काठमाडौं। विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजना समीक्षासम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा बसेको छ।
मंगलबार बसेको बैठकले दुवै बैंकका लगानीमा सञ्चालित परियोजनामा भइरहेकोे प्रगति र ढिलाइ ढिलाइबारे समीक्षा गरेको हो। बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्ग भोगाधिकारमा रहेको कानुनी तथा व्यावहारिक जटिलतालगायत कारण आयोजनामा ढिलाइ भइरहेको बताए।
जवाफमा अर्थमन्त्री वर्षमान पुन, अर्थसचवि कृष्णहरि पुष्कर र सहसचिव श्रीकृष्ण नेपालले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यावहारिक समस्यालाई अन्तरमन्त्रालय एवं एजेन्सीहरुसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता जनाए।
नेपालमा विश्व बैंकको लगानीमा २.३ अर्बका २३ र एसियाली विकास बैंकको लगानीमा ३.६ अर्बका २६ (अमेरिकी डलर बराबर) आयोजना सञ्चालनमा छन्। दुवै बैंकले सडक पूर्वधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेका छन्।
बैठकमा अर्थमन्त्री पुनले नेपालका विकास आयोजनामा गर्दै आएको लगानीका लागि दुवै बैंकलाई धन्यवाद दिए। मन्त्री पुनले आफू दोस्रोपल्ट अर्थमन्त्री भएपछि पहिलो पटक पोर्टफोलियो समीक्षा बैठकमा सहभागी भएको र यस्ता बैठक चालू आयोजनाका काम अघि बढाउन फलदायी हुने विश्वास व्यक्त गरे।
विकास आयोजना कार्यान्वयनमा दक्षता वृद्धि जरुरी रहेको मन्त्री पुनको भनाइ थियो। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंक दुवैको लगानीमा सञ्चालित आयोजनाका अधिकांश समस्या आयोजना तयारी, ठेक्का व्यवस्थापन, अन्तरमन्त्रालय तथा एजेन्सी समन्वय, सुरक्षा तथा मानव संसाधन व्यवस्थापनसँग सम्बन्धित रहेको बताए।
आफूले योजना कार्यान्वयन गर्ने निकायसँग समन्वय र छलफल गरिरहेको भन्दै मन्त्री पुनले सम्बद्ध निकायबाट कामको गति बढाउने प्रतिबद्धता आएको जानकारी दिए।
उनले त्यस क्रममा आइपरेका समस्यामा सहजीकरण गर्न आफू तयार रहेको बताए। मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकद्वारा सञ्चालित आयोजनाका काममा ढिलाई हुनुमा कमजोर ठेक्का व्यवस्थापन एक रहेको उल्लेख गरे।
केही आयोजनामा जग्गा अधिग्रहण र समयमै क्षतिपूर्ति उपलब्ध हुन नसक्दा कार्यसम्पादन कमजोर रहेको मन्त्री पुनको भनाइ थियो। यद्यपि अर्थ मन्त्रालयका तर्फबाट उनले ती आयोजना समयमै सक्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता मन्त्री पुनले जनाए।
नेपालले विश्व बैंक र एसियाली विकास बैंकसँगको सहकार्यलाई आगामी दिनमा सरकारको विकास प्राथमिकताका आधारमा थप घनिभूत बनाइने बताए।
बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एसियाली विकास बैंकका दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेओ कोनिशी, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने देशीय निर्देशक फारिस एच हादाद–जेर्भोसलगायत सहभागी थिए।