हालै महिला उद्यमी महासंघ नेपालले सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० सम्पन्न गरेको छ। महिलाको कला, सीप, उद्यम तथा व्यावसायिक सोचलाई विस्तार गरेर आर्थिक रुपमा सबल बनाउने सोचका साथ आयोजना गरिएको मेलामा महिला उद्यमीको उत्साहपूर्ण उपस्थिति रह्यो। मेलामा महिलाले ग्रामीण स्तरमा पाइने स्थानीय स्रोत–साधन, उत्पादन तथा सीप प्रयोग गर्दै मौलिकता झल्कने सामग्री प्रदर्शनीमा राखेका थिए। सामूहिक तथा व्यक्तिगत रुपमा विभिन्न सामग्री उत्पादन गर्दै आर्थिक रुपमा सबल बन्ने प्रयत्नमा लागेका सबैजसो महिलाले बजारीकरण अभाव भएको गुनासो गरेका थिए। बजारीकरणको अभाव समस्या समाधान गर्न तथा उद्यमलाई प्रोत्साहन गर्दै बाहिरी क्षेत्रमा चिनाउन महिला उद्यम व्यापार मेला गरेको महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवाली बताउँछिन्। महिला उद्यमी महासंघको २०औं साधारणसभा तथा नवौं महाधिवेशनबाट अध्यक्ष बनेकी ज्ञवाली आफैं पनि उद्यमी हुन्। ज्ञवाली १५ वर्षदेखि महिला उद्यमी महासंघमा आबद्ध भएर सचिव, उपाध्यक्ष हुँदै अध्यक्षमा पुगेकी हुन्। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यसमेत रहेकी ज्ञवालीले नेपाली महिला उद्यमलाई नजिकबाट नियालिरहेकी छन्। यसै सन्दर्भमा महिला उद्यम, अवसर र चुनौतीका विषयमा केन्द्रित रहेर अध्यक्ष ज्ञवालीलाई क्यापिटल नेपालकी कमला भण्डारीले सोधेका पाँच प्रश्नको सम्पादित अंशः
तपाईं आफैं महिला उद्यमीको नाताले यस क्षेत्रमा डेढ दशकदेखि सक्रिय हुनुहुन्छ। समग्रमा महिला उद्यमीको वर्तमान अवस्था कस्तो छ?
महिला उद्यमीको विकास र विस्तार गरी तिनको अवस्थामा परिवर्तन ल्याउन राज्यले नै नीति बनाउने तथा भएका नीति परिवर्तन गर्ने कार्यमा अग्रसर हुन आवश्यक छ। उद्यमी व्यवसायीका लागि लगानी चाहिन्छ। तर, हाम्रोमा लगानी तथा कर्जा व्यवस्थाको कमी छ। हामीले सुरुआती दिनदेखि राज्यलाई उद्यमीका लागि कर्जा तथा वित्तीय पहुँच बढाउनुपर्ने आवाज उठाउँदै आएका छौं। नेपाली महिला अनेकन बाधा–अवरोधका बाबजुद निरन्तर काम लागिरहेका हुन्छौं। महिलाका काँधमा अनेकन जिम्मेवारी भएकाले उद्यम गर्न सहज अवस्था छैन। तर, काम गर्न अग्रसर भएका महिलालाई सरकारले प्राथमिकतामा राख्न आवश्यक छ। वित्तीय पहुँच अभाव, सीपयुक्त दक्ष जनशक्ति अभाव र कच्चा पदार्थ तथा बजारीकरण समस्या महिला उद्यमीसामु छन्।
हाल ठूलो संख्यामा युवा रोजगारीका लागि बाहिर गइरहेका छन्। यस्तो अवस्थामा नेपालमै केही गर्छु भन्ने र आर्थिक रुपमा टेवा पुर्याउने सोच बनाएका महिलाका लागि सरकारले बलियो साथ र सहयोग दिन आवश्यक छ। आज हरेक जिल्ला, नगरपालिकामा महिला विकास कोषका नाममा बजेट जाने गरेको छ। यसलाई महिलालाई उद्यममा जोड्ने र आर्थिक रुपमा सबल बनाउने कार्यमा प्रयोग गर्न आवश्यक छ। म्हिलाबाट उत्पादित सामग्री बिक्रीका लागि पनि सरकारले नै बिक्री कक्ष बनाइदिन र सहजीकरण गर्न आवश्यक छ। हामीले लामो समयदेखि औद्योगिक ग्रामको विषय पनि उठाउँदै आएका छौं। यो पनि खोल्न आवश्यक छ।
तपाईंहरूले समय–समयमा गर्दै आएका मेला तथा प्रदर्शनीले महिला उद्यम विकासमा सहयोग पुगेको छ?
