काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिइने बताएका छन्।शुक्रबार दोलखाको जिरीमा दोस्रो जिरी महोत्सव उद्घाटन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिइने प्रतिबद्धता जनाए।
उनले भने, ‘नेपालको पुँजीलाई पलायन हुन दिँदैनौं। पुँजी पलायन हुने खतरा बढेको छ। लगानीको पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिँदै छौं। बाह्य लगानीकर्तालाई पनि आह्वान गरेका छौं। बाह्य पुँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौं।’
मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधनका लागि पहल भइरहेको जानकारी दिए। उनले लगानी सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेको उनको भनाइ छ।
लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ संकल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाझिने वैदेशिक लगानी भित्र्याइने बताए। नेपालमा पर्यटन, ऊर्जा तथा अन्य स्वदेशी वस्तु प्रयोग गरेर चलाइने उद्योगका लागि राम्रो वातावरण रहेको उनको भनाइ थियो।
उनले जनतामा रहेको निराशालाई आसमा बदल्न जरुरी रहेको बताए। मन्त्री भण्डारीले उत्पादन भएका वस्तुले बजार नपाउँदा र पुँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा चिन्ता व्यक्त गरे। चालू अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको उवले सुनाए।
उनले भने, ‘उत्पादन अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै छौं। ब्याजमा अनुदान दिने कार्यक्रम पनि ल्याउँदैछौं। स्थानीय सरकारसँग समन्वय गरेर प्रविधि हस्तान्तरण कार्यक्रम ल्याउने तयारी छ। स्वदेशी वस्तुको प्रवद्र्धन गर्न अधिकतम रुपमा नेपाली वस्तु उपभोग गर्ने अभियान सरकारले चलाउँदै छ।’