काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघु वित्त संस्थाबाहेक)ले ४६ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन्। चालू आर्थिक वर्षको ८ महिना बैंक तथा वित्त कम्पनीहरुले कुल ४६ अर्ब ३८ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।
जसमा वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख, विकास बैंकहरुले ३ अर्ब ५१ करोड ४० लाख र वित्त कम्पनीहरुले ५६ करोड रुपैयाँ चालु वर्षको फागुन मसान्तसम्म खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ।
वाणिज्य बैंकहरुतर्फ चालू वर्षको फागुन मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले खुद नाफा कमाएको छ भने, सबैभन्दा कम नेपाल एसबिआइ बैंकले कमाएको छ। आठ महिनामा नबिल बैंकले ४ अर्ब ७२ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब ८० लाख रुपैयाँ खुद नाफा कमाएको हो।
उक्त अवधिमा बढी खुद नाफा आर्जनको दोस्रो नम्बरमा ग्लोबल आईएमइ बैंक ३ अर्ब ४३ करोड, तेस्रोमा प्राइम कर्मसियल बैंक २ अर्ब ८८ करोड र चौथो नम्बरमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड रुपैयाँले खुद नाफा आर्जन गरेको छ।
साथै, उक्त अवधिमा २ अर्ब रुपैयाँ बढी नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब ८० करोड, एनआइसी एशिया बैंक २ अर्ब ५४ करोड, एभरेष्ट बैंक २ अर्ब २९ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्। बाँकी ११ वटा वाणिज्य बैंकले चालू वर्षको फागुन मसान्तसम्म १ अर्बमाथि २ अर्बभन्दा कम खुद नाफा कमाएका छन्। यसमा प्रभु बैंकको तथ्यांक समावेश छैन।
यस्तै, विकास बैंकहरुतर्फ गत फागुन मसान्तसम्म सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा कम कर्पोरेट डेभलपमेन्ट बैंकले नाफा कमाएको छ। उक्त अवधिमा मुक्तिनाथले ६५ करोड ९९ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। विकास बैंकहरुको तथ्यांकमा नारायणी, एक्सेल, कामना, साल्पा र सम्तकोशी डेभलपमेन्ट बैंकको तथ्यांक समावेश छैन।
वित्त कम्पनीहरुतर्फ भने राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकमा ९ वटा कम्पनीको मात्रै खुद नाफाको तथ्यांक समावेश गरिएको छ। सञ्चालनमा रहेका १७ वटा वित्त कम्पनीमा सबैभन्दा बढी खुद नाफा गुर्खाज फाइनान्स १३ करोड ५७ लाख रुपैयाँ कमाएको हो।