काठमाडौं। गत साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पाँच कारोबार दिन नै घट्यो। चैत १५ गते २०३५.६४ को बिन्दुमा रहेको नेप्से चैत २२ गते २००४.०५ बिन्दुमा अड्कियो। यस आधारमा गत साताभर नेप्सेमा ३१.५९अंकको गिरावट आएको छ। गत साता बुधबार १९९९.८५ अंकमाथि उक्लिएको नेप्से बिहीबार फेरि २०००.३३ अंकसम्म झरेर माथि चढ्यो। गत साता नेप्से बढ्न पनि सकेको छैन र घट्न पनि मानेको छैन। नेप्सेका केही कम्पनीका ‘स्क्रिप्ट’हरु लगानीकर्तालाई चलाउन खोजे पनि बजारमा दमदार ‘मुभ’ देखिएको छैन।
धेरैले नेप्से अब २००० बिन्दुबाट तल झर्दैन भन्न थालेका छन्। तर, अर्थमन्त्री वर्षमान पुनःले सेयर बजारका समस्या समाधानमा खासै चासो नदेखाएपछि फेरि सुताएको छ। यद्यपि कतिपयले यसलाई चैत मसान्त (त्रैमासिक) अन्त्यको प्रभावका रुपमा व्याख्या गरिरहेका छन्।
अझ अर्थमन्त्री पुनले अध्यक्षबिहीन नेपाल धितोपत्र बोर्डलाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि स्वीकृति नरोक्न दिर्नेशन दिएको चर्चासँगै दोस्रो बजारको प्रतिक्रियाको असर नेप्सेमा पर्न सक्छ। कतिपयले बजार घटेका बेला आइपिओ, थप प्राथमिक निष्काशन (एफपिओ) र हकप्रद सेयर बजारमा ल्याउन नहुने बताउँदै आएका छन्। यद्यपि विगतको प्रवृत्ति हेर्दा आइपिओ, एफपिओ र हकप्रद सेयरले दैनिक कारोबारमा खासै प्रभाव पार्ने गरेको छैन।
सेयर धितो कर्जाको सीमा, सेयर धितोको जोखिमभार १२५ बाट १०० प्रतिशत बनाउने र ऋणतर्फको ब्याजदर घटाउन राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुन्छ।
अर्थमन्त्री पुनले नीतिगत सुधारका पक्षमा काम गर्ने अपेक्षा लगानीकर्ताले अझै गरिरहेका छन्। ‘बजार घट्ने ठाउँ छैन भने माथि जान पनि केही न केही नीतिगत सुधारको आधार खोजिरहेको छ,’ लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘अर्थमन्त्रीले चाहने हो भने ब्रोकर कमिसन र पुँजीगत लाभकरको विषयमा तत्काल काम गरेर बजारलाई सकारात्मक सन्देश दिन सक्छन्।’ रौनियारका अनुसार सेयर बजारले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट केही राम्रो काम होेस् भन्ने अपेक्षा राख्दै आएका छन्।
सेयर धितो कर्जाको सीमा, सेयर धितोको जोखिमभार १२५ बाट १०० प्रतिशत बनाउने र ऋणतर्फको ब्याजदर घटाउन राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुन्छ। अर्थमन्त्री पुनले पनि आफ्नो टेबलमा आइपुगेको काम र धितोपत्र बोर्डलगायतले दिएको सुझाव कार्यान्वयनमा पहल कदमी लिन सक्छन्। तर, अहिलेसम्म लगानीकर्ताको अपेक्षा अनुसारको कुनै पनि काम हुने छाँटकाँट देखिएको छैन। वित्तीय क्षेत्रममा देखिएको अधिकतरलता, घट्दो ब्याजदरसमेतले पनि सेयर बजारलाई खासै चलयमान बनाएको छैन जसको असर नेप्से सूचकमा मात्र होइन कारोबार रकममा पनि देखिन थालेको छ।
गत साता पाँच दिनमा नेप्सेमा १३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। बुक बिल्डिङमा आइपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांस, सूर्यज्योति लाइफ इन्स्योरेन्सको तर्फबाट बम्पर लाभांस (३५ प्रतिशत)का कारण कारोबार रकम ह्वात्तै घट्न नदिए पनि समग्रतामा नै राश्यता छाएको छ। गत साता ४ कारोबार दिनमा ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सरकारले सेयर बजार सुधारका विषयमा कुनै कदम नचालेपछि लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत सरकार र अर्थमन्त्री पुनविरुद्ध जेहाद छेड्न थालेका छन्। लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि अर्थमन्त्री पुनले आशा देखाएर पनि सिन्को नभाँचेको देखि तत्काल कदम नचाले आगामी वैशाखमा हुने उपनिर्वाचनमा सत्ताधारी पार्टीहरु विरुद्ध ‘नो भोट’ अभियान चलाउनेसम्मको धम्की दिइरहेका छन्।
