सन् २०२३ मा नेपालमा झण्डै १० लाखभन्दा बढी पर्यटकहरूको आगमन भएको तथ्यांक प्रकाशित भएको छ। उक्त तथ्यांकअनुसार नेपालले कोभिडको महामारी पश्चात पर्यटन उद्योगमा पुनरागमन गरेको देखिन्छ। तर गैह्रआवासीय नेपालीहरू नेपालमा आउँदा पर्यटकको रुपमा दर्ता हुन जाँदा उक्त तथ्यांकले वास्तविक पर्यटकको आगमनको अवस्थालाई चित्रण नगरेतापनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य सुधार आएको यथार्थ नकार्न सकिँदैन। गैह्रआवासीय नेपालीको संख्या घटाएर हेर्ने हो भने विशुद्ध पर्यटकको रुपमा आगमन भएका पर्यटकको संख्या निकै कम हुन जाने देखिन्छ। तापनि खुल्ला सिमानाले गर्दा कतिपय भारतीय पर्यटकको आगमन समेत औपचारिक तथ्यांकमा नअटाउने भएकोले झण्डै १० लाखको पर्यटकीय संख्या नेपालको अर्थतन्त्रमा जोडदार उपस्थिति जनाउने पर्यटको संख्या हुनुपर्ने हो।
यसैगरी पर्यटक आगमनको अर्को मुख्य क्षेत्र रोजगारीको पाटो हेर्ने हो भने विश्वव्यापी रुपमा १ जना पर्यटकले झन्डै ७ जनालाई रोजगारी दिने गरेको औषत तथ्यांक पाइन्छ।
आर्थिक वर्ष २०७९/८० को वित्तिय नीतिमा कुल राष्ट्रिय उत्पादनमा पर्यटनको योगदानमा सरकारले ८.५ प्रतिशतको लक्ष्य लिएकोमा अहिले कुल राष्ट्रिय आयमा १.९८ प्रतिशत मात्रै योगदान रहेको देखिन्छ। यसले नेपालमा आगमन हुने पर्यटको गुणस्तर वा अझ सुक्ष्मरुपमा भन्ने हो भने नेपालमा आएका पर्यटकको खर्च गर्ने क्षमता वा चाहनामा सुधार हुन नसकेको देखिन्छ। गैह्रआवासीय नेपालीहरू आफ्नै घर तथा आफन्तको घरमा बस्ने र मनोरञ्जनात्मक गतिविधि, होटल तथा तथा अन्य पर्यटकीय क्षेत्रमा खर्च गर्ने सम्भावना न्युन भएकोले समेत उक्त तथ्यांकमा सुधार हुन नसकेको हुन सक्छ। यसैगरी पर्यटक आगमनको अर्को मुख्य क्षेत्र रोजगारीको पाटो हेर्ने हो भने विश्वव्यापी रुपमा १ जना पर्यटकले झन्डै ७ जनालाई रोजगारी दिने गरेको औषत तथ्यांक पाइन्छ। यदि नेपालमा १० लाख विशुद्ध पर्यटक आउने हो भने १ जना पर्यटकले ५ जनालाई मात्र रोजगारी दिने हो भने पनि ५० लाख रोजगारी सिर्जना हुनुपर्ने हो। तर पनि तथ्यांकले त्यो रोजगारीको सम्भावनासमेत देखाउँदैन। नेपालमा रोजगारी नपाएर विदेशिनेको संख्या हरेक दिन बढिरहेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटमा १० लाख पर्यटन भित्र्याउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नेपाल घुमौं नेपाल चिनौं नारा सहितको अभियान सञ्चालन गरेको सरकारले सन् २०२३ मा उक्त लक्ष्य हासिल गरेकोछ। यससँगै वित्तीय नीतिअन्तर्गत सरकारले सन् २०२४ मा कुल राष्ट्रिय उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएकोछ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रायलको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेको व्यवस्था