काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थिर राजनीति र दरिलो आर्थिक नीतिबिना देश विकास गर्न नसकिने औंल्याएका छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औं वार्षिक साधारणसभा अवसरमा पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले अर्थतन्त्रलाई गति दिन आर्थिक नीतिमा फोकस हुनुपर्ने बताएका हुन्।
नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक भएकाले कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिएर मात्रै देश विकास गर्न सकिन्छ। कृषि क्षेत्रको जनसंख्यालाई कमसेकम १० प्रतिशतभन्दा तल झार्ने, उद्योग क्षेत्रमा लागेको श्रम शक्तिलाई ३५/४० प्रतिशतसम्म पुर्याउने र सेवा क्षेत्रलाई ५०/५५ प्रतिशतमा पुर्याउन सके मात्रै देश विकास सम्भव हुन्छ।’
अस्थिर राजनीतिलाई हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने र बलियो इकोनोमिक डेभलपमेन्ट अथोरिटी बनाएर देशलाई दुई दशकभित्र दुई अंकको निरन्तर आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा अघि बढाउनुपर्ने उनले बताए।
‘नेपाल कृषिप्रधान अर्थतन्त्र भएको मुलुक हो। ६० प्रतिशत जनसंख्या अहिले पनि कृषिमा आश्रित छ। यसलाई यही रूपमा राखेर देश कहिल्यै विकास हुँदैन। कृषि, उद्योग र सेवाका तीन क्षेत्रलाई आधुनिकीकरण र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्छ’, उनले भने।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले चीन र भारतसँग औद्योगिकीकरणमा तालमेल गरेर अघि बढ्न आवश्यक रहेको सुझाए। निजी क्षेत्रका अप्ठेरा फुकाउन सरकारले पहल गर्नुपर्ने र निजी क्षेत्रले पनि सरकारलाई आर्थिक समृद्धिका लागि सहयोग गर्नुपर्ने उनको धारणा छ।