काठमाडौं। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुन मसान्त (८ महिना) सम्म मोबाइल बैंकिङमार्फत २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ८ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
२०७९ असार मसान्तसम्म मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक राष्ट्र बैंकसँग छ। समीक्षा अवधिमा १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले मोबाइल बैंकिङ कारोबार बढेको हो ।
८ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म यस्तो संख्या १ करोड ८३ लाख ७ हजार थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा १ करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्तामार्फत १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आरटीजीएसबाट ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, एटिएमबाट ८८ अर्ब ७ करोड, इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी)बाट ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
यस्तै, कनेक्ट आईपीएसबाट ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख, डेबिट कार्डबाट ९१ अर्ब ४८ करोड, क्रेडिट कार्डबाट १ अर्ब ७६ करोड ८० लाख, प्रिपेड कार्डबाट ६१ करोड ९० लाख, ब्रान्चलेस बैंकिङमार्फत १ अर्ब ५८ करोड १० लाख, वालेटबाट २४ अर्ब २ करोड, क्यूआर पेमेन्टबाट ४२ अर्ब ५६ करोड, पोइन्ट अफ सेल्स् (पीओएस)बाट ५ अर्ब १८ करोड ९० लाख र ई–कमर्सबाट ६० करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।