गरिएको छ। मुलुकलाई सुरक्षित र आर्कषक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बजेटको लक्ष्य छ। पर्यटन दशकको रुपमा २०२३ देखि २०३२ लाई मनाउने नीति सरकारले लिएको छ। ताप्लेजुङदेखि दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको निमार्ण कार्यलाई तिव्रता दिइने नीतिसमेत बजेटमा लिइएको छ। खोटाङको हलेसीको तुवाचुङ तथा मधेसको मिथिला क्षेत्र र बाजुराको बडिमालिका तिनै क्षेत्रलाइै खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गरिने व्यवस्था गरेको छ।
यसैगरी गोर्खामा जनजातिको संस्कृति र जीवनशैली झल्किने गरी जीवन्त संग्रहालयको स्थापना गरिने व्यवस्थासमेत गरेको छ। नेपलमा हालसम्म १९ वटा पाँचतारे होटलमा झण्डै ४५०० बेड संख्या छ। उक्त पाँचतारे होटलको संख्या बढाई २६ वटा बनाउने लक्ष्यसमेत नेपाल पर्यटन बोर्डले लिएको छ। नेपालमा पर्यटन क्षेत्रमा नेपाल पर्यटन बोर्डअन्तर्गत २ हजार ६४८, तारागाँउ विकास समिति अन्तर्गत ६४८, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानअन्तर्गत २ हजार ६७६ र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानअन्तर्गत ७७० गरी जम्मा ६ हजार ७७८ जना जनशक्ति गत आर्थिक वर्षमा थपिएको देखिन्छ। गत आर्थिक वर्षमा जम्मा १५ हजार ६९० नयाँ जनशक्ति तयार गर्ने लक्ष्य लिइएकोमा जम्मा ६ हजार ७७८ मात्रै नयाँ जनशक्ति तयार हुुनुले नेपालको पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव रहेको देखिन्छ।
सन् २०२१ मा नेपाल आउने विदेशी पर्यटकले औसतमा झण्डै ४८ अमेरिकी डलर खर्च गर्ने गरेकोमा सन् २०२३ मा उक्त खर्चको दर झण्डै ४० अमेरिकी डलरमा झरेको छ।
कुल राष्ट्रिय वैदेशिक मुद्राको सञ्चयमा पर्यटकबाट संकलित विदेशी मुद्राको योगदान ४६ अर्ब ७६ करोड रुपैयाँ रहेको छ, जुन कुल वैदेशिक मुद्रा सञ्चयको २.५ प्रतिशतको हाराहारीमा हुन आउँछ। पर्यटन उद्योगका हिसाबले उक्त योगदान निकै कम हो। यसले नेपालमा आउने पर्यटकको संख्या बढ्दै जाने तर पर्यटकले खर्च गर्ने दर घट्दै जाने गरेको देखिन्छ। सन् २०२१ मा नेपाल आउने विदेशी पर्यटकले औसतमा झण्डै ४८ अमेरिकी डलर खर्च गर्ने गरेकोमा सन् २०२३ मा उक्त खर्चको दर झण्डै ४० अमेरिकी डलरमा झरेको छ। पछिल्लो दश वर्षयता पर्यटकको औसत बसाईमा समेत सुधार गर्न सकिएको छैन। १० वर्ष अगाडि सन् २०१३ मा पनि विदेशी पर्यटकको औसत बसाई करिब १३ दिन नै थियो, भने झण्डै १० वर्षपछि समेत पर्यटकको औषत बसाई करिब १३ दिन नै रहेको छ। पर्यटकको बसाई अवधि लम्ब्याउन रणनीतिक योजनाको खाँचो रहेको छ।
