काठमाडौं। दुई युवाले सुरु गरेको कृषि हाट बजार एपको प्रयोगकर्ता संख्या २५ हजार माथि पुगेको छ। करिब दुई वर्ष अघि मात्रै कृषि सामग्री खरिद–बिक्री गर्ने प्लेटफर्मको रुपमा विकास भएको हाट बजार एप छोटो समयमै लोकप्रिय बन्दै गएको छ।
हाटबजार एप यस्तो किसिमको प्लेटफर्म हो, जहाँ किसानले आफूले उत्पादन गरेको सामग्री बिक्रीका लागि राख्न सक्छन् भने खरिद गर्न चाहने व्यक्तिले पनि वास्तविक उत्पादक कृषकमार्फत् सिधै खरिद गर्न सक्छन्।
नेपालमा एकातर्फ बजारीकरणको अभाव छ भने अर्कोतर्फ रोजेको र खोजेको कृषि सामग्री नपाउने समस्या छ। वास्तवमा, यी दुवै पक्षलाई जोड्ने महत्त्वपूर्ण माध्यमको रुपमा हाट बजार एप विकसित हुँदै आएको छ। पछिल्लो समय यस एपप्रति देखिएको आकर्षणले आगामी दिनमा यो प्लेटफर्म झनै उपयोगी बन्दै जाने देखिन्छ। गाउँमा कृषकले गरेको उत्पादनले बजार नपाएको र सहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाएको गुनासो प्राय सुनिन्छ।
कृषिजन्य उत्पादन महंगो हुने, विदेशी र आयातित तरकारीले बजार ढाकेको अवस्थामा नेपाली उत्पादनले स्थान पाउने उत्तम स्थान पनि हाट बजार एप हो। यही सोचका साथ नै करिब दुई वर्ष अघि हाट बजार एप सञ्चालनमा ल्याइएको हो। ‘आज पनि कृषिजन्य उत्पादनले बजार नपाएर धेरै वस्तु खेर फाल्नुपरेको अवस्था छ,’ हाट बजार एपका को–फाउन्डर द्रोणजंग श्रेष्ठ भन्छन्, ‘कोरोनाको समयमा विदेशमा बसेर काम गरिरहेको बेला फेसबुकमा तराईको किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको देखे। यसपछि यो एप बनाउने सोच पलायो।’ श्रेष्ठ व्यापारीको सामान ईकमर्सले बेच्दिने तर, एउटा गरिब किसानको सामान कसैले बिक्री नगर्ने भएकाले यो एप निर्माण गरेको बताउँछन्।
कृषिजन्य उत्पादन महंगो हुने, विदेशी र आयातित तरकारीले बजार ढाकेको अवस्थामा नेपाली उत्पादनले स्थान पाउने उत्तम स्थान पनि हाट बजार एप हो।
एपमा कुनै पनि प्रकारको बिचौलिया प्रयोग नभएकाले विक्रेताले आफ्नो सामान सोझै क्रेतालाई उचित मुल्यमा बिक्री गर्न सक्ने उनको भनाइ छ। यसले गर्दा उत्पादकको लागत मूल्य सुरक्षित हुनुका साथै क्रेताले पनि सही मुल्यमा खरिद गर्न सक्छन्। एपमा श्रेष्ठसँगै विश्वविजय खनालले पनि सहकार्य गरेका छन्। दुवै जना मिलेर एप सञ्चालन गरिरहेका छन्।
नेपालमा थोक व्यापारीहरुले विभिन्न माध्यमबाट विभिन्न ठाउँ तथा बजारमा सामग्री पुर्याएर बिक्री वितरण गर्छन्। तर, गरिब र अन्य ठाउँका पहुँच नभएका व्यक्तिको उत्पादित सामग्री भने बिक्रीमा कठिनाइ हुने गर्छ। यो अवस्थाको अन्त्य नै उनीहरुको प्रमुख उद्देश्य हो। काम गर्ने, उत्पादन गर्ने किसानले सामग्रीको प्रतिफल कम पाउने तर, अन्य बिचौलियाले बढी नाफा खाने प्रवृत्ति किसानका लागि घातक रहेको श्रेष्ठको भनाइ छ। यसको अन्त्यका लागि हाट बजार एपले निकै भूमिका खेल्ने श्रेष्ठ सुनाउँछन्।
हाट बजार एपले वास्तविक कृषक र व्यापारी तथा खरिदकर्तालाई जोड्ने काम गरेको छ। तर, यो एप ईकमर्ससँग सम्बन्धित होइन। एउटा प्लेटफर्म मात्रै हो, जसको प्रयोग किसानले तथा जोकोहीले निःशुल्क रुपमा गर्न सक्छन्। अहिलेको अवस्थामा मात्रै हेर्न हो भने पनि यस एपमा १६ हजारभन्दा बढी किसिमका कृषि उत्पादित सामग्री बिक्रीका लागि राखिएको छ। यसमा १२० मेसिनरी आइटम, २ सय गाइवस्तु र ५ सय फलफूल तथा तरकारीहरु छन्।
