काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घन्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्था एक घन्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो।
श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाईनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए।
ताहचल कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युतको आपूर्ति र इन्टरनेट स्पिडलाई ध्यानमा राखेर एक घन्टामा श्रम स्वीकृति दिनसक्ने अवस्था रहेको बताए।
नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घन्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको मन्त्री अर्यालको भनाए थियो। श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घन्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिए।
'हाफ पाईन्ट, टिसर्ट र चप्पल लगाएर, मिटर ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरि ३ देखि ४ दिन लगाएर अल्झाउँने, यो कुनै पनि हालतमा स्वीकार्य छैन,' मन्त्री अर्यालले भने, 'श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन। त्यसैले मेरो पहिलो एजेन्डा श्रम स्वीकृतिको प्रक्रिया छिटो गराउनु थियो।'
श्रम स्वीकृति पूर्ण रुपमा नि:शुल्क रहेको पनि उनले बताए। श्रम स्वीकृतिका लागि आफ्नै मोबाइल वा कम्पप्यूटरबाट अनलाईन आवेदन दिन सकिनेछ। श्रम स्वीकृति पनि अनलाईनबाट नै प्राप्त गर्न सकिने मन्त्री अर्यालले बताए।