काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नभए पनि निजी क्षेत्रले जोखिम लिएको बताएका छन्। महासंघको ५८औं वार्षिक साधारण सभामा उनले निजी क्षेत्रले नाफाप्रतिको दृष्टिकोण नेपालमा सकारात्मक नभए पनि निजी क्षेत्रले लगानी गरेको र जोखिम लिएको भन्दै अिहले व्यवसायी सबैभन्दा अप्ठयारोमा परेको बताएका हुन्। 'नेपालमा निजी क्षेत्र र नाफाप्रतिको दृष्टिकोण सकारात्मक नभएता पनि निजी क्षेत्रले अर्थतन्त्रमा लगानी गरेको छ,' उनले भने, 'हामीले जोखिम लिएका छौं, रोजगारी सिर्जना गरेका छौं र अहिलेको अवस्थामा हामीहरु नै सबैभन्दा धेरै अफ्ठ्यारो स्थितिमा रहेका छौँ।'
वार्षिक साधारण सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठको विचार :
सर्वप्रथम त यहाँहरुको उपस्थितिले यहाँहरु निजी क्षेत्र र नेपालको अर्थतन्त्रका विषयमा संवेदनशील हुनुहुन्छ भन्ने देखिएको छ। यस कार्यक्रममा यहाँहरुको सक्रिय उपस्थिति र निजी क्षेत्रका समस्या समाधान र सुधारमा यहाहरुले देखाउनुभएको चासोका लागि, नेपाल उद्योग वाणिज्य महासंघ र मेरो व्यक्तिगततर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। यतिखेर नेपालको अर्थतन्त्र असहज परिस्थितिमा छ। बाह्य क्षेत्रमा सुधार देखिएता पनि आन्तरिक अर्थतन्त्र पूर्ण रुपमा चलायमान हुन सकेको छैन। साना, ठूला र मझौला उद्यमीदेखि लिएर, सरकार र आम जनतालेसमेत अहिले दैनिक रुपमा जीवनयापन गर्न असहज महसूस गरेको हामी सबैलाइ थाहा भएकै विषय हो।
अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि यहाँ उपस्थित हामी सबैले आ-आफ्नो ठाउँबाट, विभिन्न प्रयासहरु गरिरहेकै छौं। यद्यपि निजि क्षेत्र, सरकार, राजनीतिक दल र संसद् सबैको तदारुकता र चासोका बाबजुद पनि हाम्रो अर्थतन्त्रले चाहेको गति लिन सकिरहेको छैन। पछिल्ला वर्षहरुमा सरोकारवालाहरु सबैको सकारात्मक प्रयास हुँदाहुँदै पनि किन हामीले अर्थतन्त्रमा चाहेको सुधार ल्याउन सकिएको छैन? भनेर अब सोच्ने बेला आएको छ। पछिल्लो पाँच वर्षमा ५ पटक सरकार र सरकारको गठबन्धन परिवर्तन भएछन। पाँचै पटक सरकार परिवर्तन हुँदै गर्दा, सरकारी संयन्त्र र नीतिमा परिवर्तन हुने नै भए।
शतप्रतिशत प्रयाससहित नीतिगत निर्णय र संयन्त्रमा हेरफेर भएको भए पनि, यस किसिमको अस्थिरताले व्यवसायिक वातावारणमा अवश्य नै प्रभाव परेको छ, राम्रै नीतिले पनि कार्यान्वयनका लागि उचित समय नपाउँदा सकारात्मक प्रभाव पार्न सकेका छैनन्। मेरो यो भनाइमा यहाँहरु सहमत हुनुहुन्छ नै होला। नेपालको अर्थतन्त्रमा हामीले अहिले भोगेको समस्याको प्रमुख कारण, हामीले दिर्घकालीन रुपमा नसोचेर, छोटो समय र छोटो लाभका लागि लिएका नीतिगत निर्णयहरु पो हुन् कि? यतिबेला जसरी सरकारलाई अर्थतन्त्र चलाउन गाह्रो परिरहेको छ, हामी निजी क्षेत्र पनि उत्तिकै छटपटीमा छौं।
