नगरकोट पर्यटन र पर्यटकका लागि परिचित गन्तव्य हो। हरियाली वातावरणमा रम्दै सूर्याेदयलाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रुपमा ‘नगरकोट’ परिचित छ। काठमाडौंको कोलाहलबाट केही समय आफूलाई टाढा राख्न र छोटो समयको बिदा मनाउन निस्कनेको रोजाइमा पर्छ, नगरकोट।
अझ काठमाडौंमा रहेका कर्पोरेट हाउसहरूको कर्पोरेट इभेन्टदेखि विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ–संस्थाको सेमिनार र बैठक बसाउने थलोको रुपमा समेत नगरकोट छानिँदै आएको छ।
राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्व र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा रहेको नगरकोटमा गर्मी मौसममा चिसो वातावरण पाइन्छ। नगरकोटबाट मौसम सफा भएका बेला उत्तरमा मनमोहक हिमाली चुचुराका साथै विश्वको सर्वाेच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ।
समुद्र सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटबाट धौलागिरिदेखि कञ्चनजंघा हिमशृंखलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ।
होटल क्षेत्रका लगानीकर्ताको मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको नगरकोटमा हालसम्म ५० अर्ब बढी लगानी भइसकेको छ। नगरकोट क्षेत्रमा अहिले ८० देखि ८५ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन् भने दर्जन बढी होटल तथा रिसोर्ट पाइपलाइनमा रहेका छन्।
होटल क्षेत्रका लगानीकर्ताको मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको नगरकोटमा हालसम्म ५० अर्ब बढी लगानी भइसकेको छ। नगरकोट क्षेत्रमा अहिले ८० देखि ८५ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन् भने दर्जन बढी होटल तथा रिसोर्ट पाइपलाइनमा रहेका छन्।
नगरकोट भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्छ। पर्यटकीय स्थल नगरकोट काभ्रे र भक्तपुरको दोसाँधमा छ। दुई जिल्लाको पानीढलोको रुपमा नगरकोट रहेको छ। नगरकोटलाई काठमाडौं जिल्लाको सिमानासँग समेत जोडिएको छ। साँखु हुँदै नगरकोट पुग्न सकिन्छ।
निजी क्षेत्रले विकास गरेको नगरकोट
अहिले नगरकोट क्षेत्रका अधिकाशं ठाउँमा सुविधासम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा छन्। सस्तोदेखि महँगा होटलको संगमको रुपमा नगरकोट क्षेत्र विकास भइरहेको छ। होटल क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको नगरकोटमा हालसम्म ५० अर्ब बढी लगानी भइसकेको नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष एवं भंगेरी दरबार होटल सञ्चालक नवीन गुरुङ बताउँछन्। नगरकोट क्षेत्रमा अहिले ८० देखि ८५ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा रहेका र एक दर्जन बढी होटल तथा रिसोर्ट पाइपलाइनमा रहेको उनको भनाइ छ।
