काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारलाई केही महिनाअघि बुझाएको गणतान्त्रिक व्यवस्था फेर्नुपर्नेलगायत ४० बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ।
मंगलबार भृकुटीमण्डपमा विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका राप्रपाका नेता, कार्यकर्तासहितको जुलुस पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारलाई ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएको हो।
सरकारसमक्ष पेस गरिएको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जन प्रदर्शन थालिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।
राप्रपाले राजासहितको शासन, हिन्दु राष्ट्र, गणतन्त्र खारेज हुनुपर्नेलगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेको छ।
विरोधस्वरुप राप्रपा सम्बद्ध नेपाल सनातन धर्म–संस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदल यात्रा गरी गणतन्त्रको प्रतीकात्मक पुत्ला जलाएको थियो।
राप्रपाको विरोध प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ। प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति–सुरक्षा कायम राख्न काठमाडौं उपत्यकामा चार हजार बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।