काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले फोरजीबाट प्राप्त प्रतिफल र त्यसको उपयोगबारे अध्ययन गरेर मात्रै फाइभजीमा जानुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष भण्डारीले यस्तो बताएका हुन्। `फोरजीबाट फाइभजीमा प्रवेश गर्ने विषय उठेकाले हामीले फोरजीबाट के प्राप्त भयो भन्ने विषय अध्ययन गर्न आवश्यक छ,' भण्डारीले भने, `अब फाइभजीमा हामी प्रवेश गर्दा सरकारले कति लगानी गर्नुपर्छ, कम्पनीले कति लगानी गर्छन् र त्यसबाट कति प्रतिफल प्राप्त हुन्छ भन्ने विषय पनि अध्ययन गर्न आवश्यक छ।'
उनले नेपालको आरटिडिएफ कार्यान्वयन एकदमै सुस्त गतिमा भएको बताए। आफू अध्यक्षमा आएदेखि नै त्यसलाई गति दिन काम गरिरहेको उनले जानकारी दिए। २७ वर्ष पुरानो कानुन रहेको र स्टेक होल्डर तथा कानुनी व्यवस्थाबीच ठूलो ग्याप रहेको पनि भण्डारीले उल्लेख गरे। `बजारमा दुई वटा कम्पनी मात्र छन्। अब डेटामा पहुँच नभएका मानिसलाई कसरी सर्वसुलभ बनाउने भन्ने विषयमा काम गर्न आवश्यक देखिन्छ,' उनले भने, `दूरसञ्चार कम्पनी टिक्न नसकेमा त्यसले राज्यलाई पनि असर पुर्याउने भएकाले सोबारे पनि हामिले सोचिरहेको छौँ।'
उनले नेपालका दूरसञ्चार कम्पनीले ग्राहकको गुनासो सुन्ने र ग्राहकको अधिकार सुनिस्चित गर्ने कार्य गर्न आवश्यक रहेको पनि बताए। सरकारको राजस्व बढाउने र कम्पनीमार्फत सेवा प्रवाह गर्ने भएकाले सो अनुसार आफूले काम गर्ने उनको भनाइ थियो।
प्राधिकरणबाट फाइभजी विस्तारका लागि अध्ययन गरिरहेको, आईएसपीहरुको संख्याका विषयमा अध्ययन, अनुमति पत्रमा रहेको द्विविधाको नितिगत कामका लागि पहल गरिरहेको जानकारी दिए।