इलामे सहर चियाबारी राम्रो, त्यही पर्यो घर हाम्रो
कसकी हौ छोरी, पातली मोरी लैजाने आँट हाम्रो
गायक बुलु मुकारुङ र कुन्ति मोक्तानको स्वरमा सजिएको यो कालजयी गीत अहिले पनि धेरैजसोले गुनगुनाइरहेका हुन्छन्। खासगरी इलामको चियाबारी घुम्न जाने जोकोहीका लागि यो गीत मेल खान्छ। साँच्चै! इलाम चियाबारीले मनमोहक छ। त्यसैले त आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा इलाम परिरहेको हुन्छ।
प्राकृतिक सुन्दरताले समृद्ध इलाम पुग्ने पर्यटकलाई लक्षित गरी पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण हुने क्रम बढेको छ। खासगरी चियाबगानसँग सामिप्य गाँस्दै समय बिताउन चाहने पर्यटकलाई सहज बनाउने उद्देश्यले केही समयअघि इलामको फिक्कलमा सनसाइन भिल्ला सञ्चालनमा आएको छ।
करिब १० करोड रुपैयाँ लगानीको सनसाइन भिल्लाको व्यवस्थापन साल्ट ग्रुप अन्तर्गतको साल्ट रुट कन्सल्टिङले सुरु गरेको छ। पर्यटकलाई लक्जरियस कोठा र सुविधाको अनुभूति दिने उद्देश्यले सञ्चालनमा ल्याइएको भिल्लामा १० कोठा छन्। छुट्टी मनाउन रिसोर्ट पुग्ने परिवारलाई लामो र छोटो समयका लागि उपयुक्त हुने गरी कोठा निर्माण गरिएको सल्ट ग्रुपका प्रबन्ध निर्देशक अदवेत शेरचनले जानकारी दिए।
इलामकै स्थानीयले निर्माण गरेको सनसाइन भिल्ला सल्ट ग्रुपले व्यवस्थापन जिम्मा लिएर सन् २०२४ देखि सञ्चालनमा ल्याएको हो। १५ रोपनीमा फैलिएको सनसाइन भिल्लामा चियाबगानमा रम्दै, रमाउँदै बस्न सकिने दाबी प्रबन्ध निर्देशक शेरचनको छ। यो रिसोर्टबाट चियाबगानमा हिँड्नेदेखि सूर्यादय र सूर्यास्तलाई नजिकबाट नियाल्नसमेत सकिन्छ।
चियाबगान र हरियालीका लागि प्रख्यात इलामको शान्त परिदृश्यमा रमाउन सकिने गरी रिसोर्ट निर्माण गरिएको छ। ‘पूर्वी नेपालको रमणीय परिवेशसँग मिसाउन डिजाइन गरिएको यो बुटिक होटलले आगन्तुकलाई विलासिता मात्र प्रदान गर्दैन, यस क्षेत्रमा पर्यटन विस्तार गर्ने लक्ष्य पनि राखेको छ,’ प्रबन्ध निर्देशक शेरचनले भने, ‘इलाममा नेपालका अन्यत्रका स्थलभन्दा बेग्लै र मनमोहक दृश्य देखिने भएकाले पाहुनाका लागि उपयुक्त गन्तव्य हो।’
रिसोर्ट सहरको कोलाहलबाट मुक्त भएर शान्तिपूर्ण वातावरणको खोजीमा परिवारसहित लिएर रिसोर्टमा बास बस्न सकिनुका साथै साथीभाइ र विभिन्न कर्पोरेट इभेन्ट गर्नसमेत उत्तम गन्तव्य हुन सक्छ।
सनसाइन भिल्लामा रहेका कोठा र सजाइएका बुट्टाले मन प्रफुल्लित गर्दै प्रकृतिको अद्भुत आनन्द लिन सकिने उनले बताए। सनसाइन भिल्लाको मुख्य उद्देश्य दिगोपनप्रतिको प्रतिबद्धता रहेको शेरचन सुनाउँछन्।
‘पूर्वी नेपालको पर्यटनका लागि प्राकृतिक र सांस्कृतिक सम्पदाको सम्मान एवं संरक्षण गर्ने फराकिलो दृष्टिकोणलाई झल्काउँछ’, प्रबन्ध निर्देशक शेरचनले भने। होटलमा आउने पाहुनालाई गाउँबस्तीको भ्रमण गराउनेदेखि लोकल खाना र खाजाको स्वादसमेत चखाउने गरिएको छ।
व्यापारिक केन्द्र फिक्कल
इलामको पूर्वी क्षेत्रमा पर्ने फिक्कल व्यापारिक केन्द्र हो। सूर्योदय नगरपालिकामा रहेको फिक्कल जिल्लाकै महत्त्वपूर्ण व्यापारिक बजार हो।
अलैंची, अदुवा, कुचो, दूध, मटर, सागसब्जी र अन्य नगदे बाली बिक्री गरिने यो बजार पर्यटनका लागि पनि त्यत्तिकै महत्त्वको छ। चिसो हावापानी भइरहने फिक्कल बजार भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमिटरको दूरीमा पर्छ। सदरमुकामबाट करिब ४३ किमि टाढा रहेको यो बजारमा पर्यटकका लागि आवास र घुमफिर स्थल पनि प्रशस्त छन्।
सीमापारिको दार्जिलिङ भएर नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटक फिक्कलमा बस्ने गर्छन्। नेपालबाट भारतको दार्जिलिङ घुम्न जाने नेपाली पनि फिक्कल हुँदै जाने गरेका छन्। कन्याम आएका पर्यटकको बासस्थल पनि फिक्कल नै हो।
कसरी पुग्ने सनसाइन भिल्ला, कति लाग्छ शुल्क
यो रिसोर्ट भारतीय सीमावर्ती पशुपतिनगरबाट ११ किलोमिटरको दूरीमा पर्छ। सदरमुकामबाट करिब ४३ किमि टाढा रहेको फिक्कल बजार नजिकै सनसाइन भिल्ला छ। काठमाडौंबाट झापाको भद्रपुरसम्म जहाज यात्रा गरेर गाडीमार्फत पुग्न सकिन्छ भने सिन्धुली हुँदै पनि पुग्न सकिन्छ। झापाबाट फिक्कलको दूरी ४५ किलोमिटरको छ।
होटलमा बास बस्न एउटा कोठाको ११ हजार ५०० रुपैयाँ लाग्छ। सो शुल्कमा बेड र ब्रेकफास्ट पाइन्छ। त्यसबाहेक खाना र अन्य पेय पदार्थको शुल्क छुट्टै तिर्नुपर्छ।