा र सौराहा क्षेत्रका होटल चले पनि अन्य क्षेत्रमा निकै समस्या भएको बताए। ‘भैरहवामा मात्र अहिले धेरै होटल तथा रिसोर्ट बन्द हुने स्थितिमा रहेको र बैंकको ब्याज तिर्न नसक्दा लिलाम हुने अवस्थामा पुगेका छन्। यसरी हेर्दा भैरहवा क्षेत्रका होटललाई भने २०८० निराशाजनक भएको छ’,उनले भने।
यो वर्ष यती एयरलाइन्स र श्री एयरलाइन्सले एकैसाथ दुई वटा जहाज ल्याएका छन् भने बुद्ध एयरले एउटा जहाज ल्याएको छ। हेली एभरेष्ट, मुस्ताङ हेलिकोप्टर र मनाङ एयरले एक÷एक वटा हेलिकोप्टर थपेको छ। उड्डयन क्षेत्रमा यो वर्ष मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक एवं वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतावजंग पाण्डेले हवाई उडान क्षेत्रमा पनि २०८० सम्झनालायक भएको बताए। ‘७८ र ०७९ मा जति समस्या यो वर्ष आएन,’ प्रबन्ध निर्देशक पाण्डेले भने, ‘जहाज संख्या थप्नेदेखि यात्रुको संख्यासमेत बढेको छ।’