काठमाडौं। लगातार तीन कारोबार दिनमा २००० बिन्दुबाट उक्लिन खोजेको नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले आइतबार छलाङ मारेको छ। आइतबार कारोबार सुरु भएसँगै बढ्न खोजेको बजार ११ बजेर ४३ मिनेटमा २०००.३६ बिन्दुसम्म झरेको थियो।
त्यसपछि बढ्न थालेको बजार पछाडि फर्किएन र बिहीबारको तुलनामा २२.७५ अंकले बढेर २०२६.८१ को बिन्दुमा चढेको छ। पछिल्लो तीन दिन नेप्सेले लगातार २ हजार बिन्दुलाई पछ्याएको देखिन्छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्सेले २०००.३३ को बिन्दु छोएको थियो भने बुधबार १९९९.८५ को बिन्दु छोएको थियो। यसअघिका पाँच कारोबार दिनमा नेप्सेमा पाँचै दिन गिरावट आएको थियो।
आइतबार दोहोरो अंकको वृद्धि भएको नेप्सेमा फाइनान्स र लघुवित्ततर्फ उत्साह देखिएको छ। धेरै मूल्य वृद्धि हुने अधिकांश कम्पनीमा फाइनान्स र लघुवित्त कम्पनी छन्। आइतबार कारोबारमा आएका फाइनान्सतर्फका १५ कम्पनीमध्ये सबैको सेयर मूल्य बढ्दा समग्र उपसमूहमा ५.९५ प्रतिशतको वृद्धि भएको छ।
यस्तै, कारोबारमा आएका १६ कम्पनीमध्ये १६ वटाकै सेयर मूल्य बढेको विकास बैंक उपसमूहमा ३.१६ प्रतिशतको वृद्धि आएको छ भने ३१ कम्पनीको सेयर मूल्य घटेर १७ कम्पनीको सेयर मूल्इ बढेको लघुवित्त उपसमूहको सेयर मूल्य ०.६९ प्रतिशतले बढेको छ।
अघिल्ला कारोबार दिनको तुलनामा आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ। आज नेप्सेमा कुल ४ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने ३ अर्ब १ करोड रुपैयाँ बराबरको मात्रै कारोकार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १९० कम्पनीको सेयर मूल्य बढ्दा ४८ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर छ।
आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र जीवन विकास लघुवित्त कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, मानुसी लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, डोल्टी पावर कम्पनी र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नौ प्रतिशत बढीको वृद्धि भएको छ।
आइतबार तारागाउँ रेजन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।