काठमाडौं। सूचना प्रविधि क्षेत्रलाई लक्षित गरी काठमाडौंमा टेक पिक नेपाल, २०२४ आयोजना गरिएको छ। कार्यक्रममा सहभागीले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।
नास–आईटी, अमेरिकन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा सुरु टेक पिकमा २०० सय बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अभ्यासकर्ता, विज्ञ, र सरकारी अधिकारी सहभागी थिए।
सरोकारवालाले नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै थप लगानीको आवश्यकता औंल्याए। रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि प्रयोगमा बढावा दिनुपर्ने धारणा उनीहरुको थियो।
‘हामी सबैले सूचना प्रविधि क्षेत्रको विकासको लक्ष्य लिएका छौं। सूचना प्रविधि प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकासमा छौं। यो अवसरलाई सदुपयोग गर्दै स्थानीय नवप्रवर्तनबीच सम्बन्ध बढाउन, फार्म स्थापना तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ। आगामी वैशाखमा हुने नेपाल लगानी सम्मेलन, २०२४मार्फत पनि सहकार्य गर्न सक्छौं’, सीएनआई उपाध्यक्ष हेमराज ढकालले भने।
डिजिटल युगतर्फ प्रवेश गर्दा प्रविधिको परिवर्तनकारी प्रभावलाई कसैले रोक्न नसक्दै भन्दै ढकालले सूचना प्रविधिको प्रयोग यतिबेला सबै क्षेत्रका लागि अत्यावश्यक भइसकेको बताए। ‘अधिकांश व्यवसाय सूचना प्रविधिमा निर्भर हुने अवस्था आएको छ। सोही कारण बजारको आयाम नै परिवर्तन भएको छ। सूचना प्रविधिको प्रयोगबाट विभिन्न आविष्कार, रोजगारी सिर्जनाका साथै अर्थव्यवस्था र बजार प्रणालीबीच परस्पर निर्भरता पनि बढाएको छ’, उनले भने।
नेपाल पनि विश्वमञ्चमा सूचना प्रविधिको अभ्यासकर्ताका रुपमा उदयीमान शक्तिशाली मुलुक भएको भन्दै उनले सूचना प्रविधि र अंग्रेजी भाषामा पोख्त नेपालको ठूलो युवाजनशक्ति त्यसको आधार भएको सुनाए।
हालैको एक अध्ययनले मुलुकको विकासमा सूचना प्रविधिको ठूलो योगदान रहेको देखाएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले सूचना प्रविधिले परम्परागत पर्यटन क्षेत्रबाट हुने आम्दानीको स्थान लिन थालेको दाबी गरे।
इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गरेको एक अनुसन्धानमा सूचना प्रविधि क्षेत्रको निर्यातबाट नेपालले सन् २०२२ मा ५१ करोड ५० लाख ५० हजार डलर आम्दानी गरेको थियो, जुन अन्य क्षेत्रको तुलनामा धेरै हो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका प्राडा. शिवराज अधिकारीले सूचना प्रविधि निर्यातको बलियो सम्भावना भएको क्षेत्र भएकाले यसले मुलुकको समृद्धि हासिल गर्नमा सहयोग गर्न सक्ने धारणा राखे।
परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले सन् २०२२ मा नेपालले सूचना प्रविधिसँग सम्बन्धित वस्तु तथा सेवा निर्यातबाट ५१ करोड डलरभन्दा बढी आर्जन गर्नुले देशमा यसको सम्भावना बढेको जिकिर गरे। अग्रवालले सफ्टवेयर विकास र डिजिटल सेवाको आउटसोर्सिङमार्फत देखिएको निर्यातको सम्भावनाले मुलुकभित्रको सूचना प्रविधिका दक्ष जनशक्ति र क्षमतालाई पुष्टि गरेको बताए।
पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमार्फत नेपालीहरुले विश्वमञ्चमा आफ्नो क्षमता देखाउन पाएको बताउँदै अध्यक्ष अग्रवालले विश्वमा नेपाल सूचना प्रविधिको क्षेत्रमा मुख्य खेलाडीका रुपमा उपस्थिति जनाउन सक्नेतर्फ संकेत गरे।
अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष निर्मलकाजी श्रेष्ठले भने, ‘हामीले सूचना प्रविधिलाई मुख्य क्षेत्रका रुपमा पहिचान गरी यसैमा केन्द्रित भएका छौं। हामीसँग जहिले पनि पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई प्राथमिकतामा राखेका छौं। त्यसमा पनि सूचना प्रविधिको क्षेत्र हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण छ।’ उनले अमेरिकन चेम्बर अफ कमर्सका ५० सदस्यमध्ये ३० प्रतिशत सदस्य सूचना प्रविधिको क्षेत्रमा कार्यरत रहेको जानकारी दिए।
सरकारले ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा जोड दिँदै आएको छ। हालै मात्र सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरी निजी क्षेत्रको सहकार्यमा सामाजिक–अर्थतन्त्र निर्माणमा अगाडि बढेको छ। सूचना प्रविधि र बिजनेश प्रोसेस आउटसोर्सिङ (बीपीओ) क्षेत्र मुलुकको निर्यात रणनीति निर्माण तथा शतप्रतिशत स्वामित्व, ट्याक्स होलिडेज, प्रतिस्पर्धी कर्पोरेट करलगायत माध्यममार्फत नेपालमा विदेशी लगानी ल्याउन सहयोगी मानिँदै आएको छ।
यद्यपि अझै पनि सूचना प्रविधिको क्षेत्रमा प्रतिबद्धता गरिएअनुसारको आन्तरिक र विदेशी लगानी भने नआएको पाइएको छ।
प्रमुख वक्ता नासकम, इन्डियाका सह–संस्थापक तथा पहिलो निर्वाचित अध्यक्ष हरिस मेहेताले सूचना प्रविधिको प्रयोगमार्फत प्राप्त सफलताको अनुभव सुनाए।
परिसंघका आईटी काउन्सिल अध्यक्ष अजित शाहले नेपालमा विश्वका आठ ठूला शिखर भएको उल्लेख गर्दै सूचना प्रविधिलाई नवौं शिखरका रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिए।
त्यस अवसरमा ‘ब्रान्ड नेपाल’ विषयलाई विशेष रुपमा उठान गरिएको थियो। नेपाली कम्पनीहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन तथा विश्वबजारमा बलियो उपस्थिति तथा पूर्वाधार कमी तथा जटिल नियमनजस्ता चुनौती सामना गर्न एकीकृत प्रयास आवश्यक भएकामा जोड दिइएको अमेरिकन चेम्बर अफ कमर्सका संस्थापक सञ्जय गोल्छाले बताए।
टेक पिक नेपाल, २०२४ को मुख्य प्रायाोजकमा यूएसए एड रहेको थियो। अन्य प्रमुख प्रायोजकमा विश्व बैंक, युरोपियन युनियन, इसीसी, एसियाली विकास बैंक, आइएमई पे, नियोटेरिक, मर्चिङ एन्ट्स, लक्ष्मी सनराइज बैंक, एनएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पाटर्नर पनि प्रायोजक थिए।