काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गृह जिल्ला बाग्लुङमा स्तरीय होटल निर्माण गरिरहेका छन्। आगामी वर्ष (२०८१) दसैंदेखि सञ्चालनमा ल्याउने गरी ढकालले ‘ड्रिम हिल होटल’ निर्माण गरिररहेका छन्।
अध्यक्ष ढकालले आगामी दसैंभित्रै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा होटलको काम भइरहेको बताए। ‘गृह जिल्लामा सुविधायुक्त होटल नहुँदा पर्यटकको बसाइका लागि असहज भएको महसुस गरेपछि लगानी विस्तार गरेको हुँ,’ अध्यक्ष ढकालले भने, ‘गृह जिल्लामा पर्यटन क्षेत्रमा यो मेरो पहिलो लगानी हो।’
३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको होटलमा ३२ वटा कोठा रहने उनले जानकारी दिए। सुविधा सम्पन्न र स्तरीय होटल बनाउने अभियानमा लागेको भन्दै उनले लगानीबारे बताएनन्। ‘अहिले निर्माणकै चरणमा रहेकोले कति लगानी हुन्छ भन्ने यकिन छैन,’ अध्यक्ष ढकालले भने, ‘स्तरीय बनाउन कुनै कन्जुसाई हुँदैन।’
आइएमई ग्रूपका अध्यक्षसमेत रहेका ढकालले पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी विस्तार गरिरहेका छन्। चन्द्रागिरी केबलकार हुँदै मुलुकका विभिन्न ठाउँमा केबलकार र होटल निर्माण गरिरहेका ढकालले केही वर्षअघि मात्र पोखरामा २०७९ सालमा ‘द लेकसाइड रिट्रिट’ सञ्चालनमा ल्याएका थिए। पश्चिम क्षेत्रलाई प्रतिनिधित्व गर्दै पोखरामा सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गरेको २ वर्षपछि गृह जिल्लामा नयाँ होटल सञ्चालनमा ल्याउन लागेका हुन्।
बैंक तथा वित्तीय संस्था, केबलकार, जलविद्युत, ट्राभल एजेन्सीलगायत क्षेत्रमा लगानी विस्तार गर्दै आएको आइएमई ग्रूपको मुख्य लगानीमा चन्द्रागिरी हिल्स रिसोर्ट सञ्चालनमा आइसकेको छ। यस्तै काठमाडौंको लाजिम्पाटमा तीनतारे स्तरको ‘ले हिमालय’ होटल सञ्चालनमा छ। ग्रूपले देशका ७ वटै प्रदेशमा होटल सहितको केबलकार सञ्चालनको तयारी गरिरहेको छ। केही समयअघि मात्र मौलाकालीका केबलकार सञ्चालनमा ल्याइसकेको छ भने पाथिभारा केवलकार निर्माणको तयारीमा जुटेको छ।