महिला उद्यमी महासंघले गर्ने मेलाले मुख्यतया क्रयशक्तिको परिचालन हुने हो। आर्थिक परिचालने महिलाको व्यवसाय अघि बढाउन मद्दत पुग्छ। हामीले विभिन्न जिल्लाका स्थानीय खानेकुरालगायत वस्तुको उपभोग गर्न पाउँछौं भने उत्पादनकर्ताको वस्तु बिक्री वितरण बढी हुन्छ। मेलामा आफ्ना सामग्री बिक्री गर्दा थप लगानीको बाटो खुला हुन सक्छ। मेला प्रदर्शनीले सामग्रीको प्रचार हुनुका साथै, अन्य उद्यमीसँगको सम्बन्ध पनि बढाउँछ। बाहिरी देशमा उद्यमीले सामान तथा स्टल कसरी व्यवस्थापन गर्छन् र अन्य मुलुकबाट आएकाले कसरी सामान बेच्छन् भन्ने विषय यस्ता मेलाबाट नेपाली महिलाले हेर्न तथा बुझ्न पाउँछन्। यसले आर्थिक रुपमा पनि थप सबल बनाउन मद्दत गर्छ।
महिलाले उत्पादन गर्ने वस्तुको बजारीकरणमा महासंघले कस्तो भूमिका खेलेको छ?
अहिले महिला उद्यमीका समस्या भनेको बजारीकरण अभाव, आर्थिक स्रोत अभाव, दक्ष जनशक्ति अभावलगायतको पिरलो हो। महिलाले सामान बनाउन सुरु गरे पनि बजारीकरण हुन सकेको छैन। बजारका लागि जिल्ला वा प्रदेश स्तरमा मेलाको आयोजना कम हुने गरेको छ। हुन त, स्वदेशी तथा अन्तर्राष्ट्रिय स्तरको मेला सञ्चालन गर्न सोहीअनुसारको पुँजी आवश्यक हुन्छ। यसका लागि राज्यले नै सहयोग गर्नुपर्छ। मेला प्रदर्शनी पनि बजारीकरणको प्रमुख आधार हो। हामी उद्यमीले भोगेका चुनौतीलाई विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायमा उठाउँदै आएका छौं।
महासंघ आफैंले पनि महिला उद्यमीलाई शिक्षा दिँदै आएको छ। हामीले गरेका विभिन्न मेलाका कारण विभिन्न जिल्लाका महिला दिदीबहिनी एक ठाउँमा आउने अवसर जुटेको छ। हामीले विभिन्न ठाउँबाट आउन नसकेका तथा मेलामा सहभागी हुन नसकेका विभिन्न जिल्ला तथा क्षेत्रका महिला उद्यमलाई पनि सहभागी गराउन प्रयत्न गरिरहेका छौं। बजारीकरणको काम एक्लै हुँदैन। यसर्थ, राज्यले यस विषयमा राज्यले हेरिदिनुपर्छ। राज्यको सहयोग भए महिला उद्यमको बजार विस्तारले गति लिन्छ।
अहिले सरकारबाट महिला उद्यमीलाई दिइएको कर छुट र सहुलियत पर्याप्त छ?
