काठमाडौं। विभिन्न देशका व्यापारीहरुले आफ्नै देशको मुद्रामा मात्र निर्यात कारोबार गर्न थालेका छन्। त्यसको सिधा असर नेपाली आयातकर्तालाई परेको छ। नेपाल राष्ट्र बैंकले एक पटकमा ५० हजार अमेरिकी डलर बराबरको प्रतीत पत्र (एलसी) खोल्न पाउने व्यवस्था गरेको छ। भारतबाट सामान आयात गर्दा भारतीय मुद्रा (भारु)मा एलसी खोल्न मिल्ने व्यवस्था छ।
तर, भारत बाहेकका मुलुकमा एलसी खोल्दा भने अमेरिकी डलर मात्रै उल्लेख भएका कारण समस्या आएको हो। राष्ट्र बैंकको निर्देशनमा सम्बन्धित देशको मुद्रा भन्ने उल्लेख नहुँदासम्म नेपाली व्यवसायीहरु र बैंकरहरुले सामान आयात गर्ने मुलुकको मुद्रामा एलसी खोल्न सकेका छैनन्।
यसरी सामान आयात गर्ने देशको मुद्रामा एलसी नखोली अमेरिकी डलरमै एलसी खोलेको स्थितिमा कतिपय मुलुकबाट त्यस्तै एलसी अस्वीकार हुन थालेको व्यवसायीले बताएका छन्। नेपालमा उद्योगी, व्यवसायी/व्यापारीले अधिकांश कच्चापदार्थ तथा तयारी वस्तु भारत र चीनबाट आयात गर्छन्।
त्यसरी आयात गरिने वस्तुको भुक्तानी बैंकमार्फत हुने गर्दछ। तर, अन्य मुलुकबाट आयात भएको हकमा अमेरिकी डलर प्रयोग गरिए पनि कतिपय मुलुकले आफ्नै मुद्रा मात्र प्रयोग गर्न स्थानीय व्यवसायी तथा सरोकारवालाहरुलाई निर्देशन दिएको असर नेपाली आयातकर्तामा पनि देखिएको हो। खासगरी रुस–युक्रेन युद्धपछि रुसले आफ्नो देशबाट सामान खरिद गर्दा रुसी मुद्रा मात्र प्रयोग गर्न भनेको थियो। त्यसपछि अन्य मुलुकहरुले पनि आफ्नै देशको मुद्रा प्रयोग गर्न थालेका छन्।
नेपाली बैंकले खोलेको एलसीमा सम्बन्धित देशका बैंकको जमानत चाहिन्छ। जमानत स्वीकार गर्दा नै त्यहाँको बैंकले त्यही देशको मुद्रामा मात्रै जमानत बस्न थालेको छ। यता नेपाली बैंकहरुले भने राष्ट्र बैंकको निर्देशनमा अमेरिकी डलर मात्रै उल्लेख भएको भन्दै अन्य मुद्रामा एलसी खोलेका छैनन्। उनीहरु राष्ट्र बैंकको निर्देशनमै कुन देशको मुद्रा हो सोहीअनुसारको व्यहोरा खुल्नुपर्ने बताउँछन्।
नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष त्रिभुवनधर तुलाधरका अनुसार पछिल्लो समय चीन, जापान, हङकङलगायत केही देशले अमेरिकी डरलको भुक्तानीलाई अस्वीकार गरिरहेका छन्। ‘ती देशहरुले त्यहाँकै स्थानीय मुद्रामा भुक्तानी खोजेका छन्,’ उपाध्यक्ष तुलाधरले क्यापिटल नेपालसँग भने, ‘तर यहाँका बैंकले डलरमा मात्रै एलसी खोल्ने हुँदा अहिले सामान आयात गर्न समस्या हुन थालेको छ।’ राष्ट्र बैंकले भारु र अमेरिकी डलरबाहेक अन्य देशको मुद्रामा एलसी खोल्ने विषयमा मौन बसेकै कारण एलसी खोल्न समस्या भएको र त्यसले पनि आयात प्रभावित भएको तुलाधरको भनाइ छ।
नबिल बैंकका डेपुटी कार्यकारी अधिकृत मनोज ज्ञवाली राष्ट्र बैंकले भारु र डलरबाहेक अन्य देशको परिवत्र्य विदेशी मुद्राको सन्र्दभमा केही नबोलकै कारण डलरमा मात्रै एलसी खोल्ने गरिएको बताउँछन्। ‘नबिलले डलरबाहेक अन्य मुद्रामा एलसीको कारोबार गरेका छैन,’ ज्ञवालीले भने, ‘डलरबाहेक अन्य मुद्रामा एलसी खोल्दा अन्य मुद्रा सटहीलगायत विभिन्न समस्या आउने हुँदा नबिलले डलरमै एलसी खोल्ने गरेको हो।’
तर, एभरेष्ट बैंकले भने भारु र अमेरिकी डलरबाहेक पनि व्यापारीको आवश्यकताअनुसार एलसी खोल्ने गरेको छ। एभरेष्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङ राष्ट्र बैंकले डलरबाहेक अन्य देशको स्थानीय मुद्रामा एलसी खोल्न नपाउने उल्लेख नगरेकाले व्यापारीको आवश्यकताअनुसार एलसी खोलिने बताउँछन्। ‘अहिले चीन र अन्य केही देशले अमेरिकी मुद्रा र सामानहरु रिजेक्ट गर्ने नीति लिएका छन्। त्यहीअनुसार आफ्नै देशको मुद्रामा भुक्तानी खोजेको हुनसक्छन्,’ सिइओ खालिङले भने, ‘एभरेष्टले व्यापारीको आवश्यकताअनुसार जुनसुकै देशको मुद्रामा पनि एलसी खोल्ने गरेको छ। त्यसमा राष्ट्र बैंकले पनि गर्न नपाउने भनेको छैन।’