चैत ४ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा भएसँगै त्यहाँ रात्रिकालीन व्यवसाय पनि चलमलाउन थालेको छ। डेढ वर्षदेखि काठमाडौंको ठमेल तथा दरबारमार्ग क्षेत्रमा पनि वैशाख १ देखि रात्रिकालीन सेवा चौबीसै घन्टा खुलाइने तयारी भइरहेको छ। खासगरी कोभिड समाप्तिसँगै अघोषित रुपमा सुरु भएको रात्रिकालीन व्यवसायले पयर्टकीय क्षेत्र ठमेललाई चहलपहलमय बनाएको छ। तर, रात्रिकालीन सेवा सुचारु गर्ने घोषणासँगै थप गर्नुपर्ने कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ। २०७१ मा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको पालादेखि बेलाबेला ठमेलमा रात्रिकालीन जीवन सुरु गर्नेबारे बहस हुँदै आए पनि कार्यान्वयनमा समस्या देखिँदै आएको छ।
पोखरामा आवश्यक मापदण्डका आधारमा खाना, खाजा, पानपसलदेखि किराना पसल राती मध्यरातसम्म खोल्न सकिन्छ भने सिनेमा घर, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटिपार्लर दोहोरी, डिस्को, डान्स, पपलगायतका मनोरञ्जन व्यवसाय निश्चित मापदण्ड आधारमा रातभर खोल्न सकिनेछ। यस्तै व्यवसाय दरबारमार्ग तथा ठमेल क्षेत्रमा पनि सञ्चालन हुनेछन्। रात्रिकालीन व्यवसाय सुरु भएसँगै सडक यातायात र हवाई सेवाको समेत चाप पर्ने गर्छ। पोखराबाट रात्रिकालीन हवाई उडान सुरु भइसकेको छ। देशका विभिन्न भागबाट रात्रिकालीन हवाई उडान यात्रु चापसँगै बढ्न थालेका छन्। यसले पर्यटकीय चहलपहल बढाउन पनि मद्दत गर्दछ। ठमेल कर्पोरेट हाउसदेखि युवा पुस्ताका लागि मनोरञ्जनको अखडा हो। त्यस्तै, विदेशी पर्यटकका लागि पनि ठमेल प्रख्यात छ।
मधेस प्रदेशको वीरगञ्जलाई औद्योगिक राजधानी घोषणा गर्नुपर्ने माग हुँदै आएको छ। त्यस्तै, भैरहवा–बुटवल खण्ड पनि व्यावसायिक हिसावले प्रतिस्पर्धी रहँदै आएको छ। ललितपुरकै झम्सीखेल क्षेत्र रात्रिकालीन समयमा झुम्ने गर्छ। सौराहा र धरान क्षेत्र पनि पर्यटकीय हिसाबले निकै रोमाञ्चक छन्। त्यस हिसाबले रात्रिकालीन सेवा जहाँ–जहाँ आवश्यक ठानिन्छ र पर्यटक प्रवर्द्धनमा मद्दत मिल्छ, त्यस्ता क्षेत्रलाई खुला गर्दै जानुपर्छ।
रात्रिकालीन व्यवसाय सुरु गर्न सम्बन्धित निकायले अनुमति दिए पनि सुरक्षा निकायको बोली र व्यवहार फरक छ। रात्रिकालीन व्यवसाय सुरु गरिएको भने पनि सुरक्षा निकाय साँझ नपर्दै लठ्ठी बजार्दै ग्राहक र व्यवसायीलाई विभिन्न ढंगले दुःख दिने गर्छन्। रात्रिकालीन सेवा सुरु भएको घोषणापछि पनि दुःख दिइरहेका छन्। यस्तो प्रवृत्तिमा तत्काल सुधार हुनुपर्दछ। रात्रिकालीन सेवा के हो, सुरक्षा निकायले कसरी सुरक्षा समन्वय मिलाउने र जनस्तरमा सुरक्षानुभूति गराउनेबारे सरोकारवाला निकायले तालिम÷प्रशिक्षण दिएर व्यावहारिक बन्न सिकाउनुपर्छ।
कतिपय अवस्थामा सुरक्षा निकाय र प्रशासन, क्षेत्रगत÷टोले गुन्डाले रात्रिकालीन व्यवसायलाई ‘कमाउने भाँडो’ बनाउँदै आएका छन्। यसबाट व्यवसायी मात्र नभएर ग्राहकसमेत प्रताडित हुँदै आएका छन्। त्यसैले मुलुकको अर्थतन्त्र उकास्न रात्रिकालीन व्यवसाय पनि अभिन्न अंग हो भन्ठानेर सुरक्षा संयन्त्र परिचालित हुनुपर्छ।
रात्रिकालीन व्यवसाय मात्र खुला गरेर पुग्दैन, त्यससँगै प्रशासनिक संरचना र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्दै जानुपर्छ। रात्रिकालीन व्यवसाय सुरु भएसँगै आन्तरिक सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुपर्ने आवश्यकता छ। ध्वनि प्रदूषण नियन्त्रण र ‘स्मोकिङ जोन’ छुट्याउन निश्चित मापदण्ड लागू गर्नुपर्छ। सुरक्षा व्यवस्थाका लागि २४सै घन्टा निगरानी गर्ने सिसीक्यामेरा जडान गरिनु आवश्यक छ। रात्रिकालीन व्यवसाय सञ्चालन हुने क्षेत्रमा व्यवस्थित र रचनात्मक पर्यटन सेवा दिन सुरक्षासहितको आचारसंहिता लागू गर्नुपर्छ।
चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उल्लेख छ। त्यस्तै, सरकारले पर्यटनमा प्रवर्द्धन गर्न सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ र सन् २०२३ देखि २०३२ सम्म पर्यटन दशकका रुपमा मनाउने घोषणा गरेको छ। यस अवधिमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा रहँदै आएको छ। त्यसैले रात्रिकालीन सेवाक्षेत्रमा देखिएका सैद्धान्तिक समस्या समाधानका साथै व्यावहारिक पक्षलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गर्नु अहिलेको आवश्यकता हो।
यसले मन्दीमा रहेको अर्थतन्त्र चलायमान बनाउन थोरै भए पनि सहयोग पुर्याउन सक्छ। रात्रिसेवा सञ्चालनले थोरै भए पनि अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्छ। आवश्यक सुरक्षा सावधानी अपनाई रात्रिकालीन व्यवसायमा उत्साह बढे रोजगार सिर्जनाका आधार तयार हुन्छन् र स्वाभाविक रुपमा राज्यको राजस्वसमेत वृद्धि हुन गई अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्दछ।