सरकारले संरक्षण गरेको नेपालको अर्थतन्त्रको ८२ प्रतिशत हिस्सा नेपालको निजी क्षेत्रले चलायमान गराउने हो, यसका लागि सरकारले उचित वातावरण बनाइदिनुपर्ने भूमिकामा रहेको र सरकारले प्रयास गर्दागर्दै पनि अर्थतन्त्र चलायमान नहुँदा, नेपाल र नेपालीको व्यवसायिक मनोदशा अझै नकारात्मक हुने हो कि भन्ने चिन्ता सरकार पछिको ठूलो सञ्जाल रहेको हामी निजी क्षेत्रलाइ पनि उत्तिकै परेको छ। मलाई लाग्छ, यतिबेला नेपालमा अर्थतन्त्र सुदृढ गराउँदै, मुलुकमा सकारात्मक संदेश दिनु अपरिहार्य रहेको छ।
स्थानीय अर्थतन्त्रको विकास, रोजगारी, पुँजी र प्रविधिका साथै दक्ष जनशक्ति उत्पादन, स्थानीय उत्पादन र खपत वृद्धि गरी, नेपालका उत्पादनलाइ बाह्य बजारसँग जोड्ने र नेपालको आन्तरिक अर्थतन्त्रको सबलीकरण आजका हाम्रा प्रमुख मुद्दाहरु हुनु जरुरी छ।
निजी क्षेत्रको अनुरोध, अबको एक वर्ष नेपालमा हामीले आर्थिक सुधार र सुशासनका विषयलाई प्राथमिकतामा राखेर काम गरौँ भन्ने हो। नेपालको अर्थतन्त्र र आर्थिक सुधारका विषयमा सबै सरोकारवालाहरु र राजनीतिक दलहरुको एकैबद्धता अब अपरिहार्य भइसकेको छ। यसका लागि आवश्यक परेमा नेपाल उद्योग वाणिज्य महासंघ यहाँहरु सबैको सेतु बन्न तयार छ।
नेपालमा निजी क्षेत्र र नाफाप्रतिको दृष्टिकोण सकारात्मक नभएता पनि निजि क्षेत्रले अर्थतन्त्रमा लगानी गरेको छ, हामीले जोखिम लिएका छौं, रोजगारी सृजना गरेका छौं र अहिलेको अवस्थामा हामीहरु नै सबैभन्दा धेरै अफ्ठ्यारो स्थितिमा रहेका छौँ। त्यसैले यसै उद्योग वाणिज्य दिवसको दिन पारेर म, सरकार, संसद्, कर्मचारीतन्त्र र सरोकारवाला सबैलाई नेपालमा नीतिगत स्थिरता, लगानीको संरक्षण र दिगो व्यवसायिक वातावरण निर्माण गर्दै दरिलो अर्थतन्त्र बनाउने गरी, न्युनतम सुधारका कार्यक्रमहरुलाई हामी सबैले साझारुपमा अपनत्व लिएर अगाडी बढाउँ भन्ने आह्वान गर्न चाहन्छु।
नेपालमा आन्तरिक र बाह्य लगानीका लागि अहिले पनि थुप्रै नीतिगत झन्झट रहेको कुरा सबैलाई थाहा भएकै विषय हो। उत्पादन र बजारमुखी नीति सहजीकरणको लागि सरकारकातर्फबाट प्रयासहरू पनि भएका छन्। यद्यपि देशमा उद्योगधन्दा कलकारखानाहरूको विकास र विस्तार हुन सकेको छैन। लगानीको एक द्वार नीति, आन्तरिक बजार विस्तारमा जोड दिने गरी स्थानीय लगानीकर्ताको आत्मविश्वास बढ्ने गरी नीतिगत सहजीकरण गर्नु अपरिहार्य छ।
विद्युतीय भुक्तानीका पूर्वाधारहरू बलिया बनिसकेका छन्, अब सरकारले राष्ट्रिय नागरिक परिचय पत्र, विद्युतीय लेखा नम्बरलगायत प्रणालीलाई एकद्वारामा समेट्न सक्यो भने अर्थतन्त्र विस्तारै औपचारिकतर्फ बढ्दै जान्छ। यसले भ्रष्टाचार, चुहावटलगायतलाई रोक्छ नै। साथै कर प्रणालीसमेत बलियो हुन्छ भने सार्वजनिक सेवा प्रवाह गुणस्तरीय हुन्छ।