‘निजी क्षेत्रले चाहे तत्कालै जुनसुकै ठाउँमा विकास गर्न सकिन्छ भन्ने गतिलो उदाहरण नगरकोटलाई लिन सकिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘सरकारको साथबिनै निजी क्षेत्रले नगरकोटको विकास गरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्न सफल भएका छौं।’
दोस्रो जनआन्दोलनअघिसम्म छिटफुट मात्र होटल थिए, नगरकोटमा। दिउँसो घुम्न आउने र काठमाडौंका होटलबाट पर्यटकलाई सूर्यादयको दृश्यावलोकन गराउन ल्याउनेलाई लक्षित गरी चिया पसल सञ्चालनमा रहे पनि ठूला होटल बनिसकेका थिएनन्। जब द्वन्द्वकाल सकियो र मुलुक २०६२/६३ को आन्दोलनपछि शान्ति प्रक्रियामा गएपछि लगानीकर्ताको आँखा नगरकोटमा परेको देखियो।
नगरकोटबाट काठमाडौं उपत्यकालाई नियाल्नुका साथै हिमाल छर्लंग देखिन सकिने भएकाले धेरै पर्यटन व्यवसायीले लगानी बढाएका थिए। स्थानीय दाबा तामाङका अनुसार ०६२/६३ सम्म मुख्य सडकमा रोपनीकै ५० लाख र भित्री सडकमा ४÷५ लाखमा जग्गा पाइन्थ्यो। अहिले मुख्य बजारमा आनाकै ५० देखि ६० लाखसम्म पर्छ।
व्यवसायीले नगरकोटमा होटल तथा रिसोर्ट निर्माणका लागि ६ देखि ७ अर्ब बराबरको जग्गा लिएका छन्। होटलमा लगानी मात्र ५० देखि ६० अर्ब रुपैयाँ बढी भइसकेको छ। अहिले लगानी थपिने क्रम जारी रहेको उनी बताउँछन्। अहिले निर्माण भएका नयाँ होटलमा कम्तीमा १ अर्ब लगानी भएकै हुन्छ। यस अर्थमा पनि जग्गासहित लगानी करिब १ खर्ब हाराहारी पुगेको छ।
२०२८/२९ बाटै पुग्थे विदेशी पर्यटक
नाल्दुम पर्यटन विकास समितिका पूर्वअध्यक्ष इन्द्र तामाङका अनुसार नगरकोट क्षेत्र घुम्न विदेशीहरू पुगेको ३५÷३६ वर्ष भइसकेको छ। खासगरी काठमाडौं आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले बिहानै सूर्योदय दृश्यावलोकनका लागि नगरकोट पु¥याउने गरेका थिए। ती पर्यटकलाई काठमाडौंमै रहेका होटलबाट बिहानको ब्रेकफास्टसमेत लिएर आउने चलन थियो। तर, अहिले परिस्थिति बदलिएको उनको भनाइ छ। नगरकोटमै पर्यटक लक्षित सेवा–सुविधा पाइन थालेका छन्।
नगरकोट क्षेत्रको सबैभन्दा पुरानो होटल भने तारागाउँ रिसोर्ट हो। सरकारी स्वामित्वमा सञ्चालित रिसोर्टले स्वदेशी एवं विदेशी पर्यटकलाई विस्तारै नगरकोट क्षेत्रमा बसोबासका लागि पु¥याएको थियो। नगरकोट क्षेत्रमा सञ्चालन भएका पुराना होटलमा कन्ट्री भिल्ला, द फोर्ड, चौतारी र भ्यू पोइन्ट हो। तीमध्ये भ्यू पोइन्ट होटल र नगरकोट कटेज बन्द भइसकेका छन्।
होटल तथा रिसोर्ट थपिँदै गए पनि हालसम्म यो क्षेत्रमा खानेपानी समस्या नरहेको व्यवसायीको भनाइ छ। पानी व्यवस्थापन चाँगुनारायण र मण्डनपुर नगरपालिकामा रहेको कुस्मी सामुदायिक वनबाट गरिँदै आएको छ।
तारे होटलको लर्को
पछिल्लो समय नगरकोटमा तारे होटल तथा रिसोर्ट प्रतिस्पर्धात्मक रुपमा खुल्न थालेका छन्। दुई वर्षअघि सञ्चालनमा आएको काव्या रिसोर्टले पाँचतारेको मान्यताका लागि पर्यटन विभागमा निवेदन दिइसकेको छ। यस्तै, सञ्चालनमै रहेको होटल मिस्टिक माउन्टेन चारतारे हो।
