काठमाडौं। नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीहरूले घट्दै गएको आम्दानी चिन्ताको विषय भएको बताएका छन्।
विशेषगरी भ्वाइस सेवातर्फ घट्दै गएको प्रयोगले समग्र टेलिकम आम्दानीमा असर पुर्याएपछि हाल कम्पनी बजारमा टिक्ने नयाँ विकल्प खोजी गरिरहेका छन्। वर्तमान अवस्था र नियामकीय प्रावधामा रहेर टिक्न नसक्ने अवस्था बन्न सक्ने चिन्ता उनीहरूको छ। यसका लागि नीतिगत रुपमै सहजीकरण गर्नुपर्ने आवाज दूरसञ्चार कम्पनीले उठाएका छन्।
निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटाको आम्दानी मात्रै सात वर्षमा ६४.९३ प्रतिशतले घटेको छ। २०१७ देखि नै एनसेलको आम्दानी निरन्तर रुपमा घट्दै गइरहेको हो। २०१७ मा ५८ अर्ब रहेको एनसेलको आम्दानी त्यसपछि निरन्तर घटेर २०२३ मा आइपुग्दा ३७ अर्बमा सीमित भएको छ।
अर्कोतर्फ आर्थिक वर्ष २०७४/७५ को वार्षिक आम्दानी ४५ अर्ब २७ करोड रहेको नेपाल टेलिकमको आम्दानी आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा ४४ अर्ब ४२ करोडमा सीमित भएको छ।
दुई दूरसञ्चार सेवाप्रदायकको एकमुष्ट आम्दानीमा पनि ठूलो गिरावट आएको देखिन्छ। एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गरेको प्रस्तुतीकरणको तथ्यांक हेर्दा आगामी दिनमा यो आम्दानी झन् बढी खुम्चिँदै जाने देखिन्छ।
सन् २०१६/१७ मा ९७ अर्ब रहेको दुई दूरसञ्चार कम्पनीको आम्दानी सन् २०२२÷२३ मा आइपुग्दा ७३ अर्बमा खुम्चिएको छ। उपाध्यायका अनुसार यही अवस्था रहे सन् २०२७/२८ मा पुग्दा यो आम्दानी खुम्चिएर ५६ अर्बमा सीमित हुनेछ।
प्रस्तुतीकरणका क्रममा उपाध्यायले पछिल्लो समय भ्वाइसको बजार ओभर द टपले खाइदिएकाले पनि टेलिकम कम्पनीलाई टिकाउन दायरा फराकिलो बनाउन आवश्यक भएको बताए।
‘हामीजस्ता टेलिकम कम्पनी आम्दानी प्राप्त हुने क्षेत्रमा दायरा विस्तार गर्दै जान आवश्यक छ। तर, हालका कानुन र नीतिले अन्य क्षेत्रमा जान रोकेको अवस्था छ,’ उपाध्यायले भने, ‘संसारमा पनि यस क्षेत्रमा सुधार हुँदै गएको अवस्था छ। हामी सबै डेटामा जाँदा एउटालाई काखा र अर्कोलाई पाखा गर्ने काम गर्नुहुँदैन।’
उनले टेलिकमको आम्दानी खुम्चिँदै गएको अवस्थामा पनि कम्पनीले बुझाउनुपर्ने नवीकरण शुल्क, लाइसेन्सलगायत विषष यथावत् रहेकाले कम्पनीलाई ‘सर्भाइभ’ गर्न कठिन हुने गरेको बताए।
कार्यक्रममा दूरसञ्चार क्षेत्रको चुनौती र अवसरको विषयमा केन्द्रीत रहेर नेपाल टेलिकमका सिनियर इन्जिनियर मधुसूदन दाहालले पनि आगामी दिनमा टेलिकमको आम्दानीमा झन् गिरावट आउने औंल्याए। उनका अनुसार इन्टरनेट सेवाप्रदायकले दिइरहेको इन्टरनेट सेवाको गतिशीलता, जीएसएम लाइसेन्स र नवीकरण शुल्क, कर, इन्टरकनेन्सन शुल्क तथा दूरसञ्चार सेवाशुल्कमा निरन्तर आएको कमी आगामी दिनमा दूरसञ्चार कम्पनीका लागि झनै चुनौतीको विषय बन्नेछ।
‘नेपालमा हाल भइरहेको भ्वाइसतर्फको आम्दानी पनि डिजिटल लिटरेसी कम भएकाले हाल नेपालको डिजिटल लिटरेस ४३ प्रतिशत रहेको छ,’ दाहालले भने, ‘आगामी दिनमा डिजिटल लिटरेसी बढ्दै जादा डेटा र वाईफाई प्रयोग बढ्दै गएर टेलिकमको व्यापार झनै खुम्चिँदै जानेछ।’
दाहालका अनुसार हाल टेलिकम कम्पनीको आम्दानीमध्ये ८३ प्रतिशत भ्वाइसतर्फको छ। उनले टेलिकम कम्पनी आगामी दिनमा फाइभजीमा जानुपर्दा कम्तीमा ६० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेकाले खर्च बढ्ने तर आम्दानी घट्ने अवस्थामा संस्था सञ्चालन हुन नसक्ने बताए।
टेलिकम कम्पनीको घट्दो आम्दानीलाई विचार गरेर लिइँदै आएको शुल्क कम गर्नुपर्ने तथा टलिकमले गर्ने व्यापारको दायरा बढाउनुपर्ने आवाज टेलिकम कम्पनीले उठाएका छन्।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले टेलिकम क्षेत्रमा २० वर्षभन्दा पुराना कानुन रहेकाले यसलाई भिन्न रुपमा हेर्नुपर्ने तर्क गरिन्। सबै उद्योगलाई बाँच्ने अवसर दिनुपर्ने बताउदै मिश्रले टेलिकम क्षेत्रको व्यापार र व्यवसायलाई पनि हेरेर सोहीअनुरुपको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्।
‘टेलिकमले सेवा दिने एफटीटीएच र वायरलेस क्षेत्रमा उच्च प्रतिस्पर्धा छ। यसर्थ, यसलाई अझ बढी राम्रो बनाउन सरकारको नीति सान्दर्भिक भएर आउन आवश्यक छ,’ पहाडीले भनिन्, ‘नेपालका दूरसञ्चार कम्पनीलाई टिक्ने वातावरण बनाउन सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले भूमिका खेल्नेमा आशावादी छौं।’
उनले भ्वाइसतर्फको आम्दानी घटिरहेको अवस्थामा पनि राज्यलाई बुझाउनुपर्ने दस्तुर यथावत् राख्दा कम्पनीलाई असर पुगेको बताइन्।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकम क्षेत्रमा २७ वर्ष पुरानो कानुन रहेको स्वीकार्दै यसले ‘स्टक होल्डर’ तथा कानुनी व्यवस्थाबीच ठूलो अन्तर राखेको जानकारी दिए।
‘हिजो ६ वटासम्म दूरसञ्चार कम्पनी रहेकामा हाल बजारमा दुई वटा मात्र छन्,’ अध्यक्ष भण्डारीले भने, ‘दूरसञ्चार कम्पनी टिक्नुपर्छ भन्ने मान्यता हाम्रो पनि रहेकाले सोहीअनुसार काम गर्ने सोच राखिरहेका छौं।’ पछिल्लो समय दूरसञ्चार सेवाप्रदायकको राजस्व घट्दै गइरहेकाले त्यसलाई सहज बनाउन सोहीअनुरुपको काम गर्न आवश्यक रहेको उनले उल्लेख गरे।