सन् २०२२ मा नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट ३४ प्रतिशत, दोस्रोमा अमेरिकाबाट १२ प्रतिशत, तेस्रोमा लन्डनबाट ७ प्रतिशत तथा चौथोमा अष्ट्रेलिया र बंगलादेशबाट ४–४ प्रतिशत तथा अन्य राष्ट्रबाट करिब ३७ प्रतिशत रहेको छ। तर, सन् २०२३ मा चीनका पर्यटकहरू करिब ६ प्रतिशतको हाराहारीमा नेपालमा आएका छन्। चीनले कोभिड नीतिअन्तर्गत विदेश जाने मापदण्डमा खुकुलो नीति अवलम्बन गरेसँगै सन् २०२४ मा चिनियाँ पर्यटकको संख्यामा निकै बढोत्तरी हुने देखिन्छ। यसैगरी नेपालमा आउने पर्यकटको उद्देश्य हेर्ने हो भने मुख्यतया मनोरञ्जनका लागि ६४ प्रतिशत, तीर्थयात्राका लागि १३ प्रतिशत, पदयात्रा र पर्वतारोहरणका १० प्रतिशत र अन्य गतिविधिका लागि १० प्रतिशत पर्यटक आउने गरेका छन्। यसअनुसार नेपालले मनोरञ्जनात्मक गतिविधि, धार्मिक पर्यटन तथा पर्वतारोहणका पर्यटकीय गतिविधिमा विशे ध्यान दिनुपर्ने देखिन्छ।
नेपालमा पर्यटन क्षेत्रका चुनौती
नेपालको पर्यटन प्राकृतिक पर्यटन मात्र नभई हरेक क्षेत्रको पर्यटनका लागि सम्भावना भएको मुलुक हो। धार्मिक पर्यटन, साहसिक पर्यटन तथा पर्वतारोहणका लागि अपेक्षाकृत पर्यटकको आगमन नभए पनि सुधारोन्मुख हुँदा आशावादी हुने अवस्था छ। पर्यटन भनेको सम्झनाको सिर्जना पनि हो। पर्यटकको सुरुवात विमानस्थलबाटै हुन्छ। भौतिक पूर्वाधारले मात्रै पर्यटन क्षेत्रको प्रगति हुँदैन। यसका लागि सेवाको गुणस्तरमा व्यापक सुधार गर्नुपर्ने हुन्छ। पर्यटन क्षेत्रमा समग्र व्यवसायीकरण गरी पर्यटनलाई उद्योगका रुपमा विकास गर्ने वातावरण बनाउन जरुरी छ। नेपालको आर्थिक विकासको लागि पर्यटन निकै महत्त्वपूर्ण उद्योग हो।
पर्यटन निकै सजिलो व्यवसाय पनि हो। थोरै लगानीमा निकै छोटो समयमा धेरै प्रतिफल गर्न सकिने उद्योगको रुपमा नेपालको पर्यटन उद्योगलाई लिन सकिन्छ। तर पनि नेपालमा पर्यटन क्षेत्रको समग्र विस्तार तथा विकास हुन नसक्नुमा केही आन्तरिक त केही बाह्य कारणहरू छन्। बाह्य कारणमा विश्वभर फैलिएको आर्थिक मन्दी मुुख्य कारण छ। रसियन र युरोपियन पर्यटक रसिया–युक्रेन युद्धका कारण कम आइरहेका छन्। आन्तरिक कारणमा प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुन नसक्नु पनि हो।
आन्तरिक कारणअन्तर्गत पर्यटक भित्र्याउन नसक्नुमा नीतिगत चुनौती पनि छन्। नीतिगत कारण स्थानीय पर्यटकीय क्षेत्रको विकास हुन नसक्नु अर्को कारण हो। नीतिगत समस्याहरू रहेकाले पर्यटन क्षेत्रमा अपेक्षित लाभ लिन नसकेको अवस्थामा पर्यटन मन्त्रायल अन्तर्गतका विभागमा संरचनागत सुधार आवश्यक छ। राज्यले पर्यटनलाई एक दिगो उद्योगको रुपमा लिन नसकेको वा नचाहेको र सोही अनुरुप संवेदनशील क्षेत्रको रुपमा नलिएको भान हुन्छ। पूर्वाधारको समस्यामा आन्तरिक हवाई क्षेत्रको समेत समस्या छ।
