काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिए) नेपालले प्रसारण लाइनको ‘लट’ संख्या टुक्र्याएको छ। कुल ३१५ किलोमिटर लामो प्रसारण लाइन ३ लटमा निर्माण गर्ने एमसिए नेपालको योजना थियो। तर, सबै प्रसारण लाइन एकैपटक निर्माण गर्दा धेरै समय लाग्ने बताएर एमसिए नेपालले लट संख्या टुक्र्याएको हो।
यसअघि एमसिएले पहिलो लटअन्तर्गत काठमाडौंको लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा, दोस्रो लटअन्तर्गत रातमाटे–न्यू दमौली र तेस्रो लटअन्तर्गत न्यू दमौलीदेखि नेपाल–भारत सीमासम्म ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन ठेक्का आह्वान गरेको थियो।
२०७९ मंसिर १२ मा ३ लटमा प्रसारणलाइन बनाउन गरिएको आह्वान गरिएको ठेक्कामा सहभागी कम्पनीले एमसिए नेपालको लागत अनुमानभन्दा बढी रकम प्रस्ताव गरेका थिए।
सोही कारण करिब ११ महिना अर्थात् २०८० असोज २६ मा एकसिए नेपालले ठेक्का रद्दको सूचना सार्वजनिक गर्यो। रद्द गरिएको सबै ठेक्का एकै पटक आह्वान गर्दा धेरै समय लाग्ने भएपछि न्यू दमौलीदेखि नेपाल–भारत सीमा खण्डमा लट संख्या टुक्र्याएको हो। अब लट संख्या बढेर ४ वटा भएका छन्।
भारतसँगको विद्युत व्यापारसँग प्रभावकारी बनाउन फागुन २१ मा अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करको अध्यक्षतामा बसेको बैठकले लट संख्या बढाउने निर्णय गरेको एकसिए नेपालले जनाएको छ। ‘अर्थसचिव कृष्णहरि पुष्कर अध्यक्षताको एमसीए बोर्ड बैठकले न्यू बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको १८ किलोमिटर खण्डलाई प्राथमिकता दिन ३१५ किलोमिटरबाट अलग गरेर अघि बढ्ने निर्णय गरेको हो’ एमसिएले जवाफ दिएको छ।
बोर्ड बैठकको निर्णयअनुसार चैत २ (सन् २०२४ मार्च १५) १८ किमि प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वानसमेत भइसकेको छ। न्यू बुटवल–गोरखपुरमा अन्तरदेशीय प्रसारण लाइन निर्माण हुँदैछ। यसमा भारतीय पक्षले आफ्नो तर्फबाट काम गर्दै छ।
सोहीअनुसार नेपालले ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ (एमसिसी) परियोजना अन्तरगत १८ किमि प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएको हो। सन् २०१९ अक्टोबरमा नेपाल र भारत सरकार न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण एवं कार्यान्वयनका लागि सहमत भएका थिए। दुवै देशमा प्रसारणलाइन बनेपछि सीमापार विद्युत व्यापार सहज हुनेछ।
कुल ३१५ किमि मध्ये १८ किमि ठेक्का आह्वान भएपछि अब एमसिए नेपालले २९७ किमि प्रसारणलाइनको ठेक्का आह्वान गर्न बाँकी छ। तर, असोजमा ठेक्का रद्द गरेको एमसिए नेपालले हालसम्म पुनः ठेक्का आह्वान गर्न सकेको छैन।
बाँकी २९७ किमि प्रसारण लाइनको पुनः ठेक्का आह्वानका विषयमा एमसिए नेपालले ‘डिजाइन मापदण्ड र निर्माण प्रावधानहरूको समीक्षा गर्न एक इन्जिनियरिङ सुपरभाइजर फर्म नियुक्त गरेको’ लिखित जवाफ दिएको छ।
प्रसारण लाइनको डिजाइन परिवर्तन प्रक्रिया पनि चलिरेहको एमसिए नेपालले जनाएको छ। परिवर्तित डिजाइन पुनःआह्वान हुने ठेक्कामा लागू हुनेछ। यद्यपि निर्धारित लागत नबढाई तोकिएको समयावधिभित्रै आयोजनाको काम सम्पन्न हुने एमसिए नेपालको दाबी छ।
२०८० भदौ १३ बाट निर्माणको दिनगन्ति सुरु भएको एमसिए नेपालले ५ वर्षभित्र आफ्नो काम सक्नुपर्नेछ। २०८५ भदौ १२ सम्म प्रसारण लाइन, सबस्टेसन र सडक निर्माण गर्नुपर्ने हुन्छ। तर, दिन गन्ति सुरु भएको ८ महिना बित्दा पनि कुनै क्षेत्रमा ठेक्का सम्झौता भएको छैन।