क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता पदएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन् संक्षपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
संवैधानिक परिषद् बैठकबाट महालेखा परीक्षकमा प्रस्तावित तोयम रायको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिको चैत १८ को बैठकले रायसँग सम्बन्धित कुनै गुनासा वा उजुरी भए १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको हो। रायविरुद्ध १० दिनभित्र कुनै उजुरी वा गुनासो आए समितिमा छलफल हुने र नआए नियुक्तिसम्बन्धी निर्णय पारित हुनेछ। राय हाल राष्ट्रिय तथ्यांक कार्यालय प्रमुख छन्।
राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६ सय ४२ रुपैयाँ बिगो र जरिमाना दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले कोटीभिटीले आफूमा रहेको सेयर स्वामित्व परिवर्तन र त्यसबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा जानकारी नदिएर ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३ सय २१ रुपैयाँ राजस्व चुहावट गरेकाले कानुनअनुसार उक्त रकमको दोब्बर हुने १० अर्ब ३६ करोड सजाय मागदाबी गरी चैत १८ मा उच्च अदालतमा अभियोग दायर गरेको हो।
नेपाल वायुसेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा करिब १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको छ। वाइडबडी खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले चैत २२ मा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेवानिका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
लगानी बोर्ड बैठकले विभिन्न चार परियोजनाका लागि १ खर्ब बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने बोर्ड बैठकले चैत २२ मा कोहलपुर वाणगंगामा रहेको सौर्य ऊर्जा परियोजना, तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना, सुपर तमोर जलविद्युत् आयोजना र अपर मोरङ ए जलविद्युत् आयोजना गरी चार परियोजनाका लागि करिब १ खर्ब बराबरको लगानी स्वीकृत गरेको हो। बैठकले १६६ मेगावाटको सुपर तमोरमा ३४ अर्ब ५९ करोड, १३९ मेगावाटको लोअर मनाङ मर्स्याङ्दीमा ३३ अर्ब ४१ करोड, ४२ मेगावाटको अप्पर मोदी ’ए’मा १० अर्ब ८ करोड र २५० मेगावाटको सोलार राइजेन इनर्जीमा २१ अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।
सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै पक्षलाई अमान्य ठहर गरेको छ। चैत २१ मा न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको हो। इजलासले २०७८ माघ १ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ।
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउन–पुस)सम्म ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ। २०७९/८० को दोस्रो त्रैमासको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर ४ प्रतिशतले बढ्ने अनुमान सरकारी निकाय राष्ट्रिय तथ्यांक कार्यालयले चैत २० मा सार्वजनिक गरेको विवरणले देखाएको हो। सरकारले बजेटमा यस वर्ष ६ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। विश्व बैंकले भने नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। चैत २० मा विश्व बैंकले मंगलबार साउथ एसिया डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको हो। गत वर्ष २०२३ मा आर्थिक वृद्धि २.२ प्रतिशत रहेको विश्व बैंकले जानकारी दिएको छ। यसअघि एसियाली विकास बैंकले ४.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।
विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक भएको छ। अमेरिकी पत्रिका फोबर््सले चैत २१ मा सार्वजनिक गरेको विवरणअनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ पुगेको छ। यो सूचीमा गत वर्षभन्दा बढी १४१ जना अर्बपति थपिएका छन्। विश्वका डलर अर्बपतिको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको फोर्ब्स पत्रिकामा उल्लेख छ। अमेरिकामा सर्वाधिक ८१३ जना अर्बपति रहेका छन् भने दोस्रो स्थानको चीनमा ४७३ जना र तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २०० पुगेको छ।
अर्बपतिको पहिलो सूचीमा लुई भिटन तथा सेफोरालगायत फेसन र कस्मेटिक ब्रान्डका मालिक बर्ना आर्नो परेका छन्। दोस्रोमा एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क र तेस्रोमा अमेजनका संस्थापक बेजोस रहेका छन्।
गैरकानुनी सम्पत्ति आर्जन उजुरी अनुसन्धानमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ। चैत १८ मा तेस्रो पटक म्याद थपेर थुनामा राख्न काठमाडौं विशेष अदालतले अनुमति दिएको हो। पौडेलद्वयलाई गत माघ १० मा अख्तियारको टोलीले पक्राउ गरेको थियो। माघ ११ मा विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसपछि फागुन २ मा पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो।
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम व्यवसायी हत्या आरोपमा पक्राउ परेका छन्। माओवादीका पूर्वकमान्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ। १५ वर्षदेखि फरार सूचीमा रहेका खामलाई ठमेलबाट प्रहरीले चैत २० मा पक्राउ गरेको हो। यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला राजनितिक दबाब पछि रिहा भएका थिए। खाम माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्यसमेत हुन्।
अघिल्लो साता २ हजार ०३५.६४ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताभरि लगातार गिरावट भइरहँदा कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २ हजार ००४.०५ बिन्दुमा रहेको छ। समग्रमा १४.२८ अंकको गिरावट भएको छ। सेयर बजारमा यो साता कुल १३ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता ११ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो।
सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोकेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा चैत २२ मा बसेको मन्त्रिपरिषद् बैठकले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। यसअघि श्रम अदालतको मुकाम काठमाडौं जिल्लामा मात्रै रहने गरी तोकिएको थियो।