काठमाडौं। भारतका कान्छा डलर अर्बपतिमा जेरोधाका सहसंस्थापक ३७ वर्षीय निखिल कामथ रहेका छन्। डलर अर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्सका अनुसार निखिल भारतका सबैभन्दा कान्छा अर्बपति हुन्। उनको सम्पत्ति ३.१ बिलियन डलर छ। त्यस्तै, उनका दाई ४४ वर्षीय नितिन कामथको सम्पत्ति ४.६ अर्ब डलर रहेको फोर्ब्सको भनाइ छ।
स्कुलस्तरमै पढाइ छाडेका निखिलले आफ्नो जीवनको पहिलो जागीर कल सेन्टरमा गरेका थिए। त्यसपछि स्टक व्यापार गर्न थालेर सन् २०१० मा कामथका दुई दाजुभाईले जेरोधा स्थापना गरे। त्यसले उनीहरुको जीवनमा आमूल परिवर्तन ल्यायो। यही विषयमा डलर अर्बपति कामथले साउथ चाइना पोष्टसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘समय नै सबै थोक हो। मानिसहरुले समयमा महत्त्व बुझ्न सकेका हुँदैनन। म सही समयमा सही ठाउँमा र महान सहकर्मीहरूसँग छु।’
यही क्रममा उनले आफ्नो सुरुवाती जीवनलाई सम्झँदै कल सेन्टरमा व्यावसायिक यात्रा सुरु गरेको उल्लेख गरेका छन्। निखिल ट्रु बेकनका संस्थापक पनि हुन्, जुन अल्ट्रा–हाई नेटवर्थ व्यक्तिहरूका लागि लगानी व्यवस्थापक फर्म हो। हुन त विगत एक वर्षमा भारतीय सेयर बजारमा आएको उथलपुथलले फोर्ब्स २०२४ को विश्व अर्बपतिहरूको सूचीमा ठूलो परिवर्तन ल्याएको छ। गत वर्ष १६९ जना भारतीय डलर अर्बपति रहेकोमा यस वर्ष बढेर २०० जना पुगेको छ। उनीहरूको संयुक्त सम्पत्ति एक ट्रिलियन डलर नजिक पुगेको फोर्ब्सले उल्लेख गरेको छ।
डलर अर्बपति कामथले साउथ चाइना पोष्टसँगको एक अन्तर्वार्तामा भनेका छन्, ‘समय नै सबै थोक हो। मानिसहरुले समयमा महत्त्व बुझ्न सकेका हुँदैनन। म सही समयमा सही ठाउँमा र महान सहकर्मीहरूसँग छु।’
समग्रमा यो वर्ष नयाँ रेकर्ड अर्थात् कुल ९५४ बिलियन अमेरिकी डलर पुगेको छ भने गत वर्ष ६७५ बिलियन अमेरिकी डलरबाट ४१ प्रतिशत वृद्धि भएको छ। सन् २०२२ को कुल ७५० बिलियन डलर संयुक्त सम्पत्तिबाट हाल धेरै राम्रो देखिएको छ। त्यस्तै, रिलायन्स इन्डस्ट्रीज समूहको सेयरमा उछाल आएसँगै मुकेश अम्बानीको कुल सम्पत्ति ८३ बिलियनबाट बढेर ११६ बिलियन पुगेको थियो। यसले उनलाई विश्वको अर्बपतिहरूको सूचीको १०० बिलियन धनाड्य क्लबमा प्रवेश गर्ने पहिलो एसियाली व्यक्ति बनाएको छ।
अम्बानीले विश्वको नवौं धनी व्यक्तिको रूपमा आफ्नो स्थान कायम राखेपछि उनी भारत र एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसवर्ष भारतीय अर्बपतिहरूमध्ये सबैभन्दा बढी डलर नाफा गर्ने पूर्वाधार र कमोडिटी ‘टाइकुन’ गौतम अडानी हुन्। उनले भारतको दोस्रो धनी नागरिकको रूपमा आफ्नो स्थिति कायम गर्न ३६.८ बिलियन डलर थप गरेका छन्।
कुल मिलाएर सूचीमा समेटिएका भारतीय अर्बपतिहरूको दुई तिहाइभन्दा बढीको सम्पत्ति गत वर्षको तुलनामा बढेको छ। २५ नयाँ भारतीय अर्बपतिहरू पहिलो पटक फर्ब्सको सूचीमा डेब्यू गरेका छन्। तीमध्ये नरेश त्रेहान एक हुन्, जसले एक अग्रणी कार्डियाक सर्जन–स्वास्थ्य सेवा उद्यम सञ्चालन गरेका छन्। यस्तै, गत वर्षको सूचीबाट यसपटक ४ जना हटेका छन्।
फोर्ब्सले हाल मात्रै २ हजार ७८१ जना अर्बपतिको संख्या सार्वजनिक गरेको छ। गत वर्षबाट यसवर्षसम्म मात्रै यो सूचीमा १४१ जना अर्बपति थपिएका छन्। विश्वका डलर अर्बपतिको कुल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ। यो गत वर्षको भन्दा २ ट्रिलियन बढी हो। शीर्ष २० जना अर्बपतिको सम्पत्ति गत वर्षभन्दा ७ खर्ब डलर बढेको छ। अमेरिकामा सर्वाधिक ८१३ जना अर्बपति रहेका छन् भने दोस्रो स्थानमा चीनका ४७३ जना अर्बपति छन्। तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २०० पुगेको छ।
नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७ सय ६४औं स्थानमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ।
अर्बपतिको सूचीको पहिलो नम्बरमा लुई भिटन तथा सेफोरालगायत फेसन र कस्मेटिक ब्रान्डका मालिक बर्नाड अर्नाल्ट छन्। यी फ्रान्सेली अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ। त्यस्तै दोस्रोमा एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क छन्। उनको कुल सम्पत्ति १ खर्ब ९५ अर्ब डलर रहेको छ। अर्बपतिको तेस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ। नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७ सय ६४औं स्थानमा छन्। उनको सम्पत्ति १.८ बिलियन डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ।