काठमाडौं। सिँचाइ दिवस एवं जलस्रोत तथा सिँचाइ विभागको ७१औं वार्षिक उत्सवको अवसरमा उत्कृष्ट ३ वटा सिँचाइ आयोजना सम्मानित भएका छन्। आइतबार भएको वार्षिक उत्सवमा राष्ट्रिय गौरवका २ वटासहित ३ वटा आयोजना सम्मानित भएका हुन्। विभागका उपमहानिर्देशक सन्जिव बरालका अनुसार डाइभर्सन आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना र बृहत दाङ उपत्यका सिँचाइ आयोजना सम्मनित भएका हुन्।
कुल ५४ वटा आयोजनालाई विभागले आफ्नो कार्यालयका कार्य एवं प्रगतिका बारेर विवरण भर्न आग्रह गरेको थियो। जसमध्ये ४० वटा आयोजनाले मात्रै फारम भरेका थिए। जसबाट विभागले उत्कृष्ट १० आयोजना छनोट गरेको छ। यद्यपि सम्मान भने उत्कृष्ट भित्रका पनि ३ आयोजनालाई मात्रै गरिएको उपमहानिर्देशक बरालको भनाइ छ।
सुनकोसी मरिण डाइभर्सनले सुरुङ खन्ने कार्यमा तिव्रता लिइरहेको छ। मरिण डाइभर्सनको कुल १३.३ किलोमिटर लामो सुरुङ २०७९ असोज २८ बाट खन्न सुरु गरिएको थियो। भौगर्भिक अवस्थाका कारण डेढ वर्षमा ४ पटक सुरुङ खन्ने कार्यमा अवरोध भए पनि १२.३२९ किमि खनिसकिएको छ। अब अवरोध नभएमा एक महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकिने आयोजनाले बताएको छ।
त्यस्तै रानीजमराले राष्ट्रिय गौरवको रानीजमरा कुलरीया सिँचाइ आयोजनाले निर्माण सुरु भएको १३ वर्षपछि मुल नहरमा पानी पठाएको छ। २०८० वैशाख २५ बाट मूल नहरबाट पानी सञ्चालन भएको थियो भने पुस २१ देखि ४.७१ मेगावाट विद्युत्समेत उत्पादन सुरु गरेको छ। उक्त विद्युत राष्ट्रिय प्रसारणलाइनमा समेत जोडिएको छ।
उत्कृष्ट १० भित्र परेका आयोजनामा सुनकोसी मरिण डाइभर्सन, बृहत् दाङ, रानीजमरासहित बागमती सिँचाइ आयोजना कर्मया सर्लाही, महाकाली सिँचाइ आयोजना कञ्चनपुर, बर्दियाको बबई सिँचाइ आयोजनालगायत छन्। त्यस्तै झापा भूमिगत जल सिँचाइ आयोजना मोरङ र धनुषाको कमला सिँचाइ व्यवस्थापन कार्यालय रहेका छन्।
वार्षिक उत्सव कार्यक्रममा पहाडी क्षेत्रका टार एवं फाँटमा ‘लिफ्ट सिँचाइ’ लाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ। साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइ नीति २०८० र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन नीति २०८० को अनावरणसमेत गरेका छन्।
२०८० भदौ २९ को मन्त्रिपरिषद् बेठकले सिँचाइ नीति २०८० र मंसिर २८ को मन्त्रिपरिषद् बैठकले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन नीति २०८० स्वीकृत गरेको थियो। वार्षिक उत्सव कार्यक्रममा मन्त्री बस्नेतसहित सिँचाइ सचिव सरिता दवाडी, विभागका महानिर्देशक चूर्णबहादुर ओलीसहित कर्मचारीको सहभागिता थियो।