काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एसियाली विकास बैंक(एडीबी)को करिब ८ अर्ब बराबरको ऋण अस्वीकार गरेका छन्।
एडीबीले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि प्रस्ताव गरिएको करिब ८ अर्ब रुपैयाँ ऋण लिन प्राधिकरणले अस्वीकार गरेको हो।
एडीबीका नेपालको ऋण हेर्ने विदेशी ईकाइसहितको टिमले मंगलबार प्राधिकरणका महानिर्देशक अधिकारीलाई भेटेर ऋण लिन प्रस्ताव राखेका थिए। तर, महानिर्देशक अधिकारीले भने अहिले ऋण लिएर परियोजना बनाउन सक्ने स्थिति नरहेको र तत्कालका लागि ऋण नचाहिएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको एक उच्च अधिकारीले बताए।
प्राधिकरणले गौतमबुद्ध विमानस्थलका लागि ऋण लिन नमानेपछि एडीबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लागि ऋण प्रस्ताव गरेका थिए। त्यहाँ पनि महानिर्देशक अधिकारीले ऋण अस्वीकार गरिदिएको ती अधिकारीको भनाइ छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीकै ७ अर्ब ऋणमा काम भइरहेको छ। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नै नभइरहेको अवस्थामा दोस्रो टर्मिनल भवन बनाउन आवश्यक नदेखिएकोले महानिर्देशक अधिकारीले ऋण अस्वीकार गर्नुभएको हो,‘ छलफलमा सहभागी एक अधिकारीले भने, ’पोखरासहित करिब ४० अर्ब ऋण दायित्व प्राधिकरणसँग छ। त्यही भएर अहिले ऋण लिन अस्वीकार गर्नुभएको हो।‘
एडीबीका प्रतिनिधिसँगको भेटमा महानिर्देशक अधिकारीले प्राधिकरणलाई चाहिने पूर्वधारहरु बनाउनका लागि अहिले आफैं सक्षम रहेको जवाफ समेत दिएका थिए। ‘तत्कालका लागि हवाई उड्डयन क्षेत्रमा पूर्वधार निर्माण गर्न प्राधिकरण नै सक्षम रहेको सन्देश महानिर्देशक ज्यूले दिनुभएको छ,’ ती अधिकारीले भने, ‘तत्कालका लागि दातृ निकायको ऋण चाहिँदैन।’