यस एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफैं तोकी त्यसको विवरणहरु जस्तैः फोटो, मूल्य, स्थान, सामानको गुणहरु, डेलिभरी सुविधा आदि खुलाएर राख्न सक्छन्। यसरी राखिएको सामग्री, मूल्य तथा विशेषता हेरेर ग्राहक तथा प्रयोगकर्ताले अनलाइनबाटै खरिद गर्न सक्दछन्। किसानले बिक्रीमा राखेको सामान क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर, ठिक लागेमा सिधा किसानबाटै खरिद गर्न सकिने को–फाउन्डर श्रेष्ठले जानकारी दिए।
‘आम्दानी गर्ने र नाफा कमाउने भन्दा पनि आफूले सक्ने समाजलाई केही गरौं भन्ने उद्देश्यले यो एप बनाएका हौं। सामान खरिद गर्ने र बिक्री गर्ने मानिसलाई जोड्ने काम हामीले गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘यो एप कृषकका लागि एकदम राम्रो छ। तर चलाउनुपर्छ भन्ने कृषकहरुमा जागरुकता कम देखिन्छ।’ श्रेष्ठ व्यवसायिक रुपमा कृषि पेसा अंगाल्नेहरुले पनि यस्तो प्लेटफर्मको प्रयोगका लागि ध्यान दिनुपर्ने उनी बताउँछन्।
साना तथा व्यवसायिक कृषि पेसा अंगाल्नेहरु पनि यसमा जोडिनुपर्छ भन्ने आफूहरुको चाहाना रहेको उनको भनाइ छ। यसमा कृषि विशेष, कृषि विद्यार्थीहरु हरेक मानिस आएर पोर्टफोलियोसमेत बनाउन सकिन्छ। नेपालभरी नै एन्ड्रोइड र आइओएसमा उपलब्ध हुने यो एपमार्फत् नजिक र सहज हुने ठाउँको सामग्री खरिद गर्न सकिन्छ। किसानबाट सिधै खरिद गर्दा खरिदकर्तालाई समेत सस्तो पर्छ।
कुन कृषकले के सामान बेच्न राख्यो एप प्रयोगकर्तालाई नोटिफिकेसन जान्छ। एपबाट कृषकको सामान छिटो बेच्न मद्दत गर्छ। जस्तैः जुम्लामा भएको स्याउ कसैले यस एपमा बेच्न राखेमा उक्त सूचना देशभरका हाट बजार एप प्रयोगकर्तामा पुग्ने भएकोले स्याउको उचित मूल्य पाउने तथा छिटो बिक्री हुने सम्भावना हुन्छ।
किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशुपन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामग्री र खेतीका लागि जग्गा भाडामा लिन अथवा दिन परेमा निःशुल्क यो एपमा राख्न सक्छन्।
किसानहरूले आफ्नो उत्पादन जस्तै, धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशुपन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामग्री र खेतीका लागि जग्गा भाडामा लिन अथवा दिन परेमा निःशुल्क यो एपमा राख्न सक्छन्। कृषकले बेच्न राखेका सामानहरू तुरुन्त सबै हाट बजार एप प्रयोगकर्ताहरूलाई ‘कसले के बेच्न राख्यो’ भनेर नोटिफिकेसन जान्छ।
एप प्रयोगकर्ताले आफूलाई चाहिएको सामान एपमा माग गर्न सक्छन्। यससँगै एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्छ। बिक्री भएको सामान हटाउन, बिक्रेताको प्रोफाइल बनाउन, कृषिसम्बन्धी समाचार पढ्न, भिडियोहरू हेर्न, एफएममहरू सुन्न र सामाजिक सञ्जालमा सेयर गर्न सकिनेलगायत फिचर छन्। एप प्रयोग गरेपछि बिचौलियाले कमिसन खाने समस्या हट्ने अपेक्षा लिइएको छ। उक्त एप निःशूल्क डाउनलोड गरेर चलाउन सकिन्छ।