काठमाडौं। वर्ष २०८० को अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। यस वर्षको अन्तिम कारोबार दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.७१ अंकले घटेर २०२५.३० को बिन्दुमा बन्द भएको हो।
चैत २९ मा बिहीबार सरकारले इद–उल फित्र (इद)अवसरमा सार्वजनिक बिदा दिएसँगै बुधबारको कारोबार ०८० वर्षकै अन्तिम कारोबार भएको हो।
नेप्सेका अनुसार २०७९ चैत ३० बिहीबार नेप्से २९.०७ बिन्दुले घटेर १९३४.४७ अंकमा बन्द भएको थियो। यसरी हेर्दा २०७९ को अन्तिम कारोबार दिनबाट २०८० को अन्तिम कारोबार दिनमा आइपुग्दा नेप्से ९०.८३ अंकले बढेर २०२५.३० को बिन्दुमा बन्द भएको छ।
२०८० लाई हेर्दा नेप्से जेठ १ मा १८१८.३१ बिन्दुमा झरेर बन्द भएको थियो, जुन यस वर्षकै न्यून बिन्दु हो। यद्यपि यसै दिन नेप्से १८०७.५२ अंकसम्म झरेको थियो भने अघिल्लो दिन न्यूनतम १८०७.०७ अंकसम्म झरेको थियो।
यस्तै, यस वर्ष नेप्सेले गत साउनमा सबैभन्दा माथिल्लो बिन्दु छोएको थियो। गत साउन ७ गते नेप्से २२२७.१६ अंकमा पुगेर रोकिएको थियो। तर, उक्त कारोबार दिन नेप्से २२२८.७४ अंकसम्म चढेको थियो। यो बिन्दु २०८० कै सर्वाधिक हो।
नेप्सेका अनुसार बुधबार सेयर बजारमा कुल ३ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन मंगलबार भने कुल ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार कारोबारमा आएका कम्पनीमध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७६ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य घटेको छ।
बुधबार मान्डु हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक अर्थात् ९.६९ प्रतिशतले बढेको छ। यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य ८.२६ प्रतिशतले बढेको छ।
आज सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा नकरात्मक सर्किट लाग्दा वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९.९३ प्रतिशतको गिरावट आएको छ।
बुधबार म्यानुफ्याक्चरिङ उपसमूहबाहेक सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। यस उपसमूहको सेयर मूल्यमा ०.१३ प्रतिशतको वृद्धि हुँदा फाइनान्स उपसमूहको सेयर मूल्यमा सर्वाधिक अर्थात् २.५० प्रतिशतको गिरावट आएको छ।