काठमाडौं। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कुरा मात्र गर्ने तर काम नगर्ने परिपाटी जारी रहे अर्थतन्त्रले समातेको सुधारको भत्किन सक्ने बताएका छन्। बुधबार नेपाल उधोग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा कांग्रेस प्रवक्तासमेत रहेका महतले यस्तो बताएका हुन्।
‘वितरणमुखी हुँदै गए, मौखिक रुपमा मात्र सहकार्यको कुरा गर्ने तर व्यवहारमा काम नगर्ने हो भने अर्थतन्त्रले अंगालेको बाटो भंग हुन सक्छ’, महतले भने, ‘कुराले मात्र सुधार हुँदैन। व्यवहारमा काम गर्न आवश्यक छ।’ महतले निजी क्षेत्र आर्थिक समृद्धिको महत्त्वपूर्ण पाटो हो भन्ने विषयमा कांग्रेस कहिल्यै पनि द्विविधामा नपरेको र नरहेको स्पष्ट पारे।
‘बजेटले निजी क्षेत्रको साझा सुझाव कार्यान्वयन नगरेको भन्ने विषयमा सहमत छैन’, महतले भने, ‘मैले नै निजी क्षेत्रलाई सहभागी गराएर अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेको हो। अहिले पनि सोही बाटोमा काम भइरहेको छ।’
महतले हिजोका दिनमा अर्थतन्त्रलाई जुन लय र शैलीमा ल्याइएको थियो, त्यो अहिले प्रकट भएको दाबी गरे। अनुशासनमा रहेर काम गरेकै कारण अर्थतन्त्र लयमा फर्किएको उनको तर्क थियो। ‘नेपालको राजनीतिमा देखिएको निरन्तरको अस्थिरताले निजी क्षेत्रलाई पनि असर पुर्याएको छ। यसर्थ स्थायीतर्फ जान आवश्यक छ’, महतले भने, ‘सरकारले राज्यका हरेक गतिविधिमा साथ दिने र विकासका काम गर्न आवश्यक छ।’
महतले कन्ट्री रेटिङमा पनि अहिलेको सरकारले चासो नदेखाएको बताए। लगानी सम्मेलनअघि नै कन्ट्री रेटिङको तयारी भएको उल्लेख गर्दै हाल त्यसमा चासो नदेखाउनु राम्रो नभएको उनको धारणा छ। उनले रोजागारी र उत्पादनको कुरा गर्दा अनुदानको विषय मात्रै जोडिने गरेकाले आफूले ब्याजमा अनुदान दिनुपर्ने व्यवस्थाको विषय उठाएको बताए।
‘आउने बजेट हाम्रो दायित्व र प्राथमिकताअनुसार आउन आवश्यक छ’, महतले भने, ‘अब कुरा मात्र गर्ने नभएर काम गर्ने प्रचलन ल्याउन आवश्यक छ।’