आन्तरिक उडानमा हुने अनियमितता पनि प्रमुखमध्येको एक चुनौती हो। नेपालमा पर्यटकहरूले बेहोर्नु परेको अर्को मुख्य समस्या मौसमको पुर्वानुमानको समस्या हो, जुन पर्यटकका लागि निकै आवश्यक हो। यसैगरी नेपालको पर्यटन क्षेत्रको अर्को चुनौती दक्ष जनशक्तिको अभाव पनि एक हो। पर्यटन क्षेत्रमा निकै ठूलो मात्रामा कर छलीको आशंका समेत गरिएको छ। पर्यटनमा करको उचित व्यवस्थापन गर्न नसक्दा अनौपचारिक अर्थतन्त्र तथा छाँया अर्थतन्त्रले प्रशय पाइरहेको छ। यसले गर्दा उचित राजस्व उठ्न नसकेको र पर्यटन क्षेत्रमा सरकारी लगानी बढाउन चुनौती भइरहेको देखिन्छ।
पर्यटन उद्योगको पुर्नसंरचनाका रणनीतिक उपायहरू
नेपालजस्तो व्यावसायिक वातावरणीय चुनौतीका बीच पर्यटन उद्योग सञ्चालनको सहजताले समेत यस उद्योगमा लगानीको प्रशस्त सम्भावना देखिन्छ। पर्यटनबाट नेपालको बेरोजगारीको समस्याको समाधान गर्न सकिन्छ। वर्षको ५० लाख भन्दा बढी पर्यटकीय रोजगारीको सिर्जना गर्न नेपालको पर्यटन सक्षम भए पनि नेपालमा बेरोजगारीको समस्यालाई पर्यटन व्यवसायले घटाउन सकेको देखिँदैन। यसका लागि पर्यटकीय राजधानीको रुपमा नेपालले आफूलाई विकास गर्न सक्नुपर्छ।
दक्षिण एसियाको पर्यटकीय केन्द्रको रुपमा नेपाललाई विकास गर्ने किसिमका रणनीति बनाइ सोहीअनुसार काम गर्ने हो भने नेपालको अर्थतन्त्रमा संरचनागत सुधार ल्याउन सकिन्छ। नेपालको समग्र पर्यटनको विकासका लागि रणनीतिक व्यवस्थापन र दीर्घकालीन रणनीति तर्जुमा गर्न सकिन्छ। पर्यटन क्षेत्रमा लगानीका नयाँ उपकरणको विकास गर्ने, पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कानुन संशोधन गर्ने र व्यवस्थापकीय चुस्तता कार्यान्वयन गर्नेलगायत कार्यलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। नेपालको हवाई क्षेत्रलाई पर्यटनमैत्री बनाउनुका साथै विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय आवागमनका लागि पहल गर्न सक्नुपर्छ।
छिमेकी राष्ट्रहरूसँगको समन्वयमा अन्तर्राष्ट्रिय विमानहरूका लागि आवश्यक व्यवस्था गर्न सक्ने हो भने पर्यटकहरूको गुणस्तर र संख्या दुवै वृद्धि गर्न सकिन्छ। नेपालमा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको निकै आवश्यकता छ। पर्यटनमैत्री जनशक्तिको विकासका लागि पर्यटकीय तालिम प्राप्त पर्यटक गाइडको अभाव भैरहँदा राज्य र निजी क्षेत्रको समन्वय हुन जरुरी छ। दक्ष जनशक्तिका लागि पर्यटन विश्वविद्यालयको अवधारण तुरुन्तै अगाडि बढाउनुपर्ने देखिन्छ। १४ वटा उच्च हिमालमध्ये नेपालमा ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू नेपालमै छन्। यसले गर्दा हिमाली पदयात्राका लागि आउने पर्यटकको सम्भावना स्वाभाविक रुपले बढी हुन्छ। तर पदयात्राको अनुमतिको झन्झटिलो प्रक्रियाले पदयात्रा व्यवस्थित नहुँदा पर्यटकले समस्या बेहोर्नु परेको अवस्थामा ट्रेकर्स ईन्फरमेसन म्यानेजमेन्ट सिस्टमको सशक्त कार्यान्वयन गर्न सक्ने हो भने पर्यटन व्यवसायमा गुणात्मक फड्को मार्न सकिन्छ। पर्यटकलाई पूर्वाधारयुक्त सेवा आवश्यक छ।