सोल्टी होटेल्स तथा रिसोर्टको व्यवस्थापनमा सञ्चालनमा आएको तायो इकोरिसोर्ट नगरकोट रिसोर्ट सोल्टी वेस्टेन्ड रिसोट्र्स नगरकोटको नाम तथा ब्रान्डमा सञ्चालनमा आएको छ। यो तीनतारे स्तरको रिसोर्ट हो। अहिले नगरकोटमा मात्रै तारे होटलको संख्या ३ दर्जन बढी पुगेको छ।
नगरकोटको नामकरण
विकीपिडियाका अनुसार प्राचीन समय यहाँ एक जना मानिस आफ्नो कुनै कार्य गर्न लाग्दा आफूले लगाइराखेको कोट फुकालेर राखेको हेरिरहेका अन्य मानिसलाई ‘नचलाकोट’ भन्दै काम सुरु गरेका थिए। उनै मानिसले नचलाकोट भनेका आधारबाट नगरकोट नाम रहन गएको स्थानीय बूढापाका बताउँछन्। कालान्तरमा नचलाकोटबाट अपभ्रंश भई नगरकोट भएको जनश्रुति छ। नेपालको पश्चिम भागमा तामाङ मगर बस्ती रहेको डाँडाको अति चुच्चो भागलाई कोट भन्ने चलन छ। यस भेगमा पनि तामाङ समुदायको बसोबास धेरै रहेको र नगर क्षेत्रबाट यो गाउँ अग्लो भएको हुँदा यसलाई नगरकोट भन्ने गरेको पाइन्छ। नगरकोट दुई भिन्न शब्द मिलर नगरकोट शब्द बनेको हो। त्यस शब्दलाई टुत्र्mयाएर हेर्दा पनि नगरको अर्थ सहर र कोटको अर्थ अग्लो भाग बुझिन्छ।
यस्तै, अर्को जनश्रुतिअनुसार १८०१ मा नगरकोट विजयपछि नगरकोटको नियन्त्रण पृथ्वीनारायण शाहले भक्तपुरका राजा(उनका मितबा) लाई सुम्पिएपछि नगरकोटलाई कोतको रुपमा विकास गरिएको र नगरको कोतका रुपमा रहेकाले नगरकोट नाम रहेको भन्ने कथन छ।
सरकारको साथ छैन
नगरकोटले निजी क्षेत्रको लगानीकै कारण स्वदेश एवं विदेशमा प्रख्याति कमाएको हो। भक्तपुरबाट नगरकोट जोड्ने सडक लामो समयदेखि निर्माण चलिरहे पनि अहिलेसम्म पूर्ण रुपमा कालोपत्रे भइसकेको छैन। धुलाम्य सडकका कारण यहाँ आउने पर्यटक नमीठो मान्छन्।
जीपलाइन अर्को आकर्षण
नगरकोटमा पुग्ने पर्यटकलाई एडभेन्चर प्रडक्टको रुपमा नेपालकै सबैभन्दा लामो जीपलाइन सुरु भएको छ। चाँगुनारायण–७ को हवेलीमा सञ्चालित जीपलाइन १ हजार ९५० मिटर लामो रहेको छ।
जीपलाइन चढ्न एक जनाले ४ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। हाल एक जनाले मात्र खेल्न मिल्ने खाले बनाइएको छ। केही समयभित्रै एकैसाथ दुई जनाले खेल्न मिल्ने बनाउन लागिएको सञ्चालक केदार थापा बताउँछन्।
सुरुआती शुल्क ४ हजार ५ सय तोकिए पनि केही समयपछि मूल्यमा थपघट हुन सक्ने उनको भनाइ छ। विदेशीका लागि प्रतिव्यक्ति ५० अमेरिकी डलर शुल्क तोकिएको छ।
साइकल यात्रा
नेपाल घुमफिरमा आएका केही पर्यटकले काठमाडौंदेखि नगरकोटसम्म साइकलमै साहसिक यात्रा गर्दै आएका छन्। बाटो उकालो र गाह्रो भए पनि पर्यटकको रोजाइमा साइकल यात्रा परेको पाइएको छ।
पदयात्रा
पदयात्रा गरेर नगरकोट भित्रिने पर्यटक धेरै छन्। मुख्यतया नगरकोट भित्रिने पदयात्रा मार्गमा भक्तपुर–चाँगुनारायण–नगरकोट मार्ग, सुन्दरीजल–साँखु–नगरकोट मार्ग र खरिपाटी–तेलकोट–नगरकोट पद मार्ग प्रख्यात छ।
नेपाली ग्रामीण जीवनशैली
