काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजार माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताएका छन्। उनले बजार माग बढाउन सरकारले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
बिहीबार मोरङ उद्योग व्यापार संघको ६७औं वार्षिक साधारणसभा अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेका कानुनलाई समेत संशोधन गर्न उनको आग्रह छ। समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ उनले सचेत गराए।
ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए। संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उनले विश्वास व्यक्त गरे।
उनले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे। सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनको भनाइ छ।
आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्नेमा निकासीमा दिइने अनुदान रोकिएको ढकालले बताए। पुँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई अध्यक्ष ढकालले आग्रह गरे। सरकारले व्यवसायीको मनोबल बढाउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए।
उनले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पुर्याएको योगदानप्रति प्रशंसा गरे। मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन, साना तथा मझौला उद्योगलाई टेवा पुर्याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको अध्यक्ष ढकालले उल्लेख गरे।
उक्त अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जा ब्याजदर घटाउन सहयोग पुर्याएका ढकाल र महासंघलाई धन्यवाद दिए। तर, बजार माग कम भएकाले व्यवसायीले केही समस्या भोग्नुपरेको जानकारी गराए। बजारमा छिट्टै सुधार आउने र अर्थतन्त्रले गति लिने विश्वास उनले व्यक्त गरे।
मोरङ उद्योग व्यापार संघलाई पहिले मोरङ व्यापार संघ भनिन्थ्यो। आजदेखि संस्थाको नाम बदलिएको हो।
कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला, मीनेन्द्र रिजाल, कोसीका मुख्यमन्त्री केदारबहादुर कार्कीलगायत विभिन्न उद्योगी, व्यवसायी सहभागी थिए।