नेपालको निजी क्षेत्र र अर्थतन्त्रको विकासमा अर्को बाधक देशमा अपर्याप्त भौतिक पूर्वाधार पनि हो। सडक मात्र होइन नेपालका उद्योगहरूमा गुणस्तरीय ऊर्जाको पनि कमी छ, औद्योगिक कोरिडोर औद्योगिक क्षेत्रहरुमा बिजुली नियमित छैन, यसमा सुधार हुनु जरुरी छ। साथै उद्योगका लागि चाहिने अन्य ठूला भौतिक पूर्वाधारहरू निर्माणमा ध्यान हुनु जरुरी छ।
समय अनुकूलको नयाँ नीति निर्माण र पुरानालाई संशोधन पनि अहिलेको आवश्यकता हो। कसरी हुन्छ हाम्रो अर्थ व्यवस्थालाई उद्योगमैत्री र प्रविधिमैत्री बनाउनुपर्छ। नयाँ सोच र सिर्जनालाई प्रोत्साहन हुनुपर्छ। त्यसले मात्र लगानी आकर्षित गर्छ। लगानी बढ्दा रोजगारी पनि स्वतः बढ्छ। यसका साथै मौद्रिक नीति तथा बाह्य अर्थतन्त्रमा स्थिरता, बैदेशिक लगानी मैत्री कानुन निर्माण अर्थतन्त्रलाई 'ग्लोबल भ्यालु चेन'मा जोड्न सकिने नीतिगत सुधार अब अपरिहार्य भइसकेको छ।
शिक्षाको विकास गर्दै, दक्ष र सीपयुक्त जनशक्तिको निर्माण, युवाहरुको नवीन सोचलाइ मुर्तरुप दिन, स्टार्ट अपमैत्री वातावारण निर्माण हामी सबैको साझा मुद्दा हुनु जरुरी छ। यसका लागि हाम्रो आह्वान यी साझा कार्यक्रमलाई हामीले अपनत्त्व लिऔं।
नेपाल उद्योग वाणिज्य महासंघ आर्थिक र संरचनागत सुधार अभियानमा सबै सरोकारवालाहरुलाई जोड्ने सेतु, साझेदार र सहयात्री हुन् सदैव तयार छ। अन्त्यमा आफ्नो कार्य व्यस्तताको बावजूद पनि महासंघको निमन्त्रणालाई स्वीकार गरी हामी माझ पाल्नु भई यस सभाको प्रमुख आतिथ्यता ग्रहण गर्नुका साथै निजी क्षेत्रलाई मार्ग निर्देश गर्नु भएकोमा सम्मानीय प्रधानमन्त्रीमा पुनः एक पटक हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछु।
उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुमध्ये विभिन्न विधामा उत्कृष्ट भई सम्मानित हुने उद्योग वाणिज्य संघ र वस्तुगत संघहरु र तीनका पदाधिकारीहरुलाई बधाई एव शुभकामना दिन चाहान्छु। सम्मान छनोट समितिमा रहेका महासंघका पूर्वमहानिर्देशक डा. हेमन्त दवाडी, आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष प्रतीक प्रधान, नेपाल बारका पूर्वमहासचिव लिलामणी पौडेललाई पनि विशेष धन्यवाद।
वार्षिक साधारण सभामा भाग लिन देशैभरबाट आउनु भएका मुख्य प्रतिनिधि, अतिरिक्त प्रतिनिधिज्यूहरु, उद्यमी व्यवसायीहरुको अर्थपूर्ण सहभागिता रहने अपेक्षा गर्दछु। यहाँहरुको महत्त्वपूर्ण सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्दछु। अन्तमा, वार्षिक साधारण सभालाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खट्नु भएका महासंघका कर्मचारी साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै मेरो भनाइ यही टुंग्याउछु।