काठमाडौं। नेपालमा पहिलो पटक निजी क्षेत्रको तर्फबाट नेपाल व्यवस्थापन संघ (म्यान)ले चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धि प्रक्षेपण गरेको छ। सरकारले चालू वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरिसकेको अवस्थामा म्यानले भने ३.०९ प्रतिशतमात्रै गरेको हो।
आइतबार आयोजित ‘आर्थिक वर्ष २०८१÷८२ को प्रि–बजेट छलफल’ कार्यक्रममा देशको वर्तमान अवस्थाबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्षमा देशको कुल ग्राहस्थ उत्पादन (जिडीपी) ३.०९ प्रतिशतले बढ्ने उल्लेख छ। म्यानको अध्ययन प्रतिवेदनअनुसार चालू वर्षमा कृषि क्षेत्रको २.८९ प्रतिशत, उद्योग क्षेत्रको ०.९४ प्रतिशत र सेवा क्षेत्रको ४.०९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। यी क्षेत्रले अर्थतन्त्रमा पु¥याउने योगदानमा भने कृषि क्षेत्रले २४.३२ प्रतिशत, उद्योग क्षेत्रले १२.५६ प्रतिशत र सेवा क्षेत्रले ६३.१२ प्रतिशत अर्थतन्त्रमा योगदान पु¥याउने म्यानको अनुमान छ।
म्यानले राष्ट्रिय तथ्यांक विभाग, राष्ट्रिय लेखा पद्धतिका सिद्धान्त मार्गनिर्देशन र सरकारी तथा गैरसरकारी निकायबाट चालू वर्षको ८ महिनासम्मको तथ्यांकमा आधारित रहेर अध्ययन प्रतिवेदन तयार गरेको हो। निर्माण र उत्पादन उद्योगको आर्थिक वृद्धि नकारात्मक हुँदा आवास र भोजन सेवाको सबैभन्दा धेरै म्यानले गरेको अध्ययनमा चालू वर्ष औद्योगिक क्षेत्रतर्फ उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको वृद्धि नकारात्मक हुने अनुमान गरेको छ। म्यानले चालू वर्ष उत्पादन मूलक उद्योगको आर्थिक वृद्धिदर १.४९ प्रतिशत र निर्माण क्षेत्रको २.५१ प्रतिशतले नकारात्मक हुने अनुमान गरेको छ।
चालू वर्ष आवास तथा भोजन सेवा क्षेत्रको आर्थिक वृद्धि सबैभन्दा धेरै १९.६० प्रतिशत हुने प्रक्षेपण म्यानको छ। साथै, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनको आर्थिक वृद्धि १६.३१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। म्यानले वित्तीय तथा बिमा क्रियाकलापको ७.३३ प्रतिशत, घरजग्गा कारोबार २.८७ प्रतिशत, कृषि, वन तथा मत्स्यपालनको २.८९ प्रतिशत, खानी तथा उत्खनन्को १.९२ प्रतिशत, सूचना तथा सञ्चारको ३.७८ प्रतिशत र शिक्षाको ३.७० प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ।
आर्थिक वृद्धिदर सुधारमा म्यानको सुझाव
म्यानले नेपालको आर्थिक वृद्धिदर आन्तरिक व्यवस्थापन राम्रो नभएका कारण उच्च वृद्धिदर हासिल हुन नसकेको औंल्याएको छ। दक्षिण एसियाली देशहरुमा कोभिडपछि माल्दिभ्स, भारत र बंगलादेशले उच्च आर्थिक वृद्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै म्यानले नेपालको आर्थिक वृद्धि पाकिस्तानको भन्दा खस्किएको तथ्यांक सार्वजनिक गरेको छ।
म्यानको अध्ययन प्रतिवेदनअनुसार उच्च आर्थिक वृद्धिदर हासिल गर्न नेपालले समयमै विश्वसनीय र भरपर्दोे तथ्यांकमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। लगातार २ वर्षको निर्माण क्षेत्रको ऋणात्मक आर्थिक वृद्धिदर सही दिशामा अघि बढाउन तीनै तहका सरकारले पुँजीगत खर्च बढाउन पर्ने हुन्छ। पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान र एकातर्फ सरकारको राजस्व वृद्धि हुनेछ भने अर्कोतर्फ निर्माण सामग्रीको माग बढ्ने छ। जसको फलस्वरूप पछिल्ला २ वर्ष लगातार ऋणात्मक रहेको उत्पादनमूलक उद्योगको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पर्ने छ।
अर्थतन्त्रको संरचनागत सुधार गर्न उद्योग क्षेत्रको योगदान बढाउन निजी तथा सरकारी क्षेत्रबाट लगानी बढाउनुका साथै विदेशी लगानी समेत आकर्षण गर्न जरुरी छ। आवधिक योजनामा आर्थिक वृद्धिदरको लक्ष्य यथार्थ भन्दा धरै माथि रहेको देखिन्छ। लक्षित आन्तरिक तथा बाह्य ऋण एवं राजस्वका अनुमान समेत यथार्थपरक छैनन्। विगतका अनुभवबाट सिक्दै अब बन्ने आवधिक योजना तथा वार्षिक योजनामा समेत प्राप्त गर्न सकिने आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गर्न आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ।