काठमाडौं। मुस्ताङको घरपोझङ गाउँपालिका–२ मा सुकुन रसाइली विकले सञ्चालन गरेको मार्फा फलफूल तथा तरकारी प्रशोधन व्यवसाय अन्य उद्यमी महिलाका लागि प्रेरणा–स्रोत बनिरहेको छ। ४५ लाख लगानीमा सुरु भएको प्रशोधन उद्यमको पुँजी हाल डेढ करोड नाघिसकेको छ।
रसाइलीले करिब एक दशकअघि मुस्ताङमा उत्पादित स्याउको सुकुटी, स्याउको चिप्स, स्याउको केन्डी र स्याउको जाम उत्पादन थालेकी थिइन्। हाल उनले त्यसलाई निरन्तरता दिँदै मुस्ताङ आलु चिप्स, खुर्पानीको सुकुटी र जाम, सिस्नोको धुलो, रायो सागको गुन्द्रुक, अदुवाको केन्डी, टिमुरको छोपलगायत विभिन्न अर्गानिक सामग्री उत्पादन गरिरहेकी छन्। उनको उद्योगमा स्थानीय जिम्बु, दालजस्ता सामग्री पनि उत्पादन हुने गरेका छन्।
रसाइलीले प्रशोधन केन्द्रमा मासिक रुपमा स्याउबाट विभिन्न परिकार बनाउन १० देखि १६ टनसम्म कच्चा पदार्थ खरिद गर्दै आएकी छन्। उनका अनुसार उद्योगबाट वार्षिक ७ देखि ८ लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको छ। रसाइलीको उद्योगमा परिवारसहित तीन जनाले दैनिक काम गर्छन् भने कामको चाप भएका बेला १५ जनासम्मलाई रोजगारी दिने गरेको उनी बताउँछिन्।
मुस्ताङमा उत्पादित कृषिजन्य सामग्रीको उचित प्रयोग गर्ने सोचका साथ सञ्चालित उद्योग मुलुककै महत्त्वपूर्ण उद्यमका रुपमा विकास भएको छ। महिला उद्यमी रसाइलीले उक्त उद्योग स्थापना गर्नुअघि होटलका साथै सामान्य घरेलु प्रविधिको माध्यमबाट स्याउका विभिन्न परिकार बनाउने सुरु गरेकी थिइन्।
होटलमा आउने पर्यटकले व्यावसायिक रुपमा उद्योग सञ्चालन गर्न प्रोत्साहित गरेपछि रसाइलीले मार्फामा फलफूल प्रशोधन उद्योग सुरु गरेकी हुन्। हाल रसाइलीले उत्पादन गरेको सामग्री मुस्ताङबाहेक चितवन, बुटवल, कञ्चनपुर, काठमाडौं, पोखरालगायत विभिन्न ठाउँ पुग्छन्। रसाइली आफ्नो उद्योगमा कम्तीमा १ सयदेखि बढीमा १ हजार मूल्यसम्मका परिकार उत्पादन हुने गरेको उनले सुनाइन्। उत्पादित सामग्रीमा आलु चिप्स र स्याउबाट बनाइएका परिकार बढी मात्रामा बिक्री हुने गरेका छन्।
‘आलुको चिप्स छोटो समयमा धेरै लोकप्रिय भएकाले माग धान्न हम्मे–हम्मे परेको छ,’ रसाइली भन्छिन्। रसाइलीले प्रशोधन केन्द्रलाई आवश्यक पर्ने कच्चा पदार्थ स्थानीय कृषिकबाटै खरिद गर्छिन्। स्याउ पनि रसाइलीले बगैंचामा गएर किसानलाई हातहाती पैसा दिएरै ल्याउँछिन्।
यसरी सुरु भयो व्यवसाय
रसाइलीले कुनै बेला मुस्ताङमा महिला स्वयंमसेविकाको जिम्मेवारीमा पनि थिइन्। उनले ९ वर्ष स्वयंमसेविकाको रुपमा काम गरिन्। त्यही समय विदेशी नागरिकको सहायतामा काठमाडौंमा व्यावसायिक तालिम लिने मौका पाइन्, जुन तालिम ६ महिनासम्म चलेको थियो। तालिम लिने क्रममै रसाइलीले पहिलो पटक काठमाडौं पाइला टेकेकी थिइन्। तलिमका बेला पिछडिएका, बेचिएका महिलाबारे थाहा पाउने र बुझ्ने मौका उनले पाइन्।
यसपछि, महिला जागरुक बन्नुपर्छ र बनाउनुपर्छ भन्ने उनलाई लाग्यो। तालिम लिएर काठमाडौंबाट फर्किंदा महिला पुनःस्थापना केन्द्र ओरेक नेपालले मुस्ताङमा भर्खरै आफ्नो शाखा स्थापना गरेको थियो। उनलाई महिला अगुवासम्बन्धी तालिम लिएकाले काठमाडौंबाटै जागिरका लागि प्रस्ताव आयो।
ओरेक नेपालका प्रतिनिधिले लिएको अन्तर्वार्तामा २१ जनाभित्र नाम निकाल्न सफल भएपछि उनले त्यहाँ जागिर सुरु गरिन्।
कमाइ थोरै हुँदैमा जागिर छाड्नु हुँदैन भन्ने सोचेर उनले त्यहाँ ५ वर्ष काम गरिन्। यसले समाजमा रहेका महिलालाई बुझ्ने मौका अझै राम्रोसँग मिल्यो।
जिल्लामा ओरेकको परियोजना सकिएपछि उनलाई समय खेर फाल्न मन लागेन। विदेश जाने र प्रशस्त दाम कमाउने रहर कहिल्यै पनि नआएको उनी बताउँछिन्। १४ वर्षको उमेरमै विवाह गरेकी उनले त्यसपछि मात्र हो, घरबाहिर काम थालेको।
रसाइलीका श्रीमान् जतिबेला पनि विदेश मात्रै जाने भनिरहन्थे। नेपालमै केही गर्नुपर्छ भनेर सम्झाउँदा पनि नमानेर श्रीमान् बिदेसिए। सामाजिक अभियन्ता भएर हिँडिरहँदा र श्रीमान् साथमा नहुँदा धेरै चुनौती झेल्नुपरेको उनी सुनाउँछिन्। रसाइलीका श्रीमान् १४ वर्ष (१० वर्ष दुबई र ४ वर्ष साउदी) रोजगारीमा बसे।
होटल व्यवसाय हुँदै उद्योगतर्फ
मुस्ताङ पर्यटकीय स्थान भएकाले रसाइलीले २०६२ मा देउराली होटल एन्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याइन्, रसाइलीले। दुःख र पीडालाई साथी बनाएर हिँडेकी उनलाई अब अगाडि बढ्नुपर्छ, आफैं केही गर्नुपर्छ भन्ने लाग्यो। होटल सञ्चालनका क्रममा रसाइलीले जातीय विभेद भोग्नुप¥यो।
‘छिमेकीले ट्रेकिङमा जाने पर्यटकको समूहलाई त्यो कामीको होटल हो, त्यहाँ खाना खान नजानू भनेर भड्काउँथे। तर, मेरो होटल सफा अनि सुग्घर भएका कारण पर्यटक आएर मेरोबारे भनेका कुरा मैलाई सुनाउँथे,’ रसाइली भन्छिन्, ‘यो कुराले मलाई असाध्यै पीडा हुन्थ्यो।’ यो अवस्थामा पनि रसाइलीले हार मानिनन्। उनले केही गरेर देखाउनुपर्छ भन्ने अठोट राखिन्, जुन अठोटले रसाइलीलाई हालको अवस्थामा ल्याएको छ।
होटल व्यवसायसँगै रसाइलीले स्याउको सुकुटी पनि बनाउन सुरु गरिन्। रातभरि ३ देखि ४ सय किलो स्याउ काटेर बिहान सुकाउँथिन। केही पर्यटकलाई बेच्थिन्। विस्तारै उनले बनाउको स्याउको सुकुटी माग बढ्दै गयो। माग बढेपछि अब यसलाई उद्योगमा परिवर्तन गर्नुपर्छ भन्ठाने उनले २०७० मा मार्फा फलफूल तथा तरकारी प्रशोधन सञ्चालन गरिन्।
उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएको केही समयमै भूकम्प र नाकाबन्दीले रसाइलीलाई समस्यामा पार्यो। यसपछि कृषि विकास बैंकबाट ऋण लिएर उनले मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योगलाई निरन्तरता दिइन्। सफल पनि भइन्। ‘विवाह भएदेखि मैले कसैसँग एक पैसाका लागि हात फैलाइन्। अवसरको खोजी आफैं गर्ने हो,’ रसाइली भन्छिन्, ‘अहिले पनि धेरै महिला आफ्ना लागि निर्णय गर्न सक्दैनन्। तर, आफ्ना लागि आफंै निर्णय गर्नुपर्छ, आफूले आफैलाई विश्वास गर्नुपर्छ।’
रसाइली सहरमा घरजग्गा किन्ने पैसाले उद्योगलाई फराकिलो बनाउने सोच रहेको बताउँछिन्। उनी भन्छिन्, ‘म मुस्ताङको यही गाउँमै खुसी छु।’