हामीले अहिले पनि व्यवसाय गर्न ३५ प्रतिशत कर छुट पाइरहेका छौंैै। सरकारले बिनाधितो ५ लाखको ऋण पनि दिएको थियो। तर, गत वर्षदेखि महिला उद्यमी भनेर छुट्याएको यो व्यवस्था हटाइएको छ। हिजोका दिनमा आधार दरमा २ प्रतिशत थपेर १० लाख रुपैयाँसम्मको बिनाधितोको ऋण दिने र धितो राखेर १५ लाखसम्म ऋण दिने सुविधा बन्द भएको छ। यसलाई यथावत् राख्न पहल गरिरहेका छौं। एकातर्फ महिला उद्यम पहिचान नभएको र अर्कोतर्फ आर्थिक स्रोत जुटाउन नसक्ने अवस्था अन्त्य हुनुपर्ने आवाज उठाउँदै आएका छौं।
राज्यले हालसम्म जे–जस्ता छुट तथा सुविधा दिएको छ, त्यो सकारात्मक भए पनि पर्याप्त छैन। विभिन्न नाकाबाट भित्रिने चोरी निकासीका सामान भित्रिन नदिइए पनि महिला उद्यमको उत्पादन र हामीलाई फाइदा पुग्छ। झापामा भारतका विभिन्न ठाउँ तथा काँकडाभिट्टा नाकाबाट अवैध रुपमा भित्रिएका सामग्रीले बजार ढाकेको छ। यसले हाम्रो उत्पादित सामग्रीभन्दा सस्तो पर्न गई नेपाली उत्पादन बिक्री नहुने समस्या छ। यो अवस्था अन्त्य गरेर नेपाली महिला उद्यमीकै सामग्री बिक्री हुने व्यवस्था गर्न सरकारले सहयोग अपरिहार्य छ।
महिलालाई उद्यमशील बनाउन तथा उनीहरूलाई यस क्षेत्रमा सबल बनाउन तत्काल गर्नुपर्ने काम के–के हुन्?
पछिल्लो समय महिला उद्यमीको विकास र विस्तारका लागि तथा उनीहरूलाई आर्थिक रुपमा सबल बनाउन महिला उद्यमी महासंघले काम गरिरहेको छ। राज्यले पनि महिलालाई व्यावसायिक रुपमा काम गर्ने वातावरण तयार गर्न सघाउनुपर्छ। उद्यमका लागि मुख्य चुनौतीको रुपमा रहेको पुँजी तथा वित्तीय पहुँच बढाउनुपर्दछ। महिलाका लागि राज्य स्तरबाट दिइँदै आएका सुविधा तथा सेवा सबैले बुझ्ने बनाउने र जानकारी दिने काम गर्न आवश्यक छ। सहुलियत दरमा कर्जा पाउने विषयको जानकारी गराउन ग्रामीण क्षेत्रमा विभिन्न सचेतना डेस्क राखिनुपर्छ। दक्ष जनशक्ति र कच्चा पदार्थ अभावलाई अन्त्य गर्न पनि राज्यस्तरबाटै काम हुनुपर्छ।
जुन ठाउँमा जस्तो उद्यम गर्दा राम्रो हुन्छ, सोहीअनुसार महिलालाई जोड्नुपर्दछ। उपलब्ध स्रोत–साधनअनुसारको व्यवसाय फैलाउन सके मात्रै दीर्घकालीन व्यवसाय विकासमा सहयोगी हुन्छ। नेपालमा महिलालाई उद्यमी बनाउन सरकारी पहल खासै छैन। महिला उद्यमीले पाउने सेवा–सुविधा पनि रोकिएकाले यसलाई हटाउनुपर्छ। राज्यले आर्थिक सशक्तीकरणको पाटोमा आस देखाएर मात्रै हुँदैन। सोहीअनुरुपको काम पनि गर्न आवश्यक छ। हामीले गरेका मेला, प्रदर्शनीले पनि महिला उद्यम विकासमा सहयोग गर्दै आएको छ। यसले महिलालाई सबल र आर्थिक रुपमा बलियो बनाउन मद्दत गर्छ।