काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा कसैको प्रभावमा नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार नेपाल उधोग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
‘आगामी वर्ष करका दायरा बढाउने वा घटाउने कार्य कसैको प्रभावमा नपरी गरिनेछ’, पुनले भने, ‘करका दर किन बढाइयो वा किन घटाइयो भन्ने कुराको कारणसहित उल्लेख गरिनेछ र यसको जवाफ दिने गरी काम गरिनेछ।’
पछिल्लो समय आईटी क्षेत्रमा देखिएको सम्भावनालाई ख्याल गरेर सोहीअनुसार आगामी पाँच÷सात वर्ष पछाडिको अवस्था हेरेर नीति बनाउने पक्षमा रहेको उनले उल्लेख गरे। नेपालमा बढी मात्रामा नकारात्मक कुरा मात्र गरिने भएकाले सकारात्मक विषय फैलाउँदै अगाडि बढ्न आवश्यक भएको उनले बताए।
अर्थमन्त्री पुनले प्रश्न उठ्दैमा कसैलाई लेखेट्न नहुने धारणा व्यक्त गरे। ‘प्रश्न उठ्दैमा कसैलाई लखेट्न आवश्यक छैन। निजी क्षेत्रमाथि पनि प्रश्न उठ्दैमा सबै व्यवसायी र उद्योगीलाई सोहीअनुसार गलत रुपमा बुझ्नुहुँदैन’, पुनले भने, ‘सबै नराम्रो मात्र हुन्छ भन्ने हुन्न। यसमा कस्तो अभ्यास बसाल्ने भन्ने विषयमा ध्यान पुर्याउन आवश्यक छ।’
सस्ता कुरा गरेर क्षणिक ताली खाने पक्षमा नरहेको उनले बताए। ‘हामी सस्तो कुरा गर्ने र ताली खाली खाने अपेक्षामा छैनौं। गत वर्षको अवस्थाबाट हामी केही सुधारको बाटोतिर आए पनि हौसिएर धेरै कुरा गर्ने अवस्थामा छैनौं,’ अर्थमन्त्री पुनले भने, ‘मबाट कसैको घराना वा कसैको प्रभावमा परेर नीति बनाउने र सोहीअनुसारको काम गर्ने कार्य कदापि हुँदैन।’