लगानीकर्ता नवराज दाहाल भने समग्र सूचक सामान्य अंकको फरकमा तलमाथि भए पनि कम्पनी गत रुपमा बजार चलयमान भइरहेकाले कम्पनी हेरेर लगानी गर्ने लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्। ‘लगानी सूचक हेरेर गरिँदैन। अहिलेकै अवस्थामा पनि कम्पनी हेरेर लगानी गर्नेले थोरैथोरै गरेर कमाइरहेको छ र कमाउन सक्छ,’ दाहाल भन्छन्, ‘तर, सूचक हेरेर दौडनेहरुका लागि भने यो उपयुक्त समय होइन।’ दैनन्दिन रुपमा विभिन्न कम्पनीको सेयर मूल्य घट्ने र बढ्ने गरेको, उपसमूह विशेषमा मूल्य वृद्धि आउने गरेकाले नेप्से सूचकभन्दा कम्पनीको वित्तीय विवरण हेरेर कारोबार गर्दा आत्तिनुपर्ने अवस्था नरहेको दाहाल बताउँछन्।
बजार पुँजीकरणका आधारमा नेप्सेमा ठूलो हिस्सा ओगट्ने बैंकिङ उपसमूह तल्लो बिन्दुमा स्थिरप्रायः छ। उत्पादनमूलक क्षेत्रले पनि बजारमा धक्का दिइरहेको स्थिति छैन।
बजार पुँजीकरणका आधारमा नेप्सेमा ठूलो हिस्सा ओगट्ने बैंकिङ उपसमूह तल्लो बिन्दुमा स्थिरप्रायः छ। उत्पादनमूलक क्षेत्रले पनि बजारमा धक्का दिइरहेको स्थिति छैन। बेलाबेला जलविद्युत् र लघुवित्त उपसमुहले बजारलाई चलायमान बनाउन खोजिरहेको भान हुन्छ। क्तिपय लगानीकर्ताले चैतको ब्याज तिर्न सेयर बेच्नेक्रम लगभग सकिएको, वैशाखका लागि निक्षेप र कर्जा दुवैको ब्याजदर घट्ने सम्भावना रहेको, कम्पनीहरुको सार्वजनिक गर्ने ९ महिनाको वित्तीय विवरणले मनोबल उकास्ने अपेक्षा गरिरहेका छन्। धेरैको ध्यान वैशाखमा हुने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षातर्फ छ। अर्थमन्त्री पुन र गभर्नर महाप्रसाद अधिकारीबीच सुमधुर सम्बन्ध कायम भएकाले बजार सुधारका पक्षमा राष्ट्र बैंकबाट सकारात्मक कदम चालिने अपेक्षा हुँदै आएको छ। यद्यपि त्यसका लागि अझै कम्तीमा ३ साता पर्खिनुपर्छ। लगानीकर्ताका लागि निकै सकसपूर्ण वर्षका रुपमा चित्रित वर्ष २०८० सकिँदै गर्दा सकारात्मक सन्देश छाड्ने अपेक्षा गरिएको छ।
२०७९ चैत ३० गते विहीबार २९.०७ बिन्दुले नेप्से घटेर १९३४.४७ अंकमा रोकिएको थियो। २०८० वैशाखका सुरुवाती ३ दिन बजार सूचक घटेर १९०४.९८ अंकसम्म झरेको थियो। २०८० जेठ १ गते १८१८.३१ बिन्दुमा नेप्से रोकिए पनि त्यसदिन १८०७.५२ अंकसम्म झरेको र अघिल्लो दिन न्यूनतम १८०७.०७ अंकसम्म झरेको थियो। उतारचढावपूर्ण अवस्था पार गर्दै २०८० असार १३ गते २१५०.९९ अंकमा रोकिएको नेप्से अधिकतम २२०५.९६ अंकसम्म चढेको थियो। त्यसपछि पनि नेप्से सूचकमा उतारचढाव आउँदै साउन ७ गते २२२७.१६ अंकमा रोकियो भने त्यसदिन २२२८.७४ अंकसम्म चढेको थियो।
वर्षको अन्तिम साता हुने कारोबारले नेप्सेको थप गति पहिल्याउने छ। वर्षको अन्तिम साता सोमबार घोडे जात्राको सार्वजनिक विदाका कारण ४ दिनमात्र सेयर किनबेच हुनेछ।
चालु वर्षको मैद्रिक नीतिलाई लगानीकर्ता सकारात्मक रुपमा लिँदा नेप्से ६३.२४ अंकले बढेको थियो। तर, मौद्रिक नीतिको सकारात्मक भाव दोस्रो दिन पनि चलेन र बजार सूचक घट्दै गएर २०८० कात्तिक १९ मा १८२६.२३ अंकमा पुग्यो। त्यसपछि मंसिर २४ गते १११.२० अंकको उछाल आउँदै नेप्से १९६३.९८ अंकमा चढ्यो। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा गरिएको सेयर धितोसम्बन्धि सामान्य प्रावधान परिवर्तनलाई लगानीकर्ताले रुचाएर त्यसदिन नेप्से ६ प्रतिशत बढेको थियो। मौद्रिक नीति त्रैमासिक समीक्षापछि बजारमा उतारचढाव देखिँदै माघ २ गते नेप्से २१७५.१७(बन्द हुनुअघि अधिकतम भने माघ ३ गते २२१५.५४)अंकसम्म पुग्यो।
त्यसपछि घट्ने प्रवृत्ति समाएको नेप्से फागुन २० गते १९६०.२० (न्यूनतम १९४६.४२) अंकमा थियो। तर, एकाएक सत्ता गठबन्धन परिर्वन हुने हल्लाले सेयर बजार सूचक फागुन २१ गते ११७.७० अंक (६ प्रतिशत) बढेर २०७८ अंकमा उक्लियो। सत्ताबाट नेपाली कांग्रेस हटेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी भित्रिएपछि तिव्र उचारचढाव देखिएको नेप्से फागुन २९ गते २१११.२१ अंकसम्म पुग्यो। त्यसपछि घट्न थालेको बजारले फेरि न्यूनतम बिन्दु पछ्याउने वा नयाँ गति पहिल्याउने द्वन्द्वमा छ। वर्षको अन्तिम साता हुने कारोबारले नेप्सेको थप गति पहिल्याउने छ। वर्षको अन्तिम साता सोमबार घोडे जात्राको सार्वजनिक विदाका कारण ४ दिनमात्र सेयर किनबेच हुनेछ।