पृथ्वीनारायण शाहको सेनाले पर्शुराम थापाको नेतृत्वमा विसं १८०१ असोजमा नाल्दुम महादेवपोखरी(हालको नगरकोट) माथि विजय प्राप्त गरी यसलाई भक्तपुरलाई हस्तान्तरण गरिएको इतिहासमा उल्लेख छ। नगरको कोतलाई यहाँ सारेको र लामो समयसम्म नगरको कोत रहेकाले यसको नाम नगरकोट रहेको अड्कल काटिन्छ।
यहाँ राणाकालीन दरबार पनि छन्।यो राणा शासकको मनोरञ्ज तथा समय बहलाउने स्थल थियो। यहाँ रहेका पुतली दरबार, भंगेरी दरबार अहिलेसम्म पनि प्रख्यात छन्। तर, सबै दरबार २०१८ मा नेपाली सेनाको नगरकोट स्थानान्तरण भएपछि सेनाको अधीनमा पुगे। अहिले जीर्ण रहेका दरबारलाई भत्काएर नयाँ बनाउने काम भइरहेको छ।
अरनिको राजमार्ग खुल्नुपूर्व नगरकोट काठमाडौं उपत्यका पूर्वी जिल्ला जोड्ने प्रसिद्ध नाकाको रुपमा रहेको थियो। दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोकका साथै गोसाइँकुण्ड जाने सजिलो बाटोको रुपमा नगरकोटलाई लिने गरिएको थियो। अहिले पनि यसलाई हेलम्बु राजमार्गको वैकल्पिक रुपमा प्रयोग गरिँदै आइएको छ। यो क्षेत्रलाई ग्रामीण जीवनशैली र बहुधार्मिक एवं बहुभाषिक केन्द्रका रुपमा पनि लिँदा फरक पर्दैन। यहाँ बसोबास गर्ने मुख्य जातिमा तामाङ, गुरुङ र बाहुन, क्षेत्री छन्। यिनमा धार्मिक, भाषिक र सांस्कृतिक विविधता छ। नगरकोट धार्मिक, भाषिक र सांस्कृतिक सहअस्तित्वको नमुना पनि बन्दै आएको छ।
कसरी पुग्ने नगरकोट
नगरकोट पुग्न सजिलो तरिकाका रुपमा मोटर यात्रालाई लिन सकिन्छ। नगरकोट काठमाडौंबाट ३२ किलोमिटर दूरी र भक्तपुरबाट २० किलोमिटरको दूरीमा रहेको छ। भक्तपुरबाट नगरकोटका लागि एकाध घन्टामै बस छुट्ने गर्छन्।
क्लब हिमालयको प्रवेशपछि बदलियो नगरकोट
नगरकोट भन्नेबित्तिकै क्लब हिमालयको नाम आइहाल्छ। यी दुई नाम त्यहाँका लागि पर्याय नै भइसकेका छन्। आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटलाई ‘नगरकोट’का रुपमा विस्तार गर्ने मुख्य भूमिका क्लब हिमालयको रहेको छ।
काठमाडौंभित्र काठमाडौं गेस्ट हाउस र एम्बास्डर होटल सञ्चालन गर्दै आएका योगेन्द्र शाक्य परिवारले २६ वर्षअघि नगरकोटमा टी हाउस सञ्चालन गरेका थिए। त्यतिबेला त्यहाँ चारतारे होटल बनाउनु चानचुने चुनौती थिएन। यसको कारणमा त्यहाँ बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुकै थियो।
तर, ती चुनौती पार लगाउँदै शाक्यले होटल निर्माण गरिछाडे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो। अहिले नगरकोटमा सुविधासम्म होटल तथा रिसोर्ट सञ्चालन भइरहेका छन्। अर्बौं रुपैयाँ लगानी भित्रिएको छ। एस होटल समूहद्वारा सञ्चालन तथा व्यवस्थापनका साथ अघि बढेको क्लब हिमालयलाई नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो ‘गेट’का रुपमा लिने गरिन्छ।
१९८९ मा ४२ हजार रोपनीमा जग्गा