पर्यटकहरूको गुणस्तरमा ध्यान दिनु आवश्यक छ। पर्यटकको सुरक्षामा सुधार गर्नुपर्ने छ। भारत र चीनमा नेपाली पर्यटनको ब्रान्डिङ गर्न आवश्यक छ। आध्यात्मिक पर्यटनको सम्भावनामा पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भुनाथ, लुम्बिनीजस्ता आध्यात्मिक क्षेत्रको प्रर्वधन गर्ने हो भने भारत र चीनका पर्यटकले मात्रै पनि नेपाल धेरै आउँछन्। भारतमा अयोध्या मन्दिरले निकै ठुलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक ल्याउने रणनीति लिइरहँदा जनकपुरको पर्यटकीय व्यवस्थापनमा स्थानीय तथा केन्द्रीय सरकार तथा नेपाल पर्यटन बोर्डले ल्याउनुपर्ने देखिन्छ। भारतीय पर्यटकको आर्कषणको केन्द्र दामोदर कुण्ड र कैलाश मानसरोवर स्थलमार्गजस्ता नयाँ पर्यटकीय क्षेत्रको विकास र विस्तार गरी चीन, नेपाल तथा भारतबीच रणनीति पर्यटकीय पदमार्गका लागि नेपालले आवश्यक पहल कदमी लिन सक्नुपर्छ।
नेपालले पर्यटन नीतिलाई समयसापेक्ष सुधार तथा परिमार्जन गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रम, राष्ट्र लक्षित कार्यक्रम गर्नुपर्ने देखिन्छ। पर्यटन क्षेत्रको दीर्घकालीन र दिगो विकासका लागि पर्यटन बोर्डको रणनीतिक पुर्नसंरचना गरी सबै प्रदेशमा यसको विस्तार हुन जरुरी भइसकेकोछ। लामो समयमा आउने पर्यटक तथा छोटो समयमा आउने पर्यटकलाई फरकफरक किसिमको मापदण्ड तय गर्न सकिन्छ। नेपाली पर्यटनको अन्तराष्ट्रीयकरणका लागि अमेरिका, युरोप, दक्षिण कोरिया, बंगलादेश, भारत, सिंगापुर, तथा मलेसिया केन्द्रित कार्यक्रम गर्नुपर्ने देखिन्छ। हाल नेपालमा पर्यटन विकासका लागि द्धिपक्षीय हवाई सम्झौता गर्दै जानुपर्ने अपरिहार्यता छ। भरपर्दो हवाइ सेवा र पर्यटकीय सुरक्षाका लागि बिमाका कार्यक्रमहरूको नीति तर्जुमा गर्नुपर्ने देखिन्छ। नेपालको हवाई मार्गको प्रत्यक्ष सम्पर्क स्थापनाका लागि मुख्य पर्यटकीय राष्ट्रमा जहाज पठाउने कार्यमा सरकारी पहल अपरिहार्य हुन जान्छ। पर्यटकीय होटल तथा आवासका लागि मापदण्ड तयार गरी गुणस्तर पहिचान गर्नु पनि पर्यटन विकासका लागि आवश्यक कार्य हो।
असुरक्षित आकाशअन्तर्गत युरोपियन राष्ट्रले नेपालको हवाई क्षेत्रलाई राखेको कालो सूचीबाट यथासिघ्र हटाउनु निकै आवश्यक छ। हरेक राष्ट्र तथा वैदेशिक सहरमा नेपालको पर्यटन दूतहरू नियुक्त गरी नेपालमा गुणस्तरीय पर्यटन प्रवर्द्धनको काम गर्नुपर्ने देखिन्छ। उच्च ओहोदाका व्यक्तित्वको पर्यटकीय भ्रमणमा नेपाल पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय नै सक्रिय भएर काम गर्नुपर्छ। यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय शिक्षा र सचेतनाको विकास गर्नुका साथै नयाँ आन्तरिक पर्यटकीय गन्तव्यको विकास गर्नुपर्ने हुन्छ। पर्यटकीय संस्कृति विकास गर्न सरकारले कर्र्मचारीका लागि पर्यटन भत्ता तथा वार्षिक विदाका कार्यक्रमहरू निर्धारण गर्नुपर्ने हुन्छ। पर्यटन क्षेत्रमा सूचना तथा प्रविधिको विकास र प्रयोग बढाउनुपर्ने देखिन्छ।
नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको बजारीकरणका लागि सरकारी तथा निजी क्षेत्रबाट लगानी बढाउँदै जानुपर्ने देखिन्छ। पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभाव नियन्त्रणका लागि यस क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सरकारी स्तरमै पर्यटन विकास कोषको स्थापना गरी पर्यटकीय पूर्वाधारमा लगानी गर्नका लागि निजी तथा सरकारी क्षेत्रको सहभागितामा गैह्रआवासिय नेपालीहरूको लगानी भित्र्याउने र उक्त लगानी नेपालको पुँजीबजारसँग जोड्ने गरी परिचालन गर्न सकिन्छ। पर्यटकीय पूर्वाधारमा लगानी बढाउन त्यस्ता पूर्वाधारका लागि क्राउड फन्डिङको व्यवस्था गर्न आवश्यक नीतिगत संशोधन गर्नुपर्ने हुन्छ। पर्यटकीय उद्यमशीलताको विकास गर्न सहुलियत दरमा बैंकले लामो समयका लागि ऋणको व्यवस्था गर्नुपर्ने हुन्छ। पर्यटकीय उद्यमशीलतालाई नेपालको स्थानीय स्तरमा विकास गर्नका लागि वैदेशिक रोजगारीको विकल्पमा उभ्याउनुपर्ने हुन्छ। यसका लागि सरकारले पर्यटन जनशक्ति विकासका कार्यक्रम स्थानीय सरकारको मातहतमा निःशुल्क तालिमको व्यवस्था गर्न आवश्य बजेट विनियोजन गर्न पनि जरुरी छ।
नेपालले अर्थतन्त्रको कायापलट गर्न सक्ने क्षेत्रको रुपमा पर्यटनको विकास र विस्तार गर्ने हो भने विप्रेषणमा आधारित अर्थतन्त्रको विविधीकरण गरी पर्यटनमा आधारित अर्थतन्त्रमा रुपान्तरण गर्न सकिन्छ। यसका लागि रणनीतिक योजनाअन्तर्गत पर्यटकीय दक्ष जनशक्तिको विकास, पर्यटकीय पूर्वाधारको विकास, सरकारी तथा निजी क्षेत्रको लगानीको वातावरण, पर्यटन क्षेत्रमा नयाँ वित्तीय औजारको प्रयोग, पर्यटकीय गन्तव्यको विकास, क्षेत्रीय पर्यटनको समन्वयका लागि छिमेकी राष्ट्रसँगको समन्वय, नीतिगत सुधार तथा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन र बजारीकरणजस्ता कार्यमा ध्यान दिने हो भने नेपालको अर्थतन्त्रको केन्द्रमा पर्यटन आउन सक्छ। नेपालको गरिबी निवारण तथा रोजगारीका लागि पर्यटन क्षेत्र कोसेढुंगा सावित भएर अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्ने अवस्था रहन्छ। यसैले अबको दशकलाई पर्यटन केन्द्रित गरी बढीभन्दा बढी पर्यटक आमन्त्रित गर्ने र पर्यटनको विकासका लागि सरकारले अर्जुन दृष्टि बनाई समग्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन सशक्त कदम चाल्न आवश्यक रहेको देखिन्छ।
(तथ्यांक स्रोतः नेपाल पर्यटन बोर्ड, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभागका वेवसाईटहरू)