काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नताको दाबी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले चार दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्।
यसअघि आज बिहान १० बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा भएकाले सारिएको थियो।
प्रधानमन्त्री आज बिहान १० बजेपछि काठमाडौं आउने भएपछि सिंहदबारमा २ बजेका लागि सभामुखले बैठक बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।
सभामुखले संसद् बैठकको गाँठो फुकाउन प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई एकै ठाउँ राखेर छलफल गर्नेछन्।
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान एवं समेत गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ।
कांग्रेसले सत्ता गठबन्धन दल र विशेषगरी प्रधानमन्त्रीले लामिछानेको सहकारी ठगी प्रकरणलाई ढाकछोप गरेकाले संसदीय छानबिन समिति गठन नगरे संसद बैठक अवरुद्ध गर्ने जनाउ दिइसकेको छ।
यसअघि संसद् अवरोध खुलाउन सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिसकेका छन्।सभामुखले बोलाएको मुख्य सचेतकसँगको बैठकमा पनि कांग्रेसले गृहमन्त्री लामिछानेले संसद्को रोस्ट्रम प्रयोग नगर्ने भए मात्रै बैठक चल्न दिइने जानकारी गराएको थियो।
चैत १७ मा सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग सदनको आगामी कार्यतालिकाबारे परामर्श गरेका थिए।
कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले गृहमन्त्रीका विषयमा उठेको प्रश्नमा छानबिन समिति गठन नभएसम्म सदन कसरी लैजाने भन्ने निर्णय सत्तापक्षकै हुने बताइन्।
सदनको कार्यतालिका कार्यान्वयन सरकार र गठबन्धनबाटै प्रभावित भएकाले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीबारे उठिरहेका प्िरश्नको जवाफ संसदीय छानबिन समितिबाटै छिनोफानो हुनुपर्ने उनको भनाइ छ।
एमाले प्रमुख सचेतक महेश बर्ताैलाले चैत १७ देखि अवरुद्ध हुँदै आएको संसद् बैठकलाई सहमतिमा अगाडि बढाउन सभामुखले सबै दलका प्रमुख सचेतक र सचेतकलाई आग्रह गरेको जानकारी दिए। उनले भने, ‘चैत २७ देखि बस्ने संसद् बैठकमा कांग्रेसको उठाएको विषयबारे छलफल हुने भए पनि संसदीय छानबिन समिति गठन आवश्यक नभएको उनले बताए।
प्रतिपक्ष रचनात्मक ढंगबाट बढे संसद् चल्ने र सरकारलाई बिजनेस दिन दबाब सिर्जना हुने हुँदा गृहमन्त्रीको विषयलाई लिएर बैठक गर्नु कांग्रेसका लागि अहितकर हुने उनको भनाइ छ।
एमालेले प्रमुख प्रतिपक्षबाट उठाइएको मुद्दा पूर्वाग्रह प्रेरित भएको दाबी गर्दै आएको छ। कांग्रेसले आफ्नै पार्टीका सभापति एवं गृहमन्त्री सहकारी ठगीमा मुछिएको भनिएको घटनालाई राजनीतिक रङ दिएको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लगाए।
गृहमन्त्रीबारे उठाइएको विषयमा प्रधानमन्त्रीबाट जवाफ भइसकेको तथा सबैतिरबाट प्रतिवेदन आएकाले कांग्रेसले संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने उनले दाबी गरे।
नेकपा माओवादी केन्द्रका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले कार्यतालिअनुसार संसद्लाई अघि बढाउन सभामुखबाट भइरहेको पहल सकारात्मक हुने बताए। उनले प्रतिपक्षी कांग्रेसले गृहमन्त्रीमाथि लगाएको आरोप सम्बन्धमा छलफल गर्न सबभन्दा पहिले संसद् खुला हुनुपर्ने धारणा व्यक्त गरे।
मंगलबार बस्ने संसद् बैठकको कार्यसूची रहेकाले सभापति देउवा बूढानीलकण्ठमा आगामी रणनीतिबारे छलफल गरेका छन्।छलफलमा संसद् बैठकलाई प्रभावकारी बनाउने र सत्ताको आडमा सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीलगायत जोसुकैमाथि छानबिन हुनुपर्ने पार्टीको अडानलाई संसद् बैठकमा प्रस्तुत गर्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
कांग्रेसको अडान कायमै
यसैबीच आज बसेको कांग्रेस पदाधिकारी बैठकले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति देउवा निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानसहित संसद्मा प्रस्तुत हुने बताएको हो।
‘सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हाम्रो पहिलेदेखिकै बटमलाइन हो। यस प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्छ’, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने। सभापति देउवाले यसबारे थप छलफल गर्न मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको उनले जानकारी दिए।