होटल निर्माणका लागि शाक्यसहितको समूहले सन १९८९ मै जग्गा खरिद गरेको थियो। ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी ४२ हजार रुपैयाँ तिरेका थिए। शाक्य सम्झन्छन, ‘त्यो बेला हामीले ४२ हजार प्रतिआना किन्दा त्यहाँका मान्छे हामीलाई पैसा धेरै भएर यता आएछन् भन्थे। किनभने, त्यतिबेला त्यस वरपर १ हजारदेखि १० हजारसम्ममा एक रोपनी जग्गा पाइन्थ्यो।’
नगरकोटका स्थानीयो आयस्रोत भनेकै जंगलमा गएर दाउरा खोज्ने र भक्तपुरमा लगेर बेच्ने थियो। अहिले त्यहाँका मानिसको आर्थिक अवस्था पर्यटनकै कारण उथलपुथल भएको छ। जग्गा मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकासले काँचुली फेरेको छ। सबैको रोजाइमा नगरकोट परिसकेको छ।
‘म अहिले पनि दाबी गर्छु, क्लब हिमालय प्रवेश नगरेको भए नगरकोट अहिलेसम्म सेनाको कब्जामै हुन्थ्यो। पर्यटकीय गन्तव्य बन्न पाउँदैन थियो’, सञ्चालक शाक्यले भने। उनले सेनासँगको विवादका कारण १९८९ मा जग्गा किने पनि तत्कालै होटल निर्माण गर्न भने पाएनन्। जग्गा किनेको तीन वर्षसम्म सेनासँग विवाद रहेको उनी स्मरण गर्छन्।
उनको जग्गा पनि सैनिक ब्यारेक आसपास रहेकाले केही महिनादेखि समस्यामा परिरहे। सेनाले त्यो बेला सिंगै नगरकोटमा गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासे डाँडादेखि महाँकाल डाँडा सुटिङ अभ्यास रेन्जका रुपमा प्रयोग गरेको थियो। यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मात्र नभएर बतासे डाँडामा रिसोर्ट स्थापना तथा सञ्चालनमा ल्याउन सहज थिएन।
सेनाले अहिले होटल भएको ठाउँ (बतासे डाँडा)बाट महाँकालमा तीर हान्ने तालिम गर्ने ठाउँका रुपमा विकास गर्ने तयारी गरेपछि होटल निर्माण अन्योलमा परेको थियो। बतासे डाँडामा तगारो सारिसकेको हुँदा निकै समस्या भएको थियो। नगरकोट पर्यटकका लागि प्रयोग हुने अवस्थै थिएन।
तर, क्लब हिमालयमा विदेशी र दरबारका ज्वाइँसमेतको साझेदारी रहेकाले होटल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ।
विदेशी साझेदारीका रुपमा नेपाल हङकङ जोइन्ट भेन्चर थियो भने अर्का साझेदार कुमार खड्गविक्रम शाह थिए। शाह राजाका ज्वाइँ र विदेशी साझेदारी पनि भएकाले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने भएकाले पनि त्यो बेलाको सरकारले होटल निर्माणका लागि सहज बनाएको शाक्यको बुझाइ छ। जग्गा खरिद गरेको करिब ६ वर्षपछि मात्र होटल उद्घाटन गरिएको थियो। उनका दुवै साझेदार माओवादी द्वन्द्वपछि बाहिरिइसकेका छन।
तीन वर्ष टी हाउस, त्यसपछि होटल
अहिले जहाँ क्लब हिमालय छ, त्यहाँ सुरुमा शाक्य समूहले १९९३ मा टी हाउस सञ्चालनमा ल्याएको थियो। जग्गा किनेर त्यत्तिकै राख्नुभन्दा केही न केही गरौं भन्ने सोच राखेर टी हाउस सञ्चालनमा ल्याइएको उनले बताए।
जग्गा विवादले होटल सञ्चालन गर्न तत्कालै नमिल्ने र अन्योल छाएपछि टी हाउसलाई पहिलो इन्ट्रीको माध्यम बनाएको थियो। यसले नगरकोट जाने पर्यटकलाई खाजा र खानाका लागि सहज बनाएको थियो।
क्यापिटल बिजनेस म्यागजिनको चैत अंकबाट