काठमाडौं। नबिल बैंकले ३ महिनाको अन्तरमा ३ प्रतिशत बिन्दुले ब्याजदर घटाएर घर कर्जा योजना ल्याएको छ। बैंकले आधार दरकै हाराहारीमा ‘नबिल ढुक्क घर कर्जा’ योजना ८.९९ प्रतिशत ब्याजदर (बेसरेट)मा दिन थालेको हो। बैंकले घर निर्माण तथा घर खरिदका लागि १ प्रतिशत बिन्दु ब्याजदर अन्तरमा २ थरी कर्जा योजना कार्यान्वयनमा ल्याएको छ। गत वैशाखदेखि कार्यान्वयनमा रहेको नबिल ढुक्क घर कर्जाको तस्रो संस्करण फागुन १४ देखि अघि सारेको हो। जसमा परिस्कृत योजनासहित कम ब्याजदर, सस्तो प्रिमियम र कर्जा अवधि थप गरिएको छ।
बैंकले पहिलो पटक ल्याएको नबिल ढुक्क घर कर्जा मंंसिर २४ गतेसम्म २ स्थिर १०.९९ र ११.९९ प्रतिशतसम्म ब्याजदरमा सञ्चालन गरेको थियो। त्यसपछि मंसिर २५ गतेदेखि फागुन १३ गतेसम्म ९.९९ प्रतिशतमा नबिल ढुक्क घर कर्जा योजनामा रहेर घर कर्जा प्रवाह गर्यो। गत मंसिर २४ गतेसम्मको ब्याजदरमा ३ प्रतिशत ब्याजदर घटाएर बैंकले फागुन १४ गतेदेखि ८.९९ प्रतिशतमा घर कर्जा प्रवाह गर्न थालेको हो।
उक्त ‘नबिल ढुक्क घर कर्जा’ योजनामा रहेर कर्जा लिन आउने ग्राहकले आगामी असार मसान्तसम्म ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा पाउने बैंकको रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्।
‘यो कर्जा स्किमको तेस्रो भर्सन हो, नबिल ढुक्क घर कर्जाको ३.० मा ३ वटा योजना परिमार्जन गरेका छौं,’ बैंकको रिटेल लेन्डिङ युनिट प्रमुख श्रेष्ठले भनिन्, ‘यो योजनामा घर लिनलाई ग्राहकहरु थप उत्साहित हुँदा ब्याजदर घटाएर स्किम थप गरेका हौं।’
बजारमा कर्जाको ब्याजदरमा देखिएको उच्च उतार चढाबबीच पनि ग्राहकले ढुक्क भएर एउटै ब्याजदरमा लामो समयका लागि कर्जा लिन सकुन् भनेर बैंकले उक्त कर्जा योजना ल्याएको उनको भनाइ छ।
बैंकले पहिलो घर कर्जा लिनेलाई मूल्यांकनको ७० प्रतिशत र अन्यलाई ६० प्रतिशतसम्म कर्जा ८.९९ प्रतिशत ब्याजदरमा दिइरहेको छ। उक्त कर्जा योजनामा रहेर ग्राहकले २ करोड रुपैयाँसम्म कर्जा ३० वर्षसम्मका लागि पाउने छन्।
जसमा ७ वर्षसम्मका लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण हुनेछ भने त्यसपछि बैंकको बेसरेटमा १.५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरी बाँकी कर्जा अवधिमा लागि ‘फिक्स्ड’ गरिने श्रेष्ठले जानकारी दिइन्। ‘बेसरेटमा आउने परिवर्तनले यो कर्जाको ब्याजदरलाई कुनै प्रभाव नपर्ने गरी स्किीम ल्याएका हौं, ७ वर्षसम्मका लागि एउटा रेट फिक्स्ड गर्छौं भने, बाँकी कर्जा अवधिका लागि उक्त समयको बेसरेटमा १.५ प्रतिशत प्रिमियम जोडर फिक्स्ड गछौं,’ उनले भनिन्। बैंकले ७ वर्षपछि बेसरेट घटेको भए पनि त्यसमा १.५ प्रतिशत मात्रै प्रिमियम जोड्ने प्रतिबद्धता अहिले नै गर्नेछ।
नबिल ढुक्क घर कर्जाको पहिलो भर्सनमा पहिलो ७ वर्षको ब्याजदर १०.९९ प्रतिशत थियो र बाँकी कर्जा अवधिको लागि ११.९९ प्रतिशत फिक्स्ड गरिएको थियो। दोस्रो भर्सनमा कर्जा अवधि कुल २० वर्षसम्म नै कायम गरी पहिलो ७ वर्षका लागि ९.९९ प्रतिशत ब्याजदर र बाँकी कर्जा अवधिको ब्याजदरमा चलेको बेसरेट र २ प्रतिशत प्रिमियम राखिएको थियो। अहिले तेस्रो भर्सनमा कर्जा अवधि थप गर्नुका साथै ब्याजदर र बाँकी कर्जा अवधिको प्रिमियम समेत घटाइएको हो। ‘जब घर कर्जामा ऋणीहरु आत्तिने भनेकै हरेक महिना परिवर्तन हुने बेसरेटले गर्दा हो, १०-११ प्रतिशत ब्याजदरमा लिएको कर्जा बेसरेट बढेकै कारण केही वर्षमै १४-१५ प्रतिशत पुग्यो भन्ने गुनासो ग्राहकको हुन्छ, यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा ल्याएका थियौं, यस कर्जा योजनाको लक्ष्य पूरा भइसके पनि यसको प्रभावकारितालाई हेरेर तेस्रो भर्सन ल्याएका हौं,